Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Dec 05th

न्याधीश बमको राष्ट्रियसम्मानका साथ अन्त्येष्टि

E-mail Print
(0 votes, average 0 out of 5)
केपी ढुंगाना, जेठ १९-पाटनको बंगलामुखी मन्दिर दर्शन गरेर सर्वोच्च अदालत जाँदै गरेका न्यायाधीश रणबहादुर बमको बिहीबार राजधानीमा हत्या भएको छ। बिहान ११:०५ मा गोली लागेका चन्दलाई उपचारका लागि नर्भिक पुर्‍याए पनि 'स्थिर ब्लड प्रेसर' तथा आन्तरिक रक्तश्रावका कारण साढे एक बजे उनको मृत्यु भयो।
मन्दिर दर्शन गरेर शंखमूल हुँदै अदालत हिँडेका उनलाई मास्क लगाएर मोटरसाइकलमा आएका दुईजनाले शंखमूल पुलदेखि ६० मिटर पर बाटो अवरोध गर्दै गोली हानेका थिए। उनको सुरक्षामा खटिएका हतियारसहितका असई महेश गिरी र साथी राम गिरी घाइते भएका छन्। चालक अष्ट लामा भने सकुशल छन्।
महेश र रामको नर्भिकमै उपचार भइरहेको छ। रामको मांशपेशीमा अड्किएको गोली निकालिएको छ। गोलीले महेशको घाँटीको रक्तनली क्षतविक्षत बनाएकाले खुट्टाको नहा निकाली घाँटीमा प्रत्यारोपण गरिएको छ। चिकित्सकका अनुसार दुवैको अवस्था खतरामुक्त छैन।
बिहीबार नियमित बंगलामुखी जाने गरेका बम बा८च ९८५३ नम्बरको कारमा चालक, बडीगार्ड, साथीसँगै श्रीमती र बुहारी लिएर मन्दिर गएका थिए।
श्रीमती र बुहारी मन्दिर दर्शन गर्न ओर्लिएपछि उनले बाहिरैबाट दर्शन गरेर कार्यालय जान शंखमूल पुलबाट थापाथली निस्कने छोटो बाटो प्रयोग गरेका थिए।
शंखमूल पुलदेखि करिब ६० मिटर पर पुगेपछि मुखमा मास्क लगाई मोटरसाइकलमा आएका दुईजनाले गोली हानेका थिए। चालक लामा बाहेक सबैलाई गोली लाग्ोको थियो। चालकसँगै अघिल्लो सिटमा बडीगार्ड महेश थिए। न्यायाधीश बम र उनका साथी राम पछिल्लो सिटमा थिए। बम चालक पछाडि दायाँतिर बसेका थिए। राम चाहिँ बायाँतिर।
कार सुस्त गतिमा अगाडि बढिरहेका बेला रातो मोटरसाइकल कार अगाडि तेर्स्याइयो। बाटो अवरोध भएपछि असई महेश 'बाइक किन रोकेको' झोक्किँदै बाहिर निस्किनासाथ सुटरले उनीमाथि गोली हानियो। लगत्तै बम भएतिर गएर गोली हाने। कारभित्रै रहेका रामलाई समेत गोली लाग्यो।
रणबहादुर र राम कारबाट निस्किएर भागे पनि 'सुटर'ले लखेटेर गोली प्रहार गरे। दुवैजना सडकमै ढले। स्थानीयले देखेपछि सुटर फर्किएका थिए। 'सडकमा दुई अधबैसे लड्खडाउँदै हामीतिर दौडदै आएर भुइँमा लडे,' घटनाका प्रत्यक्षदर्शी धु्रव तान्डुकारले भने 'एकजना बेहोस थिए, दुवैलाई बोकेर ट्याक्सीमा राखी अस्पताल पठायौं।'
घटना अनुसन्धानका लागि प्रधान कार्यालयले महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख कुवेर रानाको संयोजकत्वमा समिति गठन गरेको छ। समितिमा केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख उपेन्द्रकान्त अर्याल, महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख देवेन्द्र सुवेदी, प्रतिआतंकवाद निर्देशनालयका एसएसपी सुबोध घिमिरे र महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख राजेन्द्रमान श्रेष्ठ छन्। समितिलाई घटनाको पृष्ठभूमि, कारण र घटनामा संलग्न पत्ता लगाउन जिम्मेवारी तोकिएको छ।
गोली काण्डलगत्तै अस्पताल र घटनास्थलमा पुगेका प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहले मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली हानेर भागेको बताए। उनले भने 'अहिले केही भन्न सकिने अवस्था छैन, यसबारे गम्भीर अनुसन्धान गर्नेछौं।'
प्रहरीले घटनास्थलको मुचुल्का उठाउनुका साथै चालक अष्टमाथि सोधपुछ गरिरहेको छ। प्रत्यक्षदर्शीका अनुसार होचोकदका मधेसी मूलका दुई व्यक्तिले गोली प्रहार गरेको खुले पनि सुटरबारे यकिन विवरण फेला परेको छैन।
घटनास्थलमा प्रहरीले ७ दशमलव ६९ आकारको सात वटा गोलीका खोका फेला परेको छ। चारवटा खोका न्यायाधीश बम बसेको कारको पछिल्लो सिटमा फेला परेको थियो भने बाँकी सडक किनारमा। उक्त गोली सानो चाइनिज पेस्तोलमा प्रयोग हुन्छ।
घटनामा प्रयोग भएको आशंकामा कोटेश्वर, सहयोगीनगरमा बा४३प ७२०८ नम्बरको रातो पल्सर प्रहरीले नियन्त्रणमा लिएको छ।
हत्या 'नियोजित'
घटनास्थलमा नेपालवाद एनजेएसएसआर नेपाल लेखिएको पर्चा फेला पारे पनि प्रहरीले विश्वास गर्न सकेको छैन। तर्साउने मात्रै नभइ हत्या गर्न आक्रमण गरिएको देखिएको छ। राजनीतिक कारणले रणबहादुरको हत्या भएको देखाउनभन्दा बढी अनुसन्धान अधिकारीलाई अन्योलमा पार्न पर्चा बाँडिएको प्रहरीको आँकलन छ।
'आतंकमार्फत संगठन चिनाउन चाहने समूह हो भने लखेटी-लखेटी हत्या गर्दैनन्,' एक प्रहरी अधिकारीले भने, 'तर्साउन एक गोली काफी हुन्छ।' तर, प्रहरीले सो संगठनलाई अनुसन्धानको दायरा बाहिरै राखेको भने छैन। संगठनका सदस्यको पूर्वानुमानका लागि अनुसन्धान समितिमा प्रतिआतंकवाद निर्देशनालयका अधिकारी पनि राखिएको हो।
घटनास्थलको प्रकृतिको आधारमा अनुसन्धान अधिकारी परिपक्व योजना र हतियार सञ्चालनका अनुभवी व्यक्ति हत्यामा संलग्न भएको निचोडमा छन्। हतियार सहितको प्रहरीसँगै हुँदासमेत आक्रमणको हिम्मत गर्ने र प्रहरीलाई हतियार चलाउने अवसरै नदिई उनीमाथि आक्रमण गरी पछि 'टार्गेटेड' व्यक्तिमाथि आक्रमण गरिएकाले यसमा सुरक्षा योजना जानकारको समेत संलग्नताको आशंका गर्छन् प्रहरी।
न्यायाधीशको दैनिकी, उनले प्रयोग गर्ने सडकमार्ग अवलोकन गरी उनीहरूले सुनसान शंखमूल टाउन प्लानिङको सडक रोजेको प्रहरी निष्कर्ष छ। 'घटना योजनाबद्ध ढंगले भएको हो,' अनुसन्धान समितिका संयोजक तथा एआइजी रानाले भने।
न्यायाधीशसँग परिचित र दैनिक गतिविधिबारे जानकार व्यक्ति हत्यामा संलग्न रहेको अनुसन्धान अधिकारीको ठहर छ। कारमा रहेका तीनजना व्यक्तिमाथि आक्रमण हुनु, चालक लामा सकुशल रहनु र घटनाबारे गोलमटोल जानकारी दिएकाले प्रहरीले उनलाई पहिलो शंकाको घेरामा राखेर सोधपुछ गरिरहेको छ।
तीन वर्षदेखि न्यायाधीशको चालकको रुपमा कार्यरत अष्टमानले बाइकको रंग, घरबाट हिँडेको समय फरक-फरक बताइरहेको प्रहरी स्रोतले बतायो। तर, यो आशंका मात्र हो। 'घटनामा आत्तिएकाले पनि यस्तो भएको हुनसक्छ,' अनुसन्धानमा संलग्न एक प्रहरीले भने, 'तर, उनी आशंकाको घेराबाहिर छैनन्।'
व्यवसायिक कारण हत्या भएको हो हुनसक्ने भए पनि बम डेढ वर्षदेखि कुनै फैसलामा संलग्न छैनन्। न्याय सम्पादनबाट उत्पन्न रिसइबीमा यत्ति उच्चस्तरको व्यवसायिक अपराधीको संलग्नता हुने प्रहरीले अनुमान गर्न सकेको छैन।
'घटनास्थलको चयनको आधारमा लामो समयदेखि न्यायाधीशको दैनिकीको अवलोकन गरी योजना बनाइएको देखिन्छ,' अनुसन्धान स्रोत भन्छ, 'मार्ने नै उद्देश्यले आक्रमण गरिएको प्रष्ट भए पनि कारण अनुमानबाहिरै छ।'
नसुध्रिएको प्रहरी
जमिम साहको गोली हान्ने भारतीय मूलका व्यक्ति भएको प्रारम्भिक सूचनाका आधारमा खोजीमा खटिएको प्रहरीले बाटामा भेटिएजति भारतीय मूलका बटुवालाई पक्राउ गर्‍यो। दुई सयभन्दा बढीलाई यसरी पक्राउ गरे पनि दोषी कोही फेला परेनन्। पाकिस्तानी दूतावासका कर्मचारी मेहबुब आसिफको हत्या प्रयासमा पनि यस्तै असफल अनुसन्धान प्रक्रिया अपनायो।
अनुसन्धान असफलतापछि अनुसन्धान प्रक्रियामा भएको त्रुटी सच्याउने बताए पनि फेरि उही शैली दोहोरिएको देखिन्छ। बिहीबार न्यायाधीश बमको हत्यापछिको दृश्य फरक थिएन। प्रत्यक्षदर्शी चालक अष्ट लामाले प्रारम्भमा सुटर कालो पल्सरमा रहेको बताए।
प्रहरीले चोक चोकमा व्यारिकेट राखेर कालो पल्सर चालकलाई लाइन लगाएर चेक गरे। केही समयमा फेरि प्रहरीले रातो पल्सर रोक्न थाल्यो।
अपराधमा संलग्नको खोजीमा भन्दा पनि प्रहरी घटनास्थलको अवलोकनमै व्यस्त थिए। प्रभागदेखि प्रधान कार्यालयसम्मका प्रहरी अधिकारी कि अस्पताल पुगे कि घटनास्थल।
गम्भीर प्रकृतिका अपराधमा अपराधी अपराधपछि जोगिने स्थानको पूर्व तयारीमा हुन्छन्। प्रहरीलाई झुक्याउन उनीहरू सिपालु हुन्छन्। शंखमूल पुलको दुवैतिर बस्ने प्रहरी र थापाथली पुलमा भएको चेकपोस्टका प्रहरीलाई छल्दै उनीहरू सहजै उम्किए। तर, प्रहरी भने मूल सडकमा बसेर उनीहरूको खोजी गरिरहेको थियो।
एआइजी राना घटनामा संलग्नबारे विवरण नखुल्दा प्रहरीले 'मास स्क्यानिङ' विधि अपनाउने गरेको बताउँछन्। अनुमानको आधारमा पनि महŒवपूर्ण सूचना फेला पर्नसक्ने भएकाले यो विधि उपयुर्क्त हुने उनको तर्क छ। 'यो विधिमा अपराधी पक्राउनै पर्छन भन्ने हुन्न,' उनले भने 'तर, कहिलेकाही नसोचेका तथ्य पनि फेला पर्छन्।'
राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
बमको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिको लागि शुक्रबार बिहान ८ देखि ११ बजेसम्म सर्वोच्च अदालत प्राङ्गणमा राखिने भएको छ। सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठकले स्वर्गीय बमप्रति श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै भोलि उनको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानका साथ आर्यघाटमा दाहसंस्कार गरिने निर्णय गरेको छ। 

(दिपक दाहाल र उपेन्द्र लामिछाने को सहयोगमा)

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता