शान्ति र संविधान निर्माणमा अवरोध भए माओवादी विद्रोहमा उत्रने

smaller text tool iconmedium text tool iconlarger text tool icon
पालुङटार बैठक सकियो-
पालुङटार, मङ्सिर ११ (नागरिक)- माओवादी अध्यक्ष पुष्पकमल दाहालले विस्तारित बैठकले शान्ति र संविधानलाई नै प्रमुखता दिएको बताएका छन्। बैठक समापनपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने- त्यसमा कतैबाट अवरोध आएमा जनतालाई विद्रोहमा उतार्छौं भनेका हौं। सम्मेलनका क्रममा अब पार्टीमा तीन वटा प्रस्ताव नरहेका र एउटै प्रस्तावका रुपमा मात्र लिन अध्यक्ष दाहालले पत्रकारहरुलाई आग्रह गरे। भिन्दाभिन्दै प्रस्तावका मिलाउन सकिने कुरा मिलाइएको र कतिपय मिलाउन नसकिएका कुरा मिलाउने जिम्मा केन्द्रीय समितिलाई दिइएको जानकारी पनि दिइयो।

पुष्पकमल दाहाल : हामी संविधानका बारेमा दलहरुसँग गम्भीर भएर कुरा गर्छौं। प्रस्तावबारे उपाध्यक्षद्वयमात्र हैन, यहाँ आएका ७ हजार जनाबीच नै पनि कुनै द्विविधा छैन। शान्ति र संविधानमा अवरोध गरिए जनतालाई विद्रोहमा लैजान्छौं भनेका हौं। यसमा भ्रम नहोस्। तीन प्रस्तावमा मिल्ने मिलाउँछौं, केही नमिल्ने पनि छन्, पत्रकारलाई चाहिएको यही हो।

  प्रस्तावप्रति बहस गम्भीर भयो। मिलाउन सकिनेलाई मिलाइयो। कतिपय कुरा बाहिरै मिलाउनुपर्ने पनि हुन्छ। यसरी मिलाउनुपर्ने कुराको जिम्मामात्र केन्द्रीय समितिलाई दिइएको हो। म अध्यक्षका रुपमा विफल भएको हैन। मेरो प्रस्ताव असफल भएको हैन। हामीले अध्यक्ष, उपाध्यक्ष सबैले जित्‍ने उपाय अपनायौं। अब पार्टीमा तीन प्रस्ताव छैनन्। तीनवटैलाई मिलाएर एउटै बनाउने जिम्मा बैठकले केन्द्रीय समितिलाई दिएको छ। शान्ति र संविधानका लागि हामीले गरिरहेको प्रयत्‍न यहाँबाट फर्केपछि पनि जारी नै राख्छौं। दलहरुसँग वार्ता पनि जारी राख्छौं र जनतालाई आन्दोलित पनि गर्दै जान्छौं। जनताका इच्छा पूरा भएनन् भने उनीहरुलाई नै उतार्ने छौं पनि।

पार्टीमा नयाँ एकता हासिल गर्ने काम गर्यौं। सरकार निर्माणमा भएको व्यवधानप्रति माओवादीले पहल गरिरहेको छ र अझै पहल जरुरी छ। संविधान निर्माणका क्रममा पनि थुप्रै प्रगति भएका छन्। यति ठूलो कार्यक्रम गर्दा पनि कुनै समस्या आएन। यो आयोजकको ठूलो उपलब्धि हो। जसमा स्थानीय र सरकारी कर्मचारीको समेत सहयोग छ।  यति ठूलो बहस र भेला नेपालकै इतिहासमा सबैभन्दा ठूलो। असाध्यै गम्भीरता र जिम्मेवारीका साथ छलफल भयो। बैठक सञ्चालन विधि र बुझ्ने तरिका आफ्नैखालको छ। संविधान निर्माणमा अप्ठ्यारो पारिएको छ। यस्तो बेला ठूलो र क्रान्तिकारी पार्टीका नाताले हामीले व्यापक छलफल चलाउनु आवश्यक थियो। एउटा जिउँदो पार्टीभित्र बहस र विवाद हुन्छन् नै।  

बाबुराम भट्टराई र मोहन वैद्य : मतभेदहरुलाई छलफल र बहसमा जारी राख्दै पार्टीलाई अझै मजबुत बनाएर लैजाने निर्णय भएको हो। जीवन्त पार्टीमा विवाद र विमति हुनु स्वाभाविकै हो।

दीनानाथ शर्मा : विस्तारित बैठक भव्य र शानदाररुपमा सम्पन्न भयो। आन्तरिक स्थिति सुदृढ पार्न यो बैठक आयोजना गरिएको हो। अध्यक्षले उदघाटन गर्दै युगान्तकारी परिवर्तनका लागि महाविपत्ति आउँदै गरेको जानकारी दिनुभयो। एकता, क्रान्ति र रुपान्तरणको विकल्प छैन भन्दै पार्टी एकताका लागि अगाडि बढ्ने उदघोष अध्यक्षले गर्नुभयो। बैठकमा प्रस्तुत तीन वटा दस्तावेज नै एकताका आधार हुन, अध्यक्षले भन्नुभयो।
WebNagarikNews.com