Nepal Republic Media Pvt. Ltd.

Saturday
Jun 06th

'जनविद्रोहको विकल्प छैन'

smaller text tool iconmedium text tool iconlarger text tool icon
दाहाल भारतबारे भने अस्पष्ट -
उजिर मगर, मनोज अधिकारी,पालुङटार, गोरखा ११ - एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्तिप्रक्रिया र संविधान निर्माणमा अवरोध आए जनविद्रोह आह्वानको विकल्प नभएको निष्कर्षसहित शुक्रबार दोस्रो प्रतिवेदन पेस गरेका छन्। उनले राष्ट्रिय स्वाधिनताको आन्दोलनबाटै अघि बढ्ने घोषणा गरे।
  उनले भारतसँग प्रधानअन्तरविरोध रहेको पुरानो अडानमा भने स्पष्ट धारणा राखेनन्।

राष्ट्रियताको आन्दोलनसँगै जनविद्रोहको भित्री तयारीसमेत गर्ने उनको प्रतिवेदनमा छ। उनले आन्दोलन कार्यक्रम घोषणा गरेर जेठ १४ सम्मै दबाबका रूपमा अघि बढाउन निर्देशन दिएको बैठकमा सहभागी स्रोतले जानकारी दियो।
स्रोतका अनुसार संघर्ष अघि बढाउन माघसम्म सबै जनवर्गीय संगठनको सम्मेलन र महाधिवेशन टुंग्याएर तयारीमा बस्नू भन्ने दाहालको निर्देशन छ। संघर्षका कार्यक्रम सञ्चालान गर्दा राज्य दमनमा उत्रे त्यसको प्रतिरोध गरेर अघि बढ्ने उनको प्रतिवेदनमा उल्लेख छ।
दाहालनिकट पोलिटब्युरो सदस्य अग्नि सापकोटाले प्रतिवेदनले शान्तिप्रक्रिया र संविधान निर्माणमा जोड दिएको र त्यसमा अवरोध आए संघर्षमा जाने कार्यदिशा समातेको जानकारी दिए। 'षड्यन्त्र भए राष्ट्रियताका लागि जनतासँग आन्दोलनको आह्वान गर्ने कार्यदिशा लिइएको छ,' उनले बैठकपछि नागरिकसँग भने।

उपाध्यक्षद्वयले उठाएका माग समेटिएको जिकिर गर्दै उनले भने, 'उहाँहरू (उपाध्यक्षद्वय वैद्य र भट्टराई) ले उठाएका सवाल अधिकांश समेटिएका छन्। त्यसमा असहमत भए शनिबार आफ्ना धारणा राख्नुहुनेछ।'

प्रवक्ता दिनानाथ शर्माले दाहालको शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउन दिइएन भने जनताको विद्रोह अपरिहार्य भएको बताए। 'यो विद्रोह जनताको बाध्यात्मक विद्रोह हुनेछ। त्यसमा हामीले साथ दिनुको विकल्प हुने छैन भन्ने प्रतिवेदनमा उल्लेख छ,' उनले भने।

उपाध्यक्ष बाबुराम भट्टराई निकट सहयोगीले भने दाहालले पुरानो प्रतिवेदनलाई केही घुलमिल बनाएर अस्पष्ट धारणा लिएको र प्रतिवेदनमा आफूले उठाएका विषय नसमेटिएको आरोप लगाएका छन्।

दाहालले एकलौटी रूपमा आफ्नो कार्यशैली अघि सारेकाले त्यसमा सहमत हुन नसक्ने भट्टराई पक्षधरले बताए। 'राष्ट्रिय स्वाधिनताको आन्दोलन भनेर केही दरबारिया सहभागी होलान्। तर, समग्र जातीय, क्षेत्रीय, लैंगिकताका लागि लडेका आमजनताको भावना समेटिने छैन। यसमा मेरो फरक मत हुनेछ,' भट्टराईले आफ्ना निकटस्थहरूलाई भनेका थिए।

बैठकमा सहभागी एक भट्टराई पक्षधरले भने, 'रूपान्तरण, राष्ट्रियता र संघर्षको लाइन लिनुभएको छ। तर, प्रधानअन्तरविरोधमा भारत, देशीय प्रतिक्रियावादी घुलमिल भएर आएको छ मात्रै भन्नुभयो। कोसँग प्रधानअन्तरविरोध भन्ने खुलाउनुभएन।'

दाहालले वैद्यले उठाएका विषयवस्तुमात्र समेटेर उनी निकट हुन खोजेको आरोप भट्टराई पक्षधरले लगाएका छन्। दाहालले बैठक सुरुअगावै वैद्यनिकट जाने प्रयास थालेका थिए। त्यही आधारमा यस्तो प्रतिवेदन ल्याएको उनीहरूको बुझाइ छ।

वैद्यनिकट हरिभक्त कँडेलले बहसमा आएका केही विषय समेटिएको र बाँकीलाई केन्द्रीय समितिबाट टुंगो लगाउनेगरी अघि बढ्ने बाटो खुलेको प्रतिक्रिया दिएका छन्। 'बहसको प्रक्रियाबाट टुंगो लगाउने गरी बैठक टुंगिन्छ,' उनले भने।

दाहालले प्रतिवेदनलाई बाचनअघि 'टिपोटमात्र' भनेका थिए। उनले सुरुमा पेस गरेको प्रतिवेदनमा राज्य समितिका प्रतिनिधिले आफ्नो धारणा राखेपछि शुक्रबार त्यसैको जवाफमा दोस्रो प्रतिवेदन पेस गरेका हुन्।

बिहान बसेको स्थायी समितिबाटै विवाद लम्बिएपछि बैठक दिउसो ३ बजे सुरु भएको थियो। अध्यक्ष दाहालले सुरुमा यसैलाई एकीकृत दस्तावेज भनेर लग्न खोजेका थिए। तर, उपाध्यक्षद्वयले शनिबार त्यसमा आफ्ना मत राखेपछि मात्रै एकीकृत दस्तावेज लाने तयारी भएको छ। उपाध्यक्षद्वयको जवाफपछि अध्यक्ष दाहालले संश्लेषित अन्तिम दस्तावेज पेस गर्नेछन्। दाहालको अन्तिम दस्तावेजमा असहमति भए फरक मत राखेर पछि बहसमा लाने पार्टीको तयारी छ।

'हलभित्रका सबै सुझाव सम्बोधन गर्ने र दुवै उपाध्यक्षको प्रस्ताव समेट्ने गरी अध्यक्षले आफ्नो प्रतिवेदन पेस गर्ने स्थायी समितिको स्पिरिटअनुसार आज सम्बोधन गर्नुभयो,' प्रवक्ता शर्माले भने। सहमति हुने विषयमा सहमति गरेर जाने र बाँकी बहसका विषयलाई सम्मेलन र महाधिवेशनमा लैजाने तयारी भएको उनले बताए।

'शनिबार विस्तारित बैठकको निचोड सार्वजनिक गरेर स्थानीय जनतालाई शीर्ष नेताहरूले सम्बोधन गरी पालुङटारबाट बिदा हुने हाम्रो तयारी छ,' प्रवक्ता शर्माले भने।


WebNagarikNews.com