Nepal Republic Media Pvt. Ltd.

Saturday
Jun 06th

लडाकु पनि तीन पक्षमा विभाजित

smaller text tool iconmedium text tool iconlarger text tool icon
उजिर मगर, पालुङटार, मंसिर ९- माओवादीको जारी विस्तारित बैठकमा लडाकु पनि शीर्ष तीन नेताको पक्षमा विभाजित भएका छन्। बैठकको पाँचौँ दिन लडाकुको सातौँ डिभिजनका प्रतिनिधिले बोल्ने क्रममा जीवनले अध्यक्ष दाहालको पक्षमा, हिमालले उपाध्यक्ष वैद्यको पक्षमा र संघर्षले भट्टराईको पक्षमा बोलेका छन्। 
  राज्य समिति सरह मान्यता पाएका लडाकुका सात वटा डिभिजनहरुबाट कसले बोल्ने भन्ने विषयमा यसअघि मतभेद थियो। एउटा डिभिजनबाट एकजनालाई मात्र बोल्न दिनुपर्ने दाहालको धारणामा उपाध्यक्षद्वय असहमति जनाएका थिए।

बिहानको खानापछि पुनः सुरु हुने बैठकमा बाँकी छ वटा डिभिजनका प्रतिनिधिहरुले पनि आफ्नो विचार राख्‍नेछन्। 

विस्तारित बैठकको पाँचौँ दिनसम्ममा  माओवादीका कूल २६ राज्यसमिति मध्ये भूगोलको १३ वटै राज्य समितिका प्रतिनिधिहरुले आफ्नो विचार राखिसकेका छन्। त्यसैगरी भारत प्रवास ब्युरो र अन्तर्राष्ट्रिय ब्युरो र एउटा विशेष ब्युरोका प्रतिनिधिले पनि विचार राखिसकेका छन्।

समय छोट्याइयो-
उनीहरुलाई हिजोसम्म प्रतिव्यक्ति १०/१० मिनेट समय दिएको थियो भने बैठक लम्बिनसक्ने भएकाले सो समय छोट्याएर आजदेखि पाँच/पाँच मिनेट मात्र बोल्न दिइएको छ। प्रवक्ता शर्माले सकभर आज नै तीनवटै प्रस्तावमाथि २६ वटै राज्य समिति सदस्यका टोली नेताहरुले धारणा राख्ने क्रम सकिने बताए।

२६ वटै राज्य समितिका प्रतिनिधिहरुको विचार आइसकेपछि फेरि प्रतिवेदन प्रस्तोता  उपाध्यक्षद्वयले स्पष्टीकरण दिनेछन्। अध्यक्ष दाहालले सबैका सुझाव समेटेर एकीकृत दस्तावेज प्रस्तुत गरेपछि विस्तारित बैठक समापन हुने कार्यक्रम छ।

WebNagarikNews.com