बम पड्काउँदै २० हजारमा छुट्दै

E-mail Print
(0 votes, average 0 out of 5)

केपी ढुंगाना, काठमाडौं, फागुन १८- गाविस कार्यालयमा शृंखलाबद्ध बम विस्फोट गराएको कसुर प्रमाणित हुँदा समेत देवराज लामा (विश्वक्रान्ति) लाई जिल्ला प्रशासन कार्यालय धादिङका सिडिओ नारायणप्रसाद आचार्यले २० हजार रुपैयाँ जरिवाना तिराएर छाडे। २०६८ असारमा लामामाथि धादिङका चार ठाउँमा विस्फोटक पदार्थ राखेको र दुई ठाउँमा बम पड्काएको अभियोग थियो। त्यसमध्ये तीन अभियोग प्रमाणित भएका थिए। गाविस कार्यालय भवनमा बम विस्फोट गराएको पनि प्रमाणित भएको थियो। सुरुमा पुर्पक्षका लागि थुनामा राखिएका लामालाई तीनवटै मुद्दामा २०/२० हजार जरिवाना तिराएर मुक्त गरियो। 

एक राजनीतिक दलको कार्यालयमा बम राखेको अभियोगमा जिल्ला प्रशासन कार्यालयले गरेको आदेश अझ उदेकलाग्दो छ।

सामान्यतया ६ महिनाभन्दा बढी कैद सजाय तोकिनसक्ने अभियोग लागेका अभियुक्तबारे मुद्दाको अन्तिम किनारा नलागेसम्म कारागारमा राखेर सुनुवाइ अघि बढाउनुपर्ने व्यवस्था विशेष अदालत ऐनमा छ। काठमाडौंका तत्कालीन सिडिओ लक्ष्मीप्रसाद ढकालले भने लामालाई १५ हजार धरौटीमा छाडेका थिए।

जबर्जस्ती रकम असुल्दा-असुल्दै बौद्धको तीनचुलीमा पक्राउ परेका लामा सार्वजनिक अपराध ऐनअन्तर्गत काठमाडौं सिडिओबाट १० हजार धरौटीमा रिहा भएका थिए। त्यसलगत्तै उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा बम राखेको अभियोगमा फेरि काठमाडौं सिडिओ कार्यालयमै पेस गरिएको थियो।

२०६६ मंसिर १३ गते बालुवाटारमा रहेको राप्रपा कार्यालयमा बम राखेको अभियोगमा थुनछेक बहस गर्दै काठमाडौंका तत्कालीन सिडिओ ढकालले उनीसँग केवल १५ हजार धरौटी मागे। जानकार कानुन व्यवसायीका अनुसार सुध्रन नसक्ने, पेशेवर र हिंस्रक व्यवहार भएका पटके अपराधीलाई अधिकतम सजाय गर्नुपर्छ। एकै खालका गम्भीर प्रकृतिका अपराधमा पटकपटक पक्राउ पर्ने अभियुक्तलाई ऐनले व्यवस्था गरेको दण्ड सजायमध्ये अधिकतम सुनाउनुपर्ने कानुनी मान्यता छ। लामाले भने सधैं नै यसबाट उन्मुक्ति पाउँदै आएका छन्।

सार्वजनिक स्थान, सर्वसाधारणको बाक्लो आउजाउ हुने राजमार्गजस्ता ठाउँमा विस्फोटक पदार्थ राखेको अभियोग लाग्दासमेत उनलाई न्यूनतम सजाय मात्र दिइयो।

जिल्ला प्रशासन कार्यालय धादिङमा लामाविरुद्ध ६ वटा गम्भीर प्रकृतिका अभियोग थिए। कार्यालयको तथ्यांकअनुसार २०६६ मंसिर १३ गते नौबिसे, पुस ७ गते छत्रे देउरालीको गाविस भवन, माघ ७ गते त्रिभुवन राजपथ, चैत ९ गते धादिङ कानाकोटमा बम राखेको र चैत २८ गते छत्रेदेउराली गाविस भवन तथा २०६७ जेठ १६ गते नौबिसे गाविस भवनमा बम विस्फोट गराएको अभियोग उनीमाथि थियो। यिनै अभियोगमा थुनछेक बहस गर्दै २०६८ असार १४ गते मुद्दा किनारा नलागेसम्म कारागारमा राख्ने आदेश भएको थियो।

उनीविरुद्ध हातहतियार तथा खरखजाना ऐनको दफा २१ को उपदफा २ अनुसार दण्डसजाय माग गरिएको थियो। त्यसअनुसार अख्तियारी नपाएको व्यक्तिसँग खरखजाना (विस्फोटक पदार्थ) खरिद गरे वा अधिकार नभएको व्यक्तिलाई जानाजान विस्फोटक पदार्थ दिए ६ महिनादेखि एक वर्षसम्म कैद वा १० हजारदेखि २० हजारसम्म जरिवाना वा दुवै सजायको व्यवस्था छ।

कारागारमा राखेको तीन महिनापछि दसैंअगाडि त्रिभुवन राजपथमा बम राखेको, छत्रे देउराली र नौबिसे गाविस कार्यालयमा बम पड्काएको अभियोगमा संलग्न रहेको ठहर गर्दै आचार्यले उनलाई जरिवाना मात्र गराए।

तोकिएको जरिवाना रकम बुझाएर रिहा भएलगत्तै उनले फेरि धादिङमै एनसेलको मोबाइल टावरमा विस्फोट गराए। त्यसपछि सोमबार राजधानीको बबरमहलमा बम पड्काएर तीनजनाको ज्यानै लिए।

धादिङ जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार उनी पक्राउ परेदेखि नै रिहा गर्न राजनीतिक दबाबहरू आएका थिए। एमालेका स्थानीय नेता, मधेसी जनअधिकार फोरम गणतान्त्रिकका केन्द्रीय तहका नेताले सिडिओ कार्यालयका अधिकारीलाई फोन गरेर रिहा गर्न दबाब दिएको स्रोतको दाबी छ।

'पटकपटक एकै प्रकृतिका आपराधिक घटनामा संलग्न देखिएकाले प्रारम्भमा पुर्पक्षका लाथि थुनामा पठाउने आदेश भयो,' प्रशासन कार्यालय स्रोतले भन्यो, 'तर, सिडिओसापले राजनीतिक दबाब थेग्न सक्नुभएन, उदार फैसला गर्दै जरिवाना मात्र गराउनुभयो।'

आचार्य भने आफूलाई कुनै राजनीतिक दबाब नआएको दाबी गर्छन्। पेस भएका प्रमाण र कानुनमा व्यवस्था भएको दण्ड सजायअनुसारै फैसला गरेको उनको दाबी छ। ऐनअनुसार अधिकतम सजाय कैदसम्म भए पनि जरिवाना मात्र गराउनुको कारण उनले खुलाउन सकेनन्।

'मुद्दासँगै पेस भएको प्रमाणको आधारमा फैसला भएको हो,' उनले नागरिकसँग टेलिफोनमा भने, 'तीन महिना उनी कारागारमा बसिसके पनि हुन्।'

यसैगरी, राप्रपा कार्यालयमा बम राखेको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् हातहतियार तथा खरखजाना ऐनको दफा २४ क अनुसार मुद्दाको अन्तिम किनारा नलागेसम्म थुनामा राखी कारबाही गर्न माग गरिए पनि तत्कालीन सिडिओ ढकालले उनलाई धरौटीमा निकालिदिए।

ढकालले आफ्नो पालामा हातहतियार तथा खरखजानासम्बन्धी धेरै मुद्दा आएकाले लामाको मुद्दा याद नभएको बताए। 'मैले त धेरैलाई कारबाही गरेको थिएँ,' उनले भने, 'लामाको केस यादै भएन।'

उनले हातहतियार तथा खरखजाना ऐनअन्तर्गत प्रमाणसहित आएको केसमा अधिकतम दण्डसजाय हुनुपर्ने बताए। पटकेको सन्दर्भमा थप सजाय गर्नुपर्ने प्रावधान कानुनमै भएको उल्लेख गर्दै उनले भने, 'मिसिलमा प्रहरीले पटके हो भनेर खुलाएर आएको भए थप सजाय हुनुपर्ने हो।'

कानुनी खेल
कानुनमा एकै प्रकृतिका अपराधमा दण्डसजाय सुनाउने अधिकारीलाई भिन्न सजाय र जरिवानाको विकल्प दिइएको हुन्छ। जानकार कानुन व्यवसायीका अनुसार अनाहक अपराधमा मुछिएको, पहिलोपटक पक्राउ परेको वा लहलहैमा अपराध गरेकालाई पहिलोपटक सुध्रने मौका दिन यस्तो प्रावधान राखिएको हो।

'पटकपटक एकै प्रकृतिको अपराधमा संलग्न देखिएका वा गम्भीर प्रकृतिका समाजमा विचलनै ल्याउनसक्ने अपराधमा संलग्न देखिएकालाई ऐनको दफाअनुसार अधिकतम दण्डसजाय हुनुपर्ने हो,' एक अधिवक्ताले भने, 'नेपालमा भने त्यसको गलत प्रयोग हुँदै आएको छ।'

राजनीतिक दबाब र आर्थिक चलखेलका कारण कानुनमा भएको बलियो बुँदाको साटो छिद्र खोजेर फैसला गर्ने परिपाटी बसेको उनको अनुभव छ।

'हातहतियार तथा खरखजाना ऐनअनुसार एकदेखि तीन वर्षसम्म कैद वा २० हजारदेखि ६० हजार रुपैयाँसम्म जरिवानाको प्रावधान छ,' १५ वर्षदेखि हातहतियार तथा खरखाजाना मुद्दाको पैरवीमा संलग्न ती अधिवक्ताले भने, 'काठमाडौंमा भएका फैसला हेर्ने हो भने पनि ६० प्रतिशत मुद्दाको धरौटी निस्किएको छ, थुनाको फैसला भए पनि न्यूनतम सजाय तोकिएको छ।'

नेपालमा दण्ड, न्याय र अपराधको सिद्धान्तको बुझाइमै समस्या देखिएको कानुन व्यवसायीको विश्लेषण छ। मुनासिब आधार खुलाएर थुनामा राख्न पाउने, हिंस्रक चरित्र, थुनामुक्त हुँदा पुनः गम्भीर प्रकृतिका अपराध गर्नसक्ने, सुध्रने सम्भावनै नभएकोलाई मनासिब कारण खुलाएर कडा सजाय गर्ने छुट कानुनहरूमा हुन्छ। तर, काम देखाउन केही अपवादका केसबाहेक हातहतियार तथा खरखजाना मुद्दामा यस्ता फैसला नभएको काठमाडौंमा सक्रिय ती कानुन व्यवसायीले बताए।

विस्फोटक पदार्थसम्बन्धी कसुरका विषयमा नेपालमा दुई ऐन सक्रिय छन्। विस्फोटक पदार्थका अपराधका लागि विस्फोटक पदार्थ ऐन २०१८ छ। २०१९ सालमा बनेको हातहतियार तथा खरखजाना ऐनले विस्फोटक पदार्थलाई खरखजानाको परिभाषामा समेटेको छ। विस्फोटक पदार्थ ऐनअनुसार बारुद, नाइट्रोग्लिसरिन, डाइनामाइट, गन-कटन, ब्लास्टिङ पाउडर, पारो (मर्करी), फोग्सिग्नल, फ्युजरकेट, पर्क्युसन क्याप, केप, पड्काउने वस्तु (डिटोनेटर), कारतुसलाई विस्फोटक पदार्थको परिभाषामा राखिएको छ। हातहतियार तथा खरखजाना ऐनले पनि त्यस्तै किसिमका विस्फोटक पदार्थ समेटेको छ।

विस्फोटक पदार्थ ऐनअन्तर्गत मुद्दा हेर्ने अधिकार अदालतलाई छ भने हातहतियार तथा खरखजाना ऐनअन्तर्गत मुद्दा सुनुवाइको अधिकार सिडिओलाई छ। गृहका अधिकारीले जानाजान सिडिओको अधिकार क्षेत्र बढाउन अनावश्यक रूपमा हातहतियार ऐनमा खरखजाना समेत मिसाएको अर्का कानुन व्यवसायीले दाबी गरे।

प्रहरीले समेत विस्फोटक पदार्थसहित पक्राउ गरेका अभियुक्तलाई विस्फोटक ऐनभन्दा हातहतियार ऐन लगाएर कारबाही बढाउने गरेको छ। अदालतको तुलनामा गृहका कर्मचारीलाई चाँडै प्रभाव पार्न सकिन्छ भनेरै एकै प्रकृतिका मुद्दाका लागि दुईवटा ऐन क्रियाशील गराएको ती कानुन व्यवसायीले बताए।

हतियार र विस्फोटक पदार्थसम्बन्धी घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार अनुसन्धानको सुरुमै सरकारी वकिलमार्फत् विस्फोटक ऐनभन्दा हातहतियार ऐनै लगाउने सुझाव आउँछन्।

पाँच वर्षदेखि उपत्यकामा खटिएका ती अधिकारीले आफ्नो पालामा यस्ता अभियोगमा पक्राउ परेकालाई विस्फोटक ऐन लगाएको कुनै केस नदेखेको दाबी गरे। 'हामीले अनुसन्धान मात्र गर्ने हो,' ती अधिकारीले भने, 'कुन ऐन लगाउने त्यो सरकारी वकिलले निर्क्यौल गर्छन्।'

प्रतिक्रियाहरू (2)Add Comment
0
bishnu shrestha
March 01, 2012
2.91.96.127
भोट: +0
...

aila ko awosthama yo kura sunda maro khayalma sabai dudhako sthai biralo jasto lagyo, kina ki yatro parman bhatauda pani karbai nabhaya pachi aru k bhana ta, ki sayad uha harula nai po garauna launu bhayako ho, kura gahiro 6, ramro saga 6an bin gara sabai dosi bhaya sabailai karbai garnu par6, ani matra timaraka 3janako aatmala santi pau6, hoina bhana aru pani marna tayar bhaya hun6, tasaila hamro dashma pani fasiko kanun banai par6.

0
tika
March 01, 2012
27.111.17.2
भोट: +0
...

such type of criminal must get death penalty.

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता