अतिरिक्त तालामा परराष्ट्रको असहमति

E-mail Print
(0 votes, average 0 out of 5)
विज्ञान अधिकारी, काठमाडौं, वैशाख १९- तेस्रो मुलुकबाट सामान बोकेर नेपाल आउने कन्टेनरमा अतिरिक्त ताला (एडिसनल लक) लगाएरै भए पनि विशाखापट्नम बन्दगाह प्रयोग गर्ने वाणिज्यको तयारीप्रति परराष्ट्र मन्त्रालयले असहमति जनाएको छ। यसले विशाखापट्नम सञ्चालन थप अन्योलमा परेको छ।
 
अतिरिक्त ताल्चा लगाउँदा नेपालको सार्वभौमिकता माथि प्रहार हुने भन्दै परराष्ट्रले असहमति जनाएको वाणिज्य स्रोतले बतायो। 'हामीले नेपालको हितमा हेरेर अतिरिक्त ताल्चा लगाएरै भए पनि विशाखापट्नम सञ्चालनमा ल्याउन चाहेका थियौं,' वाणिज्यमन्त्री लेखराज भट्टले सोमबार नागरिकसँग भने, 'तर परराष्ट्र मन्त्रालयले अतिरिक्त ताला लगाउँदा सार्वभौम नेपाललाई स्वीकार्य नहुने भन्दै अड्को थापेको छ।' वाणिज्यले ताला लगाएर भए पनि विशाखापट्नम सञ्चालनमा ल्याउने सम्बन्धी आशयपत्र तयार गरेर परराष्ट्रमा पठाएको थियो।
वाणिज्य स्रोतका अनुसार परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नै अतिरिक्त ताल्चा लगाउँदा स्वतन्त्र नेपालप्रति आँच आउने बताउँदै यसमा सहमति गर्न नसकिने जवाफ दिएका छन्। मन्त्री भट्टले व्यावसायिक विषयलाई अनावश्यक राजनीतिक आँखाले हेर्ने प्रवृतिले समस्या भएको आरोप लगाए।
'अहिले हामीलाई भारतले एउटा मात्रै बन्दरगाह प्रयोग गर्न दिएको छ। यसले नेपाली व्यवसायीले धेरै समस्या भोगिरहेका छन्,' उनले भने, 'यसबाट नेपाली उपभोक्ता पनि मारमा परेकोले वैकल्पिक बन्दरगाह विशाखापट्नम प्रयोगमा ल्याउन खोज्दा राजनीतिक बखेडा झिक्न खोजिएको छ। यो हामीलाई अमान्य छ।'
भारतले अहिले कोलकोता बन्दरगाहमात्रै सञ्चालनमा ल्याउन दिएको छ। कोलकाता बन्दरगाहमा समेत भारतले अतिरिक्त ताला लगाउँदै आएको छ। सरकारी स्वामित्वमा रहेको कोलकाता बन्दरगाहमा प्रक्रियागत झझन्ट व्यवसायीले व्यहोर्दै आएका छन्।
मन्त्री भट्टले आफ्नो भूमिभित्र सुरक्षाका लागि जुनसुकै संयन्त्र स्थापना गर्नसक्ने बताउँदै भारतले सुरक्षाका लागि लगाएको अतिरिक्त तालाप्रति असहमति जनाउनुपर्ने कुनै कारण नरहेको स्पस्ट पारे। 'आफ्नो सुरक्षाका लागि भारतले मात्रै होइन हामीले पनि यस्ता उपाय अबलम्बन गर्न सक्छौं,' उनले भने, 'यसलाई सार्वभौमिकतासित जोडेर हेर्न मिल्दैन।'
उनले परराष्ट्र मन्त्रालयले राखेको असहमतिलाई चाँडै टुंग्याइने बताउँदै परराष्ट्रले असहयोग गरेर वाणिज्यले सिधै पहल गर्ने चेतावनी दिए। 'परराष्ट्रले राखेको असहमतिबारे थप छलफल गर्ने छौं। असहयोग गर्ने नीति लिने हो भने वाणिज्यले सोझै पहल गर्ने छ,' उनले भने, 'वाणिज्य पनि बलियो मन्त्रालय हो। यसलाई कमजोर पारेर राख्न दिइनेवाला छैन।'
मन्त्री भट्टले विश्वका अन्य मुलुकका वाणिज्य मन्त्रालय अत्यन्तै बलियो रहेको उदाहरण दिँदै यसले व्यवसायीको समस्या हल गर्नेतर्फ दरिलो भएर लाग्ने बताए। उनले अतिरिक्त ताला लगाउँदा भारतका विभिन्न ठाउँमा जाँच गर्ने व्यवस्था अन्त्य भएकाले यसले नेपाली व्यवसायीलाई राहत मिलेको बताए।
झन्डै तीन वर्षअघि तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणको समयमा यो बन्दरगाह दिन भारतीय सरकार सैद्धान्तिक सहमति जनाएको थियो। भारतको आन्द्र प्रदेशमा पर्ने विशाखापट्नम बन्दरगाह नेपाललाई तेस्रो मुलुकमा सामान आयात निर्यातका लागि सबैभन्दा उपयुक्त रहेको अध्ययनले देखाइसकेको छ।
अमेरिका, युरोपेली युनियनलगायत पश्चिमी मुलुकमा सामान पठाउन र आयात गर्न कोलकाता बन्दरगाह नेपालका लागि अपायक छ। नेपालको प्रमुख नाका वीरगन्जबाट विशाखापट्नम पुग्न १ हजार ३ सय किलोमिटर सडक दुरी छ। सवारी भाडा लागत कम पर्ने मात्र नभई विशाखापट्नम अन्य धेरै सुविधा पनि छन्।
यो भारतको सुविधा सम्पन्न बन्दरगाहमध्येको एक हो। कोलकता र जवाहरलाल बन्दरगाहमा जस्तै यहाँ विलम्ब शुल्क लाग्ने अवस्था रहँदैन। सुविधा प्रशस्त, फराकिलो ठाउँ र चाप कम भएकाले सामान आयात निर्यातका लागि धेरै समय कुर्नु पर्दैन। यसले कोलकातामा जस्तै व्यवसायीलाई विलम्ब शुल्क तिर्नुपर्ने अवस्था देखिँदैन। नेपालबाट तयारी पोसाक, गलैंचा, हस्तकलाका सामान पानीजहाजमार्फत तेस्रो मुलुक जान्छ। यस्तै तेस्रो मुलकबाट नेपाल आउने अधिकांश सामान पनि पानी जहाजमार्फत आउँछ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता