हत्या कि आत्महत्या?

E-mail Print
(0 votes, average 0 out of 5)
केपी ढुंगाना- घटना १- संगीता शाक्य काठमाडौंको ढल्को बस्थिन्। फागुन २३ गते बेलुकी ८ बजे उनलाई गम्भीर हालतमा पाटनको बिएन्डबी अस्पताल लगियो। अस्पताल पुग्दासम्म उनको मृत्यु भइसकेको थियो। मृत्युको कारण देखियो- 'विषसेवन'।

परिवारले 'आत्महत्या'को दाबी गरे पनि माइती पक्षले 'हत्या'को आरोप लगायो। माइतीको उजुरीका आधारमा प्रहरीले कर्त्तव्य ज्यानमा मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ। संगीताका श्रीमान राजेन्द्र तन्डुकार, जेठाजु राजकुमार, जेठानी जश्मी र ससुरा अष्टलाल हत्या अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्।

 
काठमाडौं परिसरका प्रवक्ता धिरजप्रताप सिंह मृत्युको कारण विष सेवन देखिए पनि घटनाको प्रकृति शंकास्पद देखिएकाले हत्या अभियोगमा अनुसन्धान थालेको बताउँछन्।

घटना २- माघ ३, २०६८। रञ्जना न्यौपानेको शव कीर्तिपुरको घरमै झुन्डिएको अवस्थामा फेला पर्‍यो। घटनास्थलको प्रकृति र परिवारको दाबीअनुसार सुरुमा रञ्जनाले 'आत्महत्या गरेको' भनिएको थियो। पछि हत्या भन्दै किटानी जाहेरी पर्‍यो। श्रीमान् दिनेश र सासु सुशीला पक्राउ परे। काठमाडौं जिल्ला अदालतले आत्महत्या भएको अस्वीकार गर्दै पक्राउ परेका दुवैलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दियो। फैसला भने भएको छैन।

घटना ३- चैत ६, २०६८। सिन्धुपाल्चोकको सिपापोखरामा शर्मिला भट्टराई पासो लगाएर झुन्डिएको अवस्थामा फेला परिन्। परिवारले 'आत्महत्या'को दाबी गर्‍यो। तर, प्रारम्भिक अनुसन्धानमा तीनमहिने सुत्केरी शर्मिलाले आत्महत्या गर्नुपर्ने प्रस्ट कारण खुलेन। शवको अवस्था पनि शंकास्पद थियो। प्रहरीले परिवारका सदस्यलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

घटना ४- पुस १२, २०६८। घरमा अचेत भएको भन्दै विनिता बस्नेतलाई उनका परिवारले अस्पताल पुर्‍यायो। उपचार क्रममै उनको मृत्यु भयो। परिवारका सदस्यले 'विष खाएर' आत्महत्या गरेको दाबी गरे। माइती पक्षले भने हत्याकै आरोप लगायो। प्रहरीमा किटानी जाहेरी परेपछि विनिताका श्रीमान सुरेश र सासु लक्ष्मीमाथि हत्या अभियोगमा मुद्दा चलिरहेको छ।
...

'परिवारिक तनावका कारण आत्महत्या गरेको' भन्दै प्रहरीसम्म आइपुगेका घटनाहरू अनुसन्धान क्रममा हत्यामा टुंगिने गरेका छन्। माथिका चार घटना यसका उदाहरण हुन्।

उपत्यकामा मात्रै सरदर दैनिक तीनजनाले आत्महत्या गरेको घटना प्रहरीकहाँ आउँछ। केही घटनामा नियोजित हत्यालाई आत्महत्या पुष्टि गर्ने प्रयास भइरहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन्। यस्तोमा केही शंकास्पद तथ्यले हत्यातर्फ संकेत गरेको छ भने मात्र प्रहरीले अनुसन्धान अघि बढाउँछ। जति पनि अनुसन्धान अघि बढ्छ, ती प्रायः हत्यामै टुंगिने गरेको प्रहरी बताउँछ।

बेलुकी आठ बजे ढल्कोमा चिन्ताजनक भएकी संगीतालाई नजिकैको वीर अस्पताल नलगी ललितपुरको बिएन्डबी लैजानुले माथिको घटना १ लाई शंकास्पद बनाएको प्रहरीको भनाइ छ। उक्त घटनामा संगीताका बाबु सहदेश शाक्यलाई 'छोरी चिन्ताजनक अवस्थामा छ' भन्दै ससुराले फोन गरेका थिए। सहदेव अस्पताल पुग्दा संगीताको मृत्यु भइसकेको थियो। श्रीमान लगायतले 'आवेशमा आएर विषसेवन गरेको' दाबी गरे। तर, संगीताको जीउभरि निलडाम थियो। यसबाट माइती पक्ष संशकित बन्यो।

'छोरीका ससुरा अष्टलाल तन्डुकारले फोन गरेपछि म अस्पताल पुगेँ,' सहदेवले आफ्नो जाहेरीमा भनेका छन्, 'मैले छोरीलाई भेट्न पनि पाइनँ, अस्पताल पुग्दा मृत्यु भइसकेको थियो, तर त्यहाँ परिवारका कोही थिएनन्, मेरो छोरीको जीउभरि निलडाम थियो।'

घटना शंकास्पद भए पनि प्रहरीले सुरुमा परिवारकै दावी स्वीकार गर्‍यो। दोस्रो दिनै संगीताको शव परिवारलाई जिम्मा लगायो। माइती पक्षले भने यसलाई प्रमाण नष्ट गर्ने प्रयासका रूपमा लियो।

पछि केही तथ्यले प्रहरीको आँखा तान्यो। जस्तो- गम्भीर हालतमा अस्पताल लैजाँदा ओछ्याएको तन्नासहित लैजानु, विष खाएका बिरामीलाई वीर अस्पतालको सट्टा बिएन्डबी पुर्‍याउनु र शरीरभरि निलडाम देखिनु, शव पोको पारिएको तन्नामा दुइटा लेडिज घडी फेला पर्नु, संगीताको कपालमा अन्य महिलाको झुम्का फेला पर्नु र शरीरको भित्री भागमा आधा खाएको केक फेला पर्नु। यी तथ्यले माइती पक्षको दाबी बलियो देखेपछि महानगरीय प्रहरी परिसर काठमाडौंले कर्त्तव्य ज्यानको अभियोगमा अनुसन्धान थाल्यो।

घटना २ र ३ को प्रकृति पनि भन्डैझन्डै उस्तै छ। रञ्जिताका परिवारले आत्महत्याको दाबी गरे पनि शवले भुइँ छोएको थियो। गर्दनमा डोरीको डाम थिएन। प्रहरी अनुसन्धान सकिएर मुद्दा अदालत पुग्दा यही तर्कका आधारमा अदालतले परिवारका सदस्यलाई पुर्पक्षका लागि थुनामा पठायो। सिन्धुपाल्चोक (घटना ३) को घटनामा पनि झुन्डिएर आत्महत्या गर्दाको प्रकृतिसँग शर्मिलाको मृत्युको प्रकृति मेल नखाएको प्रहरीको भनाइ छ।

त्यस्तै, घटना ४ मा विष खाएर आत्महत्या गरेको भनिए पनि बस्नेतको पोस्टमार्टममा विष खाएको कुनै तथ्य देखिएन। उनको शरीरमा निलडाम थियो।

'चार वर्षीय प्रमाण'
माथिका चारमध्ये तीन घटनामा परिस्थितिजन्य प्रमाण मात्र अनुसन्धानको आधार बने पनि संगीताको घटनामा उनकै चार वर्षीय छोरी प्रत्यक्षदर्शी थिइन्। पक्राउ परेका अभियुक्तले घटना हुँदा आफूहरू घरमा नभएको दाबी गरिरहे पनि उनै चार वर्षीया बालिकाको भनाइले उनीहरूको दावी काटिएको छ।

ससुरा अष्टलालले घटना हुँदा आफू चितवनमा रहेको दाबी गरेका छन्। जेठाजु राजकुमारले घर बाहिर भएको र श्रीमान् राजेन्द्रले नार्कोननको उपचार क्रममा गएको दाबी गरेका छन्। घटनाका प्रत्यक्षदर्शी बालिका भने घटनाको दिन उनीहरू सबै घरमै भएको दाबी गर्छिन्।

'तबा (ठूलोबा), तमा (ठूली आमा) ले ममीलाई लठ्ठीले पिटे र ढल्को बा ( हजुरबा) र बा मिलेर अस्पताल लगे,' प्रत्यक्षदर्शी बालिकाको भनाइ उद्धृत गर्दै माइती पक्षले आफ्नो उजुरीमा भनेको छ।

प्रहरीले एक साताअघि बयान लिन खोज्दा भने उनी झस्किएर बोल्न छाडिन्। बुङमतीको मामाघरमै पुगेर बयान लिने प्रयास पनि सफल भएन। यसले अनुसन्धानमा संलग्न प्रहरी अधिकारी आफैं अन्यौलमा छन्।

'एक साता अघिसम्म हामीसँग राम्ररी बोल्थिन्,' संगीताका फुपुका छोरा राजु तुलाधरले भने, 'प्रहरी कार्यालय लैजाँदा हजुरबालाई देखेपछि झस्किएकी थिइन्, बोल्नै छाडिन्।'

डिएसपी सिंहका अनुसार नाबालकलाई घटनाको मुख्य प्रमाण मानिन्न। तर, अभिभावकको रोहवरमा लिएको बयानलाई अदालतले सहयोगी प्रमाणका रूपमा मान्यता दिन्छ। संगीता घटनाको रहस्य खुलाउन प्रहरीले उनको बयानलाई सहयोगी प्रमाण बनाउने प्रयास गरिरहेको छ।

अनुसन्धान जटिल
अनुसन्धानमा संलग्न प्रहरी अधिकारी भन्छन्, 'आत्महत्या भनिएका सबै घटना आत्महत्या हुन्नन्, तर हत्या दाबी गरिएका आत्महत्याका घटना पनि हत्या हुन्नन्।
कारण के त?
अनुभवी अनुसन्धान अधिकारीका अनुसार आत्महत्या योजनाबद्धभन्दा आवेशयुक्त हुन्छ। अकस्मात् गरिने भएकाले प्रमाण हुन्न।
योजनाबद्ध रूपमा गरिने घटनालाई आत्महत्याको स्वरुप दिँदा हुने त्रुटीकै संकेत र परिस्थितिजन्य प्रमाणले हत्या हो कि आत्महत्या छुट्ट्याउन सहज हुने ती अधिकारीको अनुभव छ। झुन्डिएर, विष पिएर, आफूले आफैंलाई आगो लगाउने, पानीमा डुब्ने, अग्लो स्थानबाट हामफाल्ने, गोली हान्ने र आफ्नो नाडी आफैंले काटेर आत्महत्या गर्नेहरूको संख्या बाक्लो छ नेपालमा। संख्यात्मक आधारमा पहिलो नम्बरमा झुन्डिएर गर्ने आत्महत्याका घटना पर्छन्।
सामाजिक अपराध अनुसन्धानका अनुभवी ती अधिकृतका अनुसार आत्महत्या दाबी गरिएको घटनालाई हत्या हो भन्ने प्रमाण जुटाउनु सबैभन्दा जटिल पक्ष हो। हत्या/आत्महत्या खुट्ट्याउने घटनास्थलको प्रकृति, परिस्थितिजन्य प्रमाण र चिकित्सकीय प्रतिवेदनले नै हो।
प्रहरी अधिकारीको अनुभवमा झुन्डिएर गरिने आत्महत्याको घटना हत्या हो कि आत्महत्या छुट्ट्याउन बढी सहज हुन्छ। झुन्डिँदा गलामा भी-आकारको डाम बस्ने, गर्दनको धमनी नली चुँडिने र केही घटनामा रुद्रघन्टी समेत भाँच्चिने गर्छ। 

 
झुन्डिएको अवस्था, झुन्डिन प्रयोग गरेको सामग्री आदिका आधारमा समेत हत्या/आत्महत्या छुट्ट्याउन सहज हुन्छ। यसमा पोस्टमार्टम रिर्पोट र घटनास्थलको अवस्थाका आधारमा विश्लेषण गरिन्छ। अन्य आत्महत्याका घटनामा निर्क्यौल गर्न कठिन हुने गरेको अनुसन्धान अधिकारी बताउँछन्। यसको कारण हो, प्रष्ट प्रमाणको अभाव। हत्या हो भन्न सकिने प्रमाण पनि हुन्नन्। अनि हत्या हैन, आत्महत्या नै हो भन्ने आधार पनि हुन्नन् प्रहरीसँग। यस्तो अवस्थामा भिडले जता डोहोर्‍यायो त्यतै डोहोरिन प्रहरी बाध्य हुने गरेको देखिन्छ।
डिएसपी सिंहको अनुभवमा आफन्तले हत्या दाबी गरेका कतिपय आत्महत्याका घटनाको प्रकृतिले हत्या देखाउँदैन। यस्तो बेला दबाबकै कारण अनुसन्धान अगाडि बढाउन बाध्य हुने गरेको उनले अनुभव सुनाए।
'प्रहरीले अनुसन्धान अगाडि बढाउने भनेको प्रमाणको आधारमा हो,' उनले भने, 'कतिपय अवस्थामा प्रमाण फेला पर्दैनन्, तर आफन्त हत्या हो भन्ने दाबी गर्दै अनुसन्धान गर्न दबाब दिन्छन्।'
यस्तो अवस्था आत्महत्याका कतिपय घटनासमेत हत्या देखिएको अनुभव सुनाउँदै उनले भने, 'साँच्चिकै विवादित आत्महत्याको अनुसन्धान जटिल छ।'

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता