Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Jan 18th

फेवाताल जलाधार क्षेत्रमा जाथाभावी बाटैबाटो

E-mail Print
(0 votes, average 0 out of 5)
मनोज अधिकारी, पोखरा, जेठ १९- जिविस कास्कीले फेवाताल वरपरका गाविसहरुमा मोटरबाटो खन्न रोक लगाएको दुई वर्ष बिते पनि यो क्रम रोकिएको छैन। आसपासका गाउँबाट वर्षेनी ठूलो मात्रामा माटो बगेर विभिन्न खोला हुँदै फेवातालमा आएर पुरिने क्रम बढेको छ।

अध्ययनअनुसार जलाधार क्षेत्रबाट बगेर आउने ढुंगा, बालुवा र माटोले वर्षेनी २ हेक्टरका दरले ताल पुरिंदै आएको छ। वर्षायाममा हर्पन खोला र यसका सहायक खोलाहरुबाट बगेर आउने माटो, ढुंगा लगायत लेदोका कारण पुरिएर तालको आकार साँधुरिंदै गएको छ। जथाभावी बाटो खन्ने क्रमले जलाधार क्षेत्रमा भू-क्षयको दर १७.३७ क्युब मिटर प्रतिहेक्टर रहेको अध्ययन छ।
जिल्ला परिषद्ले जथाभावी खनिएका बाटो खन्दा फेवाताल पुरिने क्रम बढेको निष्कर्षसहित दुई वर्षअघि जलाधार क्षेत्रमा मोटरबाटो खन्न रोक लगाएको हो। उक्त निर्णय कार्यान्वयन गराउने निकाय जिल्ला प्रशासन निस्त्रि्कय हुँदा बीना इन्जिनियरिङ आफुखुशी बाटो खन्ने क्रम अझै रोकिएको छैन। जलाधार क्षेत्रका ६ वटा गाविसमा अहिले करिब तीन सय किलोमिटर कच्चीबाटो खनिएको अनुमान छ।
जिविसकाअनुसार वर्षेनी हजारौं मेटि्रक टन बालुवा, माटोले फेवाताल पुरिनुको मुख्य कारण जलाधार क्षेत्रमा जथाभावी खनिएका कच्ची मोटरबाटो नै हुन्। फेवातालको जलाधार क्षेत्रमा ढिकुरपोखरी, कास्कीकोट, चापकोट, सराङ्कोट, पुम्दीभुम्दी र भदौरे-तामागी गाविस पर्छन्। यी गाविसमा फेवातालको ९४ प्रतिशत र बाँकी ६ प्रतिशत मात्र पोखरामा पर्छ।
विकासका नाममा ती गाविसका घरपिच्छे मोटरबाटो पुर्‍याउने होडले जलाधार क्षेत्र क्षतिग्रस्त बनेको जिविसका प्रमुख इन्जिनियर शंकर पण्डितले जानकारी दिए। उनले बीनायोजना र इन्जिनियरिङ सर्भे समेत नगरि डोजर लगाएर जथाभावी बाटो खन्दा वर्षेनी फेवातालमा ठूलो मात्रामा ढुंगा, बालुवा र माटो बगेर आउने गरेको बताए।
ठूल्ठूला डोजर लगाएर बाटो खनेपछि वर्षाको पानीले माटो बगाएर सिधैं फेवातालमा पुर्‍याउने गरेकाले ताल जोगाउन दुई वर्षअघि थप बाटो खन्न रोक्ने निर्णय गरे पनि प्रशासनले त्यसलाई कार्यान्वयन गराउन नसकेको उनले बताए।
'जलाधार क्षेत्रमा बाटो पर्याप्त पुगेको निष्कर्षसहित थप बाटो खन्न आवश्यक नभएको भन्दै रोक लगाउने निर्णय भएको हो' इन्जिनियर पण्डितले नागरिकसँग भने,'तर यो निर्णय बेवास्ता गर्दै सधैंजसो कुनै न कुनै गाउँमा बाटो खन्न रोकिएको छैन। यसलाई रोक्न पनि कतैबाट पहल गरिएन।'
जलाधार क्षेत्र हुँदै बगेर आउने खोलाहरुका कारण फेवाताल बर्र्षेनी १ लाख ४२ हजार मेटि्रक टन माटोले पुरिने गरेको जापानी सहयोगी संस्था जाईकाको सहयोगमा सिल्ट कन्सल्टयान्टले गरेको अध्ययनमा उल्लेख छ। उक्त अध्ययनअनुसार प्रत्येक दुई वर्षमा ताल शून्य दशमलव १८ वर्ग किमि पुरिने गर्छ। २२ हजार रोपनीको फेवाताल यस्तै प्राकृतिक र मानविय अतिक्रमणका खुम्चिएर हाल ९ हजार ९ सय ५५ रोपनीमा सिमित छ।
फेवाताल जलाधार क्षेत्र विकास समितिले पनि गाउँमा विकास पुर्‍याउने नाममा आवश्यकताभन्दा बढी जथाभावी र जथाभावी रुपमा सडक खन्ने काम भईरहेको बताएको छ। समितिका अध्यक्ष निर्मल पौडेलले ग्रामिण क्षेत्रमा विकासलाई रोक्न नमिल्ने भए पनि आवश्यकतालाई ध्यान दिएर मात्र बाटो खन्नुपर्नेमा त्यसो हुन नसकेको बताए। उनले जलाधार क्षेत्रका गाउँमा मोटरबाटो पुर्‍याउँदा हरित सडकको नीतिअनुरुप काम गर्नुपर्ने सुझाब दिए। जिविसले खनेका बाटो समेत कालोपत्रे नहुँदा त्यहाँबाट ठूलो मात्रामा माबो बगेर तालमा पुग्ने गरेको उनले बताए। जलाधार क्षेत्रमा जिविस आफैंले खनेका बैदाम-पामे-घाँटीछिना, ठूलाखेत-हर्पन र घाँटीछिना पञ्चासे मोटरबाटो हुन्।
'अहिले हरेक घरमा पुग्ने गरि बाटो खनिएका छन्' इन्जिनियर पण्डितले भने,'अब सबैका गोठ-गोठमा मात्र बाटो पुग्न बाँकी छ।' उनले प्रशासनबाट प्रहरी लगाउने र बाटो खन्न प्रयोग भएका डोजर जफत नगरेसम्म यो क्रम नरोकिने बताए। निषेध गरिएको ठाउँमा जाथभावी रुपमा बाटो खन्नेका डोजर तथा अन्य मेसिन नै जफत गरे मात्र यो क्रम निरुत्साही हुने उनको भनाई छ।
फेवाताल छानबिन समितिले हालै सरकारलाई पेश गरेको प्रतिवेदनमा समेत जलाधार क्षेत्रको माटो उत्खनन् रोक्नु पर्ने कुरालाई प्राथमिकतामा साथ उठाएको छ। जलाधार क्षेत्रमा गरिने परम्परागत खेतीले ताल पुरिन सघाएकले भूउपयोग नीति परिवर्तन गर्न पनि सिफारिस गरिएको छ।
'फेवाताल वरिपरी र यसको जलाधार क्षेत्रमा कुनै पनि निर्माण कार्य गर्दा भू-क्षय, वातावरण र प्राकृतिक श्रोतमाथि प्रतिकुल असर नपर्ने गरी निश्चित मापदण्ड निर्माण गरी कडाईका साथ पालना गर्ने/गराउने' छानबिन प्रतिवेदनमा छ। अध्ययन अनुसार फेवातालमा वार्षिक १ सय ७५ देखि २ सय २५ हजार क्युब मिटर सिल्ट (बगाएर ल्याएको माटो) थुप्रिने गरेको छ।
जलाधार क्षेत्रमा घना आवादी, परम्परागत खेती प्रणाली, बीनायोजना डोजर लगाएर बाटो खन्ने क्रम र अन्य संरचना निर्माणले यस्तो सिल्टको मात्रा अत्याधिक बृद्वि भईरहेको छ।
यस्तै अवस्था रहे आगामी ५० देखि ८० वर्षमा फेवाताल पूर्णरुपमा पुरिने अध्ययनको निष्कर्ष छ। यस्तै कारणले २०३१ मा सरदर ३३ मिटर गहिराई रहेको फेवाताल अहिले १८ मिटर मात्र गहिरो रहेको अध्ययनले देखाएको छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता