विकिलिक्स झन् बलियो

smaller text tool iconmedium text tool iconlarger text tool icon
२०८ ठाउँमा प्रतिलिपि साइट-
काठमाडौँ, मंसिर २० (नागरिक)- अमेरिकी सरकारले प्रत्यक्ष र अप्रत्यक्ष दबाव दिएर विकिलिक्सलाई इन्टरनेटबाट हटाउन खोजिरहेको भए पनि विश्वभरका  समर्थकहरुको सञ्जालमार्फत् विकिलिक्सलाई झन् बलियो बनाइएको छ। विकिलिक्सले आफ्नो ट्विटरमार्फत् मास मिररिङ थालिएको जनाएको छ।

कुनै पनि साइटको हुबहु प्रतिलिपि अर्को ठेगानामा राख्‍नुलाई प्राविधिक भाषामा 'मिररिङ' भनिन्छ। विकिलिक्सका यस्ता मिरर साइटहरुको संख्या आज बिहानसम्ममा २०८ पुगिसकेको छ। विकिलिक्सले यसलाई इन्टरनेटबाट आफ्नो अस्तित्व मेटाउने प्रयासविरुद्धको अभियान  भनेको छ।

गएको साता विकिलिक्स डट ओआरजी साइटमा ट्राफिक पठाउने एभ्रीडीएनएस डट नेटले यो साइटलाई बन्द गरिदिएको थियो। त्यसैगरी त्यसअघि अमेरिकी कम्पनी अमेजनले विकिलिक्सको साइट होस्ट गर्न अस्वीकार गरेको थियो। त्यसपछि यो साइटलाई युरोपेली सर्भरमा होस्ट गरिँदैछ।

चन्दा संकलनका लागि विकिलिक्सले प्रयोग गरिरहेको अमेरिकी अनलाइन भुक्तानी सेवा पेपालले पनि गैरकानुनी काम भन्दै विकिलिक्सको खाता गत साता स्थायी रुपमा बन्द गरिदिएको थियो।
WebNagarikNews.com