मानसरोवर जाने नेपालीलाई भिसा

E-mail Print
(0 votes, average 0 out of 5)
रुद्र खड्का, हुम्ला, असार १- भिसाबिनै कैलाश मानसरोवर हिँडेका नेपालीलाई चीनको स्वशासित तिब्बतका सुरक्षाकर्मीले सीमा नाकाबाट धमाधम फर्काइरहेका छन्। गत वैशाