विकिलिक्स सम्पादकलाई धरौटीमा रिहा गर्न अस्वीकार

smaller text tool iconmedium text tool iconlarger text tool icon
लण्डन, मंसिर २१ (एजेन्सी)- गोप्य अमेरिकी दस्तावेज सार्वजनिक गरेर चर्चामा रहेका विकिलिक्सका प्रधान सम्पादक जुलियन असान्जलाई धरौटीमा रिहा गर्न बेलायती अदालतले अस्वीकार गरेको छ। अब उनी १४ डिसेम्बरसम्म हिरासत मै रहने छन्।  उनलाई यौन अपराधको अभियोगमा स्विडेनले जारी गरेको पक्राउ पूर्जीका आधारमा वेलायती प्रहरीले पक्राउ गरेको हो।  गोप्य सूचना सार्वजनिक गरिदिएपछि उनी अमेरिकाको तारो बन्दै आएका थिए। 
अमेरिकाले केबल सार्वजनिक गरेकै अभियोग लगाउन सकिन्छ भनेर परामर्श गरिरहेका बेला उनलाई वेलायती प्रहरीले पक्राउ गरेको हो।

असान्ज केही महिनाअघिसम्म स्वीडेनमा थिए। उनी चर्चामा आएसँगै दुई महिलालाई यौन दुर्व्यवहार गरेको अभियोग अन्तराष्ट्रिय चर्चामा आएको थियो। त्यसपछि स्वीडेनले उनलाई खोज्न इन्टरपोलमा सर्कुलर गरेको थियो। गत अगस्टमा दुई महिलासँग सहमतिमा तर असुरक्षित यौनसम्पर्क राखेको असान्ज यसअघि नै स्वीकार स्विकारेका छन्। स्विडिस अदालतले असान्जविरुद्ध वारेन्ट जारी गरेको त छैन तर बयान दिन आउन भनेको छ ।
अस्ट्रेलियामा सन् १९७१ मा जन्मेका उनी पढ्नका लागि कहिलै विद्यालय नगएका व्यक्ति हुन्। १६ वर्षको हुदाँ सक्षम ह्याकरका रुपमा स्थापित उनले त्यसपछि आफूलाई 'मेन्ड्याक्स' को नामले चिनाउन थालेका थिए। लगत्तै असान्जले दुई अरु ह्याकरसँग 'इन्टरनेसनल सवभर्सिभ' समूह खडा गरेर काम थालेका थिए। उनले ह्याकिङ थाल्दा इन्टरनेट या अन्य कम्प्युटर सञ्जाल सुरुवाती अवस्थामा थियो । अस्ट्रेलियामा प्रहरी पनि त्यस्तो अपराधबारे सिक्दै थिए ।
२५ वर्षमै एउटा पुस्तक लेखेका उनले सन् २००६ मा विश्वका लुकेका सूचना सार्वजनिक गरेर संसारलाई थप पारदर्शी बनाउन विकिलिक्स खोलेका हुन्। विश्वभरिका २ सय ७४ अमेरिकी दूतावसासँग विदेश मन्त्रालयले सन् १९६६ देखि २०१० सम्म गरेका २ लाख ५१ हजार २ सय ८७ पत्रचार विकिलिक्सको कब्जामा छन्। तीमध्ये एक सातामा केही हजार केबुल मात्र सार्वजनिक भएका छन् । ती केबुल क्रमशः प्रकाशित गर्दै जाने उनको योजना थियो।
उनी पक्राउ परेपछि अब के हुने भन्ने निश्चित भएको छैन।
WebNagarikNews.com