Nepal Republic Media Pvt. Ltd.

Wednesday
Jun 03rd

विकिलिक्स संस्थापकले आज बेलायती अदालतसमक्ष बयान दिने

smaller text tool iconmedium text tool iconlarger text tool icon
लन्डन, मंसिर २१ (एजेन्सी)- विकिलिक्सका संस्थापक जुलियन असान्जले आज बेलायती अदालतसामु बयान दिने उनका वकीललाई उदधृत गर्दै गार्जियनले जनाएको छ। स्वीडेनमा भएको भनिएको यौन दुर्व्यवहारबारे सोधपूछ गर्न इन्टरपोलले नयाँ युरोपेली पक्राउ पूर्जी जारी गरेपछि असान्ज बेलायती अदालतमा उपस्थित हुन लागेका हुन्।


असान्जका वकीलले पक्राउ पूर्जीबारे बेलायती प्रहरीसँग छलफल गरेपछि आजै त्यहाँको अदालतमा उपस्थित भएर बयान दिने बताएका हुन्। स्वीडेनमा आफूलाई सुपुर्दगी हुनबाट रोक्न उनले लामो अदालती लडाइँ लड्ने मनस्थिति बनाएको देखिएको पत्रिकाले टिप्पणी गरेको छ।


स्वीडेनमा पनि उनलाई हालसम्म कुनै अभियोग लगाइसकिएको छैन। उनलाई प्रहरीले यौन दुर्व्यवहारको विषयमा सोधपूछ गर्न मात्र पक्राउ पूर्जी जारी गरिएको हो।
असान्जले धरौटीमा रिहा हुनका लागि आफ्ना समर्थकहरुलाई आह्वान पनि गरेका छन्। धरौटीमा छुट्नका लागि उनले एक लाखदेखि दुई लाख पाउन्ड र छ जनाको जमानी प्रस्तुत गर्नुपर्नेछ।

विकिलिक्समाथि भइरहेको आक्रमणको पछिल्लो शिकार सोमबार असान्जको स्विटजरल्यान्डमा रहेको बैङ्क खाता भएको छ। गलत जानकारी दिएर खाता खोलेको भन्दै स्वीस बैङ्कले उनको खाता जफत गरेको हो। यसअघि अमेरिकी कम्पनी पेपालले उनले चन्दा संकलनका लागि प्रयोग गर्दै आएको खाता बन्द गरेको थियो।

WebNagarikNews.com