उज्यालोको बीउ जोगाउन

E-mail Print
(6 votes, average 5.00 out of 5)
जतिसुकै विकसित होस् न देश गर्मी र जाडो त भई नै हाल्छ। यही जुनको पहिलो दिनदेखि नै सोल छेउको बुन्दाङमा पनि गर्मी बढ्न थालिसकेको रहेछ। आर्द्रता त्यत्तिकै बढी। औपचारिक हुने नाममा पातलै भए पनि सुटमा सजिनु पर्ने बाध्यता। ऊर्जा जोगाउन जानेका तिनले नभई नहुने ठाउँलाई मात्र वातानुकूलित बनाएका थिए। हातमा चिसो कफी समातेको मात्र थिएँ घन्टी बज्यो। भित्रको हलतिर लागे सबै। म पनि हातमा कफी लिएरै भित्र पसेँ।
हँसिली, हिस्सी परेकी केटीले बाटो छेकिन् र मुसुक्क हाँस्दै हातमा केही थमाइदिइन् ­ 'सर! थ्री डी ग्लासेस फर यु' भन्दै। भित्र ठूलो हलमा अझै बत्ति निभिसकेको थिएन। वरिपरि हेर्दा देखेँ - कुर्सीहरू धेरै रित्ता थिए। त्यतिमात्र मानिसका लागि त्यत्रो हल अस्वाभाविक रूपमै ठूलो लाग्यो। तर मलाई थाहा थियो, जो जति त्यहाँ उपस्थित थिए - ती सबले साँच्चैको 'क्वालिटी अडिएन्स' बनेको थियो। विभिन्न देशबाट आएका, आआफ्ना क्षेत्रमा उपलब्धि हासिल गरेका, असल काम गरेका, असल मन भएका मानिस थिए ती।
थोरै तामझाम र छोटो भाषणपछि बत्ती निभ्यो। मञ्चको विशाल पर्दामा बुन्दाङ अस्पतालको अपरेसन थिएटर देखा पर्योट। एउटै सहरभित्र भए पनि हामी बसेको हलभन्दा टाढै थियो त्यो अस्पताल। त्यति टाढा अस्पतालको थिएटरभित्र अपरेसन गर्न तयार भएर बसेका डा. किम सँग थ्री डी चस्मा पहिरिसकेका हामी कुरा गर्न थाल्यौँ ­ आँफै त्यस थिएटरभित्र पसेर प्रत्यक्ष कुराकानी गर्दैछौँ कि भन्ने भान भइरह्यो। बिरामीको पेटमा पारेको सानो प्वालबाट जब स्कोप भित्र पस्यो, यस्तो लाग्यो, त्यो स्कोपको लेन्ससँगै हामी स्वयं बिरामीको पेटको यात्रामा पस्यौँ। साक्षी बनेर हेर्न थाल्यौँ कोरियाली शल्य चिकित्सकहरूले प्राप्त गरेको ज्ञान, सीप र प्रविधि। जटिल शल्यक्रिया थियो त्यो - आमाशयको। जुन प्रविधिको प्रयोग गरेर त्यो सम्पन्न गरियो त्यसले त्यहाँ उपस्थित सबैलाई विस्मित तुल्यायो।
मनुष्य जातिले टेकेको ज्ञान र सीपको सीमाको साक्षी हुँदा आँफू मानिस भएकैमा पनि गर्व हुनुपर्ने हो। एकटक पर्दामा विस्फारित आँखा टाँसेर त्यो हलभित्र बसिरहेका विस्मित मानिसमध्ये संसारका सबभन्दा धनी देशका ठूला डाक्टर पनि थिए। तीनकै बीचमा, एउटा गरिब देशको डाक्टर थिएँ म - सपनाहरू देख्दादेख्दै जवान हुनै नपाई बुढो भइसकेको मेरो आफ्नै देशजस्तो। अरूको मनलाई के भयो कुन्नि? मेरो मन भने मानिसले प्राप्त गरेको यत्रो उपलब्धिबाट रमाउन र गौरवान्वित मात्र भइरहन सकेन। मनमा औडाहा पनि भयो, छटपटी पनि भयो, हीनता बोध भयो, ईर्ष्याभाव जन्मियो। किनभने, म विशेषण बिनाको विशुद्ध मानिसमात्र हैन, कुनै एउटा देशको नामले चिनिने मानिस थिएँ। विश्वको नागरिक हैन, नेपाल भन्ने देशको नागरिक थिएँ। पृथ्वीवासीमात्र हैन, त्यही देशवासी पनि थिएँ। मेरो गरिब देश बेसरी दुख्यो आफँैभित्र। र आमन्त्रित वक्ता भई टोपलेको म आफ्नो प्रस्तुतिका बेला पनि त्यो दुखाइबाट मुक्त हुन सकिन।
केही दशक अगाडिसम्म पनि हामी जस्तै गरिब रहेको, विदेशीको चलखेल र युद्धले क्षतविक्षत भएको, राष्ट्रिय अपमानको पराकाष्ठा भोगेको एउटा सुन्दर देश ­ आफ्नो त्यो स्वाभाविक सौन्दर्य र गरिमालाई पूर्ण रूपमा फिर्ता लिएर हाँसिरहेको थियो यतिबेला। त्यहाँका भव्य प्रतिष्ठानहरूभित्र चलिरहेको विज्ञानप्रविधिका नृत्यले भनिरहेका थिए - एक्काइसौं शताब्दी एसियाकै हो। सडकका मानिसहरूको मुस्कान, नम्रता र सभ्य व्यवहारले भनिरहेका थिए - यस देशले सामाजिक, सांस्कृतिक परिपक्वता प्राप्त गरिसक्यो। त्यहाँका मानिसको खुसीले मेरो दुखिरहेको मनलाई सुम्सुम्याउँदै भन्यो - 'पीर नगर, यस दुनियाँमा मानिसका निम्ति आशाको कमी छैन, तिम्रो देशको निम्ति पनि आशा छ यहाँ।'
राज्य स्वस्थ होस्, राजनीति सफा होस् - यो चाहना स्वाभाविक हो। त्यो नहुँदा धेरै कुरा बिग्रिन्छ - यो त हामी नेपालीलाई भन्दा बढी कसलाई थाहा होला र! तर कुनैबेला लाग्छ सबै उपलब्धि असल राजनीतिकै कारणमात्र हुने त हैन होला। कुनै बेला त खराब राजनीति हुँदाहुँदै पनि उपलब्धिहरू हुँदा हुन्। अकल्पनीय अव्यवस्था, अनुशासनहीनता र अराजकता अनि युद्ध र हिंसाको विभीषिकाबीचमै पनि गरिब नेपालीका हातले कठोर चट्टानले बनेका पर्वतमा असंख्य नागबेली सडकहरू कुँदेका छन्। बर्खामा पहिरो गएको बेलामा प्रहरी वा राज्यको कुनै उपस्थिति हुँदैन, तर मानिसहरू गाडीबाट ओर्लेर, आफैँ संगठित र अनुशासित भएर त्यहाँ आवागमनको व्यवस्था कायम गरीरहेका हुन्छन्। पर्वतका महासागरबीचमा कोसौंको परिधिभित्र कतै राज्यको उपस्थिति देखिँदैन, तर मानिसहरू आँफै अनुशासित भएर मैत्रीपूर्ण सामाजिक जीवन बिताइरहेका हुन्छन्। मानिसभित्रको त्यो मनुष्यता नामको नैसर्गिक गुणको आलोकमा धेरै राम्रा काम हुन सक्छन्, भइरहेका पनि छन्।
राज्य र राजनीति हाम्रो दुःख वा सुखका निम्ति धेरै हदसम्म जिम्मेवार हुन्छ। तर आफ्नो दुर्गतिका निम्ति भएभरको दोष राजनीति र राज्यलाई मात्र दिएर के हुने रहेछ र? यसो गर्दा बरु हामी आफँै पनि आफ्नो जिम्मेवारीबाट पन्छिई रहेका पो हुन्छौँ कि? जस्तोसुकै गोलमालका बीचमा पनि गर्न सकिने थोरै राम्रा काम होलान्। यसरी कठिन परिस्थितिमा राम्रो काम गरीरहँदा उज्यालोका बीउहरू जोगिदा हुन्। जसले जोगाए ती बीउहरू, तिनले देशका निम्ति थुपै्र उपलब्धि हासिल गरेका होलान्। र यस्ता कति उपलब्धि सिंगो मनुष्यजातिकै सम्पत्ति हुनपुगेका होलान्।
ल न! हामी चाहिं के गर्ने होला त यतिबेला?
