
पालुङटार, गोरखा मंसिर १२ (नागरिक)- सात हजार हाराहारीमा यहाँ उपस्थित माओवादी कार्यकर्तामध्ये केही दिउँसैदेखि आफ्ना पोकापन्तुरा बोकेर गेट बाहिर निस्के। पार्टीभित्र देखिएको गहिरो सैद्धान्तिक मतभेद, लामो छलफलपछि उनीहरू घर फर्केका छन्।
उनीहरू फर्किदा झोला मात्र गह्रौ थिएन, अनुहार थकित र मन पनि उत्तिकै भारी। हँसिया-हथौडा झण्डा गाडिएका बसमा उनीहरू कोचाकोच गर्दै बसे। तीनवटै विचारमा बाँडिए पनि छुट्टिने बेला एकै मन बनाएर आपसमा लाल अभिवादन साटासाट गरे।
अध्यक्ष दाहालले पत्रकार सम्मेलनमा भनेका थिए, 'कसको प्रस्तावले जित्यो, हार्यो भन्ने भएन। हामीले सबै जित्यौं, माओवादीले जित्यो, देशैले जित्यो।' तर, कार्यकर्ताले भने जीत महसुस गर्न सकेनन्।
गोरखा दश किलोकी सविना कुमालले भनिन्, 'यहाँ बस्दा भावना साटासाट भएको थियो। छुटि्टने बेलामा नरमाइलो लाग्यो। सात हजारको ठूलो परिवारमा बस्दा बेग्लै आनन्द लागे पनि अन्ततः आ आफ्नो कार्यक्षेत्र फर्किदा सबैलाई विछोडको अनुभूति भयो।'
लम्जुङका माओवादी कार्यकर्ता सोम गुरुङले भने, पालुङटारबासीले न्यानो आतिथ्य दिएर आफ्नोपन देखाए। यसको सन्देश देशैभरि फैलिनेछ। यसले पालुङटारलाई सँधैभरि सम्झाई रहने छ।'
स्थानीय रामबाबु रानाभाटले आफैले बनाएका छाप्रामा बसेका माओवादी कार्यकर्ताहरु फर्किदा गेट नजिक रहेर टोलाइँ रहेका थिए। उनले भने, 'मेरै घरमा १६ जना बसेका थिए। आज सबैले हात हल्लाएर बिदाइ गर्दा घरै सून्य लाग्यो। पालुङटारको नाम देशैभरि फैलियो। यो हाम्रो लागि राम्रो पक्ष हो।'
बैठक सकिए लगत्तै कार्यकर्ता आ-आफ्ना क्षेत्रतर्फ जाने गाडी खोज्दै थिए। उनीहरूसँगै पालुङटारको रातो माटो टाँसिएर गएको छ। अध्यक्ष दाहालले पालुङटारको त्यसैगरी प्रशंसा गरेर स्थानीयवासीलाई धन्यवाद दिए। 'गाउँमा यति लामो, यति भव्य कार्यक्रम गरेको पहिलो पटक हो। यसका लागि धन्यवाद पालुङटारबासीलाई,' उनले भने। (फोटोः मनोज अधिकारी)