Nepal Republic Media Pvt. Ltd.

Saturday
Jun 06th

महरा टेप प्रकरणबारे प्रस्टीकरण माग

smaller text tool iconmedium text tool iconlarger text tool icon
उजिर मगर/समुन्द्र पौडेल, पालुङटार, मंसिर ९- प्रधानमन्त्रीमा बहुमत पुर्‍याउन सांसद खरिदका लागि एक चिनियाँसँग ५० करोड रुपैयाँ मागेको टेप प्रकरणले पार्टी बदनाम भएको भन्दै एकीकृत माओवादी विस्तारित बैठकमा बोल्ने प्रतिनिधिले अध्यक्ष पुष्पकमल दाहालसँग त्यसबारे प्रस्टीकरण माग गरेका छन्।

  'सांसद खरिदका लागि चाइनिज व्यापारीसँग ५० करोड मागेको सम्बन्धी टेप सार्वजनिक हुँदा पार्टी बदनाम भयो, यसबारे नेतृत्वले स्पष्ट पार्नुपर्‍यो,' भट्टराई पक्षधर अवध राज्यसमितिका प्रतिनिधि माधव थापाले बुधबार बन्दसत्रमा भने। उनले थपे, 'कि अध्यक्ष दाहालको नीति नै यही हो?'


अर्का वक्ता तमुवान राज्यसमितिका देवेन्द्र पराजुलीले पनि टेप प्रकरणबारे कार्यकर्तालाई बुझाउन नसकेको भन्दै दाहालले यसबारे प्रस्ट पार्नुपर्ने माग गरे। 'यसले पार्टीलाई नै बद्नाम गरायो, कार्यकर्तालाई के भनेर बुझाउने?' बन्दसत्रमा उनको प्रश्न थियो।


'सरकार बनाउन सांसद खरिदका लागि नेता कृष्णबहादुर महराले एक चिनियाँ व्यापारीसँग ५० करोड मागेको टेपबारे नेतृत्वले जवाफ दिनुपर्छ,' एक सहभागीले बैठकमा राखेको भनाइ उद्धृत गर्दै नागरिकसँग भने।


बुधबार बोल्ने अधिकांशले नेतृत्वको कार्यशैलीले पार्टी बिग्रेको भन्दै दाहालको आलोचना गरेका थिए। उनीहरूले आफ्ना पक्षका नेताको भने बचाउ गरेका थिए।


विशेषगरी भट्टराई पक्षधर प्रतिनिधि अध्यक्षप्रति आक्रामक रूपमा प्रस्तुत भएका थिए।
भेरीकर्णाली राज्यसमितिका भट्टराई पक्षधर प्रतिनिधि 'भौतिक'ले दाहाललाई व्यंग्य गर्दै भने, 'एक जर्मन आरोही हिमपहिरो आउँदासम्म पनि ओके-ओकेमात्रै भनेर बस्दा आफैं किचिएर मरेका थिए। हाम्रा अध्यक्ष पनि त्यस्तै हुनुहुन्छ। पार्टी बिग्रियो भन्दा जहिले पनि ओके-ओकेमात्रै भन्नुहुन्छ। अबचाहिँ नो ओके हुने भो।'


कार्यक्रम सञ्चालक महासचिव रामबहादुर थापाले उनलाई धन्यवाद दिँदै, 'तपाईंले ओके भनेकाले तपाईंलाई पनि ओके' भन्दा हल ताली र हाँसोले गुन्जिएको थियो।


बैठकपछि प्रवक्ता दीनानाथ शर्माले विवादरहित पार्टी कहीँ पनि नहुने दाबी गर्दै कार्यकर्ताका सुझाव लिएर समस्या हल गरिने पत्रकारहरूलाई बताए। 'विवाद भएन भने पार्टी मृत अवस्थामा पुग्छ,' उनले भने, 'समस्यालाई हल गरेर अगाडि बढ्छौँ।'