यो समय नेपालजस्तो देशका स्वास्थ्यकर्मीका निम्ति अनौठो पीडाबोधको काल भएको छ। जसले सामाजिक उत्तरदायित्वबोध गर्छ उसैले हो पीडा भोग्ने। जति उत्तरदायी हुन खोज्छ एउटा चिकित्सक, उसका निम्ति त्यो पीडाबोध पनि त्यत्ति नै चर्को हुन्छ। त्यो हो ­ आकाश र धर्तीबीच च्यात्तिनुको पीडा। हाम्रा आधारभूत स्वाथ्य सेवाका समस्याले भरिएको यथार्थको जमिनमा आफ्ना खुट्टा टेक्नु परेको छ दह्रो गरी। तर विश्वव्यापीकरणको जमानामा विज्ञान र प्रविधिले हासिल गरेको आकाशको उचाइलाई पनि छुनु परेको छ सकेसम्म तन्किएर। बेसरी दुख्छ यसरी तन्किँदा। एकातिर अझै पनि झाडापखाला र कुपोषणले बच्चाहरू मरिरहेकाछन्, प्रसवजन्य मृत्यु भइरहेको छ, ससाना शल्यवि्र्कयाको अभावमा कठिन जिन्दगी बिताइरहेकाछन् मानिस। अर्कातिर नेपालीहरू बिरामी पर्दा पनि गरिब भएकै कारण विज्ञान प्रविधिको अपूर्व उपलब्धिको हकदार हुनसकेका छैनन्। मानिसका अपेक्षाहरू आकासिएकाछन् एकातिर। अर्कातिर कानुनी र कर्मचारीतन्त्रसँग जोडिएका असान्दर्भिक, हास्यास्पद र कुनै बेला मूर्खतापूर्ण समेत लाग्ने व्यवधानले अगाडि बढ्न रोकिरहेकाछन्। अधिकांश आधुनिक स्वास्थ्य उपकरणको मूल्य अन्तराष्ट्रिय हुन्छ भने हाम्रो क्रयशक्ति चाहिँ स्थानीय। आफ्नै देशलाई चाहिने खालको स्वास्थ्य जनशक्ति तयार गर्नुपर्ने आवश्यकता छ एकातिर भने अर्कातिर छिमेकीले मान्यता दिंदैन भन्ने नाममा वा गुणस्तरका नाममा अचम्मका बाधा अड्चन तेर्सिएकाछन्।
राजनीती र राज्य चहिने कुरा हुन् यी। धेरै फरक पार्छन् यिनले नागरिकाको जिन्दगीमा। तर हाम्रोजस्ता कुनै कुनै देश अभिशप्त हुने रहेछन् ­ लामो समयसम्म राजनीतिक तरलतामा र अनिश्चिततामा डुब्न। हिजोआज यस्तो लाग्छ, त्यो अभिशापको स्रोत हाम्रो सामाजिक­सांस्कृतिक अपरिपक्वतामै छ। यो अपरिपक्वताले लोकतन्त्र नचिन्दो रहेछ, नचिने पछि लोकतन्त्रको यात्रा थाल्नै अलमल अलमल हुनेरहेछ।
सम्भावनाहरू छन्। एकदिन त्यो सामाजिक सांस्कृतिक परिपक्वता र सभ्यताको हकदार हामी पनि बनौला। एकदिन राजनीति सप्रेको र राज्य स्वस्थ भएको हामी पनि देखौँला। यात्रामा अनावश्यक व्यवधान तेर्स्याएर रमाउने कर्मचारीतन्त्र पनि एकदिन लज्जित हुन सिक्ला र जिम्मेवारी वहन गर्न थाल्ला। त्यतिन्जेलसम्मका लागि, कठिनाइका घना झाडीबीच पनि बाटो बनाउन र उज्यालोको बीउ जोगाउन लाग्नुपर्ने होला जिम्मेवार विज्ञ र'प्रोफेसनल'हरूले। ओठमा मुस्कान, हातमा कर्म, मनमा विचारको गहिराइ र हृदयमा करुणा लिएर पर्खिन सक्ने धैर्य छ भने खुसी हुनबाट कसले रोक्न सक्छ र?
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता