माओवादी विभाजन रोकिएला?

E-mail Print
(3 votes, average 4.00 out of 5)

किशोर नेपाल, असार १- ठूला परिवर्तनपछि आफ्नो राजनीतिक महत्वाकांक्षा तुष्टि हुन सकेन भने दलका नेताहरू विभाजनको बाटो खन्न थाल्छन्। दक्षिण एसियाली नेताहरूमा यस्तो प्रवृत्ति अलि बढी नै छ। भारतका राजनीतिक दलहरू विभाजन र एकताको मामिलामा धेरै नै अघि बढेका छन्। आर्थिक उदारवादको सफल प्रयोगपछि मात्र विभाजनको प्रवृत्ति एक हदसम्म कम भएको छ। विकासशील देशका दलहरूभित्र एकता र विभाजनको मुख्य कारक तत्व देशमा व्याप्त शोषण र गरिबी हो।
  

राजनीतिक नेताहरूमा आफूले मात्र गरिबी हटाउन सक्ने एकप्रकारको दम्भ हुन्छ। यो दम्भले गर्दा नै संसारका प्रायःजसो वामपन्थी आन्दोलनहरू विभिन्न चिरामा छन्।

नेपालका राजनीतिक दलहरू पटक पटक टुटेका छन् र पटक पटक जुटेका छन्। नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पटक पटक विभाजनको नियति भोगिसकेका छन। संविधानसभा चुनावको पृष्ठभूमिमा जन्मिएका र अहिलेसम्म दल बनिनसकेका मधेसवादी समूहहरूको फुट्ने क्रम त जारी नै छ।

नियतिले यतिबेला नेपालका विभिन्न कम्युनिस्ट वैचारिक समूह मिलेर जोडिएको एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) लाई पनि विभाजनको संघारमा उभ्याएको छ। यसका उपाध्यक्ष मोहन वैद्य निकै लामो समयदेखि पार्टी विभाजनको उपक्रममा छन्। विभाजनको बिजारोपण असार १ गते नै हुने देखिएको छ।
'किरण' उपनामले चिनिने वैद्य माओेवादी पार्टीका 'अध्यक्ष कामरेड' देखि सामान्य कार्यकर्ताहरूसम्म, सबैका लागि परम आदरणीय व्यक्तित्व हुन्। माओवादीभित्रका समर्थक र विरोधी दुवैले उनलाई पार्टीको किरण नै मानेका छन। विचार-दर्शन, चिन्तन-मनन र पढ-लेखका मामिलामा त्यो पार्टीभित्र उनलाई जित्ने अहिलेसम्म कोही देखिएको छैन। सैद्धान्तिक हिसाबले लचक शून्य किरण मार्क्सवादी जडसूत्रवादका एकमात्र आधिकारिक प्रतिनिधि हुन्, माओवादीमा।

मार्क्स र एंगेल्सले साम्यवादको सिद्धान्त प्रतिपादन गर्दा इतिहासको गतिलाई आधार बनाएका थिए। युरोपमा औद्योगिकीकरण सुरु भएपछि सामन्तवादले पुँजीवादका लागि बाटो छाडिदिएको थियो। मार्क्सको चिन्तन थियो- पुँजीवादले पनि समाजवादका लागि त्यसरी नै बाटो छाड्नु पर्नेछ। यही नै थियो, मार्क्स र एंगेल्सले तयार पारेको इतिहासको भौतिकवादी अवधारणा।

एसियामा मार्क्सवादी दर्शनको सबभन्दा बढी प्रयोग माओत्से तुङले गरे होलान्। ठूलो फड्को र सांस्कृतिक क्रान्ति माओका दुई अत्यन्त असफल एजेन्डा थिए। सन् १९५७ देखि १९५९ सम्म चलेको ठूलो फड्को अभियान (ग्रेट लिप फरवार्ड) र त्यसपछिको सांस्कृतिक क्रान्ति माओको व्यक्तित्वमा अन्तर्निहित चिरन्तन व्यग्रताको परिणाम थियो।

कसै गर्दा पनि आफूले सोचेजस्तो परिणाम नआएपछि माओले आर्थिक उदारवादको एजेन्डा समातेका थिए। सन् १९७१ मा अमेरिकी राष्ट्रपतिसँग हात मिलाएपछि सुरु भएको चीनको आर्थिक उदारवाद अहिले संसारका लागि सफलताको उदाहरण बनेको छ। सन् १९७५ सम्म आइपुग्दा माओले समाजको गतिशील चरित्रलाई आत्मसात गरिसकेका थिए। उनको निष्कर्ष थियो, 'समयको गति उल्टो घुमाउन जनताले समर्थन दिँदैन।'

मोहन वैद्य र माओका बीचमा तुलनाको कुनै ठाउँ छैन। उनमा माओमा जस्तै चिरन्तन व्यग्रता भने पक्कै छ। उनले जे जे कुरा सोचेर माओवादी पार्टीको लक्ष्य र सिद्धान्तको किटान गरेका थिए, यतिबेला ती ती कुराबाट पार्टी भड्किइसकेको छ। आफैँले अध्यक्ष बनाएर आफंैले प्रचण्डपथमा हिँड्न सिकाएका कमरेड प्रचण्ड इतिहासले निर्धारित गरेको गतिका आधारमा हिँड्न थालेकाले भावनात्मक रुपले उनी दुःखी छन्।

