'सेना सम्बन्धमा विभिन्न संचार माध्यमहरुमा प्रकाशित समाचारहरु तथा विभिन्न मञ्चहरुमा भएका अभिव्यक्तिहरु प्रति नेपाली सेनाको ध्यानाकर्षण भएको छ,' सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'नेपाली सेना बैधानिक सरकारको मातहतमा रहने र सरकारबाट राष्ट्र र जनताको हितमा हुने बैधानिक आदेशहरु मात्र पालना तथा कार्यान्वयन गर्ने कुरा पुनः स्पष्ट गर्न चाहन्छ।'
एक साता अघि ताम्सालिङ राष्ट्रिय मुक्ति मोर्चाले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपाली सेनालाई माओवादीले पकडमा लिईसकेको भनि दिएको अभिव्यक्तिप्रति लक्षित गरी सेनाले विज्ञप्ति जारी गरेको हो।
कार्यक्रममा 'नेपाली सेना हतियार सहित माओवादीको पकडमा रहेको र माओवादीले लिएको एजेण्डा सहि भएकाले सेनाले पनि आफ्नो पार्टीलाई साथ दिएको' भनी दाहालको भनाई उद्वृत गर्दै बिभिन्न सञ्चार माध्यममा समाचार आएका थिए।
विज्ञप्तिमा नेपाली सेना सम्पुर्ण नेपाली जनताको राष्ट्रिय सेना भएको जनाइएको छ। सेनाले विगत देखिनै आफ्नो गैर राजनीतिक चरित्र सबैको सामु स्पष्ट पारिसकेको दाबी विज्ञप्तिमा गरिएको छ। सेनाले यस्ता अभिव्यक्तिहरु तथा समाचारहरुको भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ।
यस्तै, चोरी शिकारीमा नेपाली सेनाको सह सेनानी कुलदिप कुंवरको संलग्नता सम्बन्धमा विभिन्न संचार माध्यमहरुमा प्रसारण तथा प्रकाशन भएको खबरप्रति पनि गम्भिर ध्यानाकर्षण भएको सेनाले जनाएको छ।
निर्देशनालयले छुट्टै विज्ञप्ति जारी गर्दै सहसेनानी कुंवरलाई सैनिक ऐन अनुसार हिरासतमा राखी कोर्ट अफ इन्क्वायरी बोर्ड गठन गरी आवश्यक छानविन प्रक्रिया सुरु गरिसकेको जनाएको छ।
