Nepal Republic Media Pvt. Ltd.

Saturday
Jun 06th

द्वन्द्वको घाउको पालुङटारमा उपचार

smaller text tool iconmedium text tool iconlarger text tool icon

समुन्द्र पौडेल, गोरखा (पालुडटार), मंसिर ९ - द्वन्द्वको क्रममा बम पड्किदाँ शरिर भित्र छुटेका बमका छर्राको एक माओवादी कार्यकर्ताले पालुडटारमै उपचार गराएका छन्। माओवादी विस्तारित बैठकको क्रममा स्थापना गरिएको निशुल्क स्वास्थ्य शिविरमा पालुडटार ४, बर्डडाँडाका २६ वर्षीय टिकाराम श्रेष्ठले उपचार गराएका हुन्। 'निशुल्क भन्ने थाहा पाएर उपचार गराउन आएको हुँ,' उनले भने, 'आर्थिक अवस्था कमजोर भएकाले अन्यत्र उपचार गराउन सकिन।' 
माओवादी विस्तारित बैठकका लागि गाउँमा संचालन गरिएको स्वास्थ्य शिविरमा उनले उपचार गराएका हुन्। गोरखाकै ताकुकोट प्रहरी चौकी आक्रमणको क्रममा प्रहरीसँग भएको भिडन्तमा छुटेका बमका दुई छर्रा श्रेष्ठले ८ वर्ष पछि शल्यक्रिया गरेर निकालेका हुन्।

'जाडो समय र काम गर्ने क्रममा बमका छर्रा लागेका भाग दुख्छ,' उनले भने, 'छर्रा शरिर भित्र हुँदा के के हुन्छ होला भन्ने डर लाग्थ्यो।' उपचारका लागि पार्टीले सहयोग नगरेपछि जनमुक्ति सेनाको सेक्सन कमाण्डर छाडेर हिडेका श्रेष्ठले काठमाण्डौ र भारतमा विताएका ६ महिना जीवनकै अविष्मरणीय बनेको बताए। उनले भने, 'कुल्ली काम गरेर विताएको त्यो समय निकै दुखदायी थियो।'

उपचारका लागि पार्टीसंग गुहार गर्दा समेत पार्टीले वेवास्ता गरेको उनले बताए। 'निशुल्क स्वास्थ्य शिविर भएकाले मात्र मेरो उपचार सम्भव भयो,' उनले भने, 'परिवारबाट उपचार गराउन सक्ने अवस्था छैन्।' श्रेष्ठ अहिले पालुडटार आयुर्वेदिक औषधालयमा सहयोगी पदमा कार्यरत छन्।

भिडन्तको क्रममा शरिरमा बमका ४ छर्रा लागेपनि माओवादी कार्यकर्ताहरुले तत्कालै २ छर्रा निकालेको उनले बताए। शरिरमा बमका छर्रा भएका व्यक्तिलाई मानसिक असर हुनुका साथै चिसोमा काम गर्न समस्या हुने उपचारमा संलग्न डा.गुणराज लोहनीले बताए। निजी अस्पतालमा सोही शल्यक्रियाका लागि १० हजार सम्म खर्च लाग्ने उनले बताए। शरिरका भागमा रहेका छर्राले अंगहरुलाई सुन्नाउँदै गएर शरिरका अन्य भागलाई समेत असर गर्न सक्ने भएपनि श्रेष्ठको शरिरमा त्यस्तो समस्या देखि नसकेको उनले बताए।

२०५९ कार्तिक २८ गते भएको ताकुकोट प्रहरी चौकी आक्रमणमा २३ प्रहरीको मृत्यु भएको थियो। २०५३ जेठ ८ मा समेत माओवादीबाट आक्रमण हुदाँ सोही चौकीका ५ प्रहरीको मृत्यु भएको प्रहरी निरिक्षक केदार खनालले बताए।

WebNagarikNews.com