Nepal Republic Media Pvt. Ltd.

Saturday
Jun 06th

माओवादी वैठकमा मोबाइल, क्यामरा र रेकर्डर प्रतिबन्ध

smaller text tool iconmedium text tool iconlarger text tool icon
पालुङटार, मंसिर ११ (नागरिक) - माओवादीले पालुङटार बैठक स्थलमा मोबाइल, क्यामरा र रेकर्डर लैजान सबै तहका नेता, कार्यकर्तामाथि रोक लगाएको छ। बैठकका गोप्य सूचना चुहिएको भन्दै केही दिनयता कडाइ गरेको माओवादीले शुक्रबार प्रमुख प्रवेशद्वारमै स्वयंसेवकमार्फत जाँच गराई यी सामानको प्रवेशमा रोक लगाएको हो।
  पार्टीका प्रवक्तालगायत केही शीर्ष नेतालाई भने मोबाइल लैजान छुट दिइएको छ।

'बैठक हलमा तीन चिज लैजान पाइने छैन,' शुक्रबार विस्तारित बैठकमा प्रवेश गर्दै गरेका सहभागीलाई रोक्दै प्रवेशद्वारमा खटिएका स्वयंसेवक ठूलो स्वरमा कराइरहेका थिए, 'मोबाइल, क्यामरा र रेकर्डर कसैले पनि लैजाने पाउँदैन।'

शीर्ष नेताबाहेक बैठकका सहभागी कसैले मोबाइल, क्यामरा र रेकर्डरमध्ये कुनै एक साधन लगेको भेटिए राज्य समितिले नियन्त्रणमा लिएर राख्ने र बैठक सकिएपछि फिर्ता गर्ने एक माओवादी नेताले बताए। माओवादी शीर्ष नेताले बोलेका कतिपय कुरा सञ्चारमाध्यममा आएपछि 'आवाज र भिडियोसहितको सूचना चुहावट रोक्न' बैठकका सहभागीमाथि यस्तो कडाइ गर्नुपरेको उनले बताए।

अध्यक्ष दाहाल, उपाध्यक्षद्वय वैद्य र भट्टराईले राजनीतिक प्रस्ताव पेस गर्दा बोलेका कतिपय गोप्य कुरा भित्रकै सहभागीमार्फत सञ्चारमाध्यममा गएपछि फेरि यस्तो क्रम दोहोरिन नदिन कडाइ गरिएको उनले जानकारी दिए।

तीनै नेताका राजनीतिक प्रस्तावमाथि बोल्ने क्रम सकिएपछि शुक्रबार वैद्य र भट्टराईले आआफ्ना प्रस्तावमाथि उठेका प्रश्नको प्रस्टीकरण दिएका थिए। 'प्रस्टीकरण गोप्य सूचना पहिलेझैं बाहिर नआओस् भनेर यस्ता साधनको प्रवेशमा कडाइ गरिएको हो,' उनले भने।

आफ्ना प्रस्तावमाथि कार्यकर्ताबाट खरो प्रतिक्रिया, प्रश्न र आलोचना खेपेका नेताका जवाफ थप महत्वपूर्ण मानिने हुनाले हुबहु चुहावट हुने सम्भावनालाई ध्यानमा राख्दै केन्द्रीय तहबाटै यी वस्तुको प्रवेशमा रोक लगाउने निर्देशन आएको हो।
WebNagarikNews.com