'अमेरिकी मध्यस्थमा भारत-पाक गोप्य सम्झौता'

smaller text tool iconmedium text tool iconlarger text tool icon
नयाँ दिल्ली, मंसिर १८ (बिबिसी)- सन् २००८ को मुम्बई आक्रमण सम्बन्धमा अनुसन्धानबाट प्राप्त सूचना भारतलाई दिन पाकिस्तानले सहमति जनाएको खुलासा भएको छ।

  विकिलिक्समा सार्वजनिक एक दस्तावेजअनुसार अमेरिकाको मध्यस्थतामा आक्रमणको एक महिनापछि दुई देशबीच यसबारे गोप्य सम्झौता भएको थियो।

पाकिस्तानका लागि अमेरिकी राजदूत एना पिटरसनले ३ जनवरी २००९ मा पठाएको कुटनीतिक सन्देशमा भनेकी छिन्, 'भारतको केन्द्रीय जाँच ब्युरो (सिआइए)ले प्राप्त सूचना छानबिन निकायबीच सीमित रहनेछ भन्ने सुनिश्चित गरेपछि पाकिस्तानको इन्टरसर्भिस इन्टलिजेन्स (आइएसआई) प्रमुख लेफ्टिनेन्ट जनरल सुजा पासा मुम्बइ आक्रमणबारे पाकिस्तानी अनुसन्धानका प्राप्त भएका सूचना भारतीय गुप्तचार निकायलाई दिन सहमत भएका छन्।'

२६ नोभेम्बर २००८ मा मुम्बईमा भएको आतंककारी आक्रमणमा १ सय ८३ जनाको मृत्यु भएको थियो। भारतले यो हमलामा पाकिस्तानी कट्टरपन्थी संगठनको संलग्नता दाबी गरेपछि दुवै देशबीच कुटनीतिक तिक्तता उत्पन्न भएको थियो।

अमेरिकी राजदूतले दस्तावेजमा लस्कर ए तोयबाले भारतमा पुनः त्यस्तो आक्रमण गर्न सक्नेसमेत उल्लेख गरेकी छिन्।

पिटरसनले सूचना आदानप्रदानसम्बन्धी नयाँ सम्झौतामा आँच आउने मुम्बई आक्रमणसम्बन्धी कुनै पनि सूचना सार्वजनिक नगर्न अमेरिकी प्रशासनले भारतमाथि दबाब बनाइराख्नुपर्ने समेत उल्लेख गरेकी छिन्। दस्तावेजमा उनले लेखेकी छिन्, 'भारतले अनुसन्धानबाट प्राप्त निष्कर्ष पाकिस्तानलाई जानकारी नगराई सार्वजनिक गरेमा त्यसले आइएसआई प्रमुख पासामाथि दबाब पर्ने, पाकिस्तानका तर्फबाट भइरहेको अनुसन्धान प्रभावित हुने र पाकिस्तानी नागरिकको आक्रोशित हुनेछन्।'

उनले यो सन्देश पठाएको दुई दिनपछि भारतले मुम्बई आक्रमणसम्बन्धी अनुसन्धानबाट प्राप्त जानकारीबारे पाकिस्तानी उच्चायुक्तलाई अवगत गराएको थियो। यसपछि मात्रै अन्य देशलाई समेत यसबारे जानकारी गराइएको थियो।

त्यसअघिको एक सन्देशमा भने पिटरसनले सम्पूर्ण अनुसन्धानअघि नै मुम्बई आक्रमणसम्बन्धी सूचना सार्वजनिक गरे त्यो भारतको अपरिपक्व कदम हुने बताएकी छिन्।

WebNagarikNews.com