बुधबार सेतीमहाकाली, भेरीकर्णाली, मगराँत, थरूहट, अवध, ताम्सालिङ, नेवाः, मिथिला, भोजपुरा र तमुवान राज्यसमितिका तीनै पक्षधर एकएक प्रतिनिधिले बोलेका थिए। त्यसमध्ये चारजनाले तीनवटै प्रस्तावमा नरही तटस्थ मत राखेका थिए। उनीहरूले तीनवटै दस्तावेज एकीकरण गरी एउटै दस्तावेज बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए।


बैठकमा राज्यसमितिको प्रतिनिधिका रूपमा कसले बोल्ने भन्ने विवाद बुधबार बिहान हरेक समितिबाट एक नेताका पक्षबाट एकएकजनाले धारणा राख्ने सहमति भएको थियो। भूगोल, जातीय र विशेष गरी माओवादीका ३० राज्यसमितिका प्रतिनिधिले बोल्नेछन्।


बुधबार राति अबेरसम्म दस राज्यसमितिका ३४ प्रतिनिधिले बोल्ने क्रम सकिएको छ।
सबै प्रतिनिधिले पार्टी एकता र रूपान्तरणमा जोड दिएका थिए। 'नेतृत्वदेखि नै अहिले विभाजन भएर जानुपर्छ भन्ने कहीँकतै छैन, वैचारिक बहस हो। यसमा छलफल व्यापक भएको छ। प्रतिनिधिहरूले दिएको सुझावअनुसार पार्टी एकढिक्का हुनुपर्छ भन्ने हो,' एक स्थायी समिति सदस्यले नागरिकसँग भने।


नेतृत्वले सबै राज्यसमितिको सुझाव आएपछि एउटै दस्तावेज बनाउने तयारी गरेको छ। बहस लम्बिएकाले बैठक समय थपिने सम्भावना छ।


 
बुधबारका वक्ता
सेतीमहाकाली
दाहाल- तारामान स्वाँर
वैद्य- शरदसिंह भण्डारी
भट्टराई- देवराज रेग्मी
चौथो धार- एनबी सर्वहारा


थारूवान
दाहाल- हरि चौधरी
वैद्य- इन्द्रजित थारु
भट्टराई- लीला भण्डारी
चौथो धार- लोकराज रेग्मी

भेरीकर्णाली
दाहाल- रामबहादुर बोहरा
वैद्य- गगन खड्का
भट्टराई- अमृत कार्की

मगरात
दाहाल- वसन्त शर्मा
वैद्य- महेन्द्र केसी
भट्टराई, उज्जवल

तमुवान
दाहाल- राजकाजी तमु
वैद्य- कृष्ण वाग्ले
भट्टराई- देवेन्द्र पराजुली

नेवा
दाहाल- भाष्कर प्रधानाङ्ग
वैद्य- दिवाकर श्रेष्ठ
भट्टराई- सुशील शर्मा
चौथो धार- पुरन गुरुङ

ताम्सालिङ
दाहाल- सूर्यमान दोङ
वैद्य- दाबा तामाङ
भट्टराई- सोनामसिंह स्याङहाङ

अवध
दाहाल- मुनाल
वैद्य- बन्धु चन्द
भट्टराई- दयाराम न्यौपाने
चौथो धार- पशुपति भण्डारी

भोजपुरा
दाहाल- अनिल
वैद्य- समीर
भट्टराई- अशोक
मिथिला
दाहाल- रामचन्द्र मण्डल
वैद्य- रोशन जनकपुरी
भट्टराई- अभिनास

बोल्न बाँकी
कोचिला
दाहाल- धर्मशिला चापागाई
वैद्य- किरण राई
भट्टराई- अग्नि आचार्य

लिम्बुवान-
दाहाल- थमनसिं राई
वैद्य- मौसम
भट्टराई- श्री जगेबू

सञ्चार विशेष राज्यसमिति
दाहाल- विमल
वैद्य- कुमार शाह
भट्टराई- ओम शर्मा

 

WebNagarikNews.com