मार्क्स र एंगेल्सका विचारहरूको संश्लेषणले मात्र शोषण र गरिबीको अन्त्य हुन्छ भन्ने मूल सिद्धान्तबाट धेरै माओवादी नेताहरू भड्किइसकेका छन्। धेरै माओवादी नेताहरू वैद्यका विचारहरूलाई वामपन्थी संकीर्णताको आ"खाले हेर्छन् भने वैद्य पक्षका नेताहरू बाबुरामलाई दक्षिणपन्थीका रुपमा हेर्छन्। सत्य के हो भने माओवादी पार्टीमा किरणको किरण मलीन हुँदै गएको छ।

माओवादीभित्रको अहिलेको झगडा 'रुपमा' सैद्धान्तिक देखिए पनि 'सारमा' व्यक्तिगत आकांक्षाहरूको टकराव हो। यो टकरावमा मोहन वैद्यको संलग्नता र अध्यक्ष प्रचण्डले लिएका केही निर्णय गलत सावित नभएको भए सम्भवतः यसले यति चर्चा पनि पाउने थिएन। माओवादी पार्टीका तीन प्रमुख नेता भनेका किरण, बाबुराम र प्रचण्ड नै हुन्। यीमध्ये प्रचण्ड र किरणबीच कटाक्ष परेको यो पहिलो पल्ट हो। परिवर्तित परिस्थितिमा प्रचण्ड र किरण दुवै बौद्धिक व्यक्तित्व मानिन्छन्। माओवादी दलको संगठनात्मक संरचनामा उनीहरूको पकड कमै रहेको बताइन्छ।

संविधानसभा चुनावमा समानुपातिक कोटामा सभासद निर्वाचित किरण धेरै दिन सभामा टिकेनन्। संविधानसभामा संसदीय दलको नेतामा प्रचण्डको चयन स्वाभाविक थियो। प्रचण्ड नेता भइसकेपछि किरण आफू उपनेता हुनेमा ढुक्क थिए। तर, प्रचण्डले उपनेतामा बाबुरामको नाम प्रस्ताव गरेपछि किरणको मनमा प्रचण्ड र बाबुराम मिलेर आफूलाई एक्ल्याउन थालेको चिसो पस्यो। प्रतिक्रियामा किरण संविधानसभाबाटै बाहिरिए।

त्यसैबेलादेखि चिसिन थालेको किरणको मन थप चिस्याउन नेत्रविक्रम चन्द विप्लवको भूमिका महत्वपूर्ण रह्यो। प्रचण्ड रोल्पामा रहँदा आफूले गरेको सेवाको मूल्यांकन नै नगरी वर्षमान पुन अनन्तलाई केन्द्रीय नेतृत्वको वृत्तमा ल्याएर आफूलाई सेती महाकालीतिर हुत्याएदेखि नै विप्लव रन्थनिएका थिए। अहिलेको विभाजनको जग यस्तै घटनाहरूले बनेको हो भन्दा अत्युक्ति हुने छैन।

पार्टी विभाजन नै हुने भयो भन्ने चिन्ता अहिले हरेक माओवादी नेताको अनुहारमा देखिन्छ। कृष्णबहादुर महरादेखि जनार्दन शर्मा प्रभाकरसम्म सबै आ-आफ्नै तरिकाले विभाजन रोक्न प्रयास गर्दैछन्। स्वयं अध्यक्ष प्रचण्ड पनि एकताका लागि प्रयत्नरत छन्। बिहीबार बिहानसम्म उनी रामबहादुर थापा बादल र किरणले पार्टी नछाड्लान भन्ने आशामा थिए। बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ पार्टी एकता अभियानमा कतै देखिएका छैनन्। समूहभित्र समूहहरूमा विभाजित देखिएको छ माओवादी पार्टी।

के हुन्छ त यो पार्टीको भविष्य? के यथास्थितिमा एकता सम्भव छ? अहिले सबैले जान्न चाहेको चुरो कुरो यही नै हो। किरणमा सुरुङ खन्ने रहर नभए पनि उनको हातमा बुल्डोजरको स्टेरिङ थमाएर स्वार्थको रोटी सेक्ने थुप्रै छन्। तर, १४ वर्षको द्वन्द्वको कटु अनुभव बोकेका नेपाली कुनै पनि हिंसात्मक आन्दोलनको पक्षमा देखिँदैनन्।

माओवादीमा विभाजन भयो नै र विभाजित माओवादी समूह अर्को जनयुद्धको तयारीमा लाग्यो भने जनता प्रतिकारमा उत्रिने निश्चित देखिन्छ। जनताले शान्ति र समृद्धिका पक्षमा आफ्नो निर्णय दिइसकेका छन्। माओले नै भनेका छन्, 'एकपटक जनादेश दिएपछि जनता त्यसलाई उल्ट्याउन चाहँदैनन्।'
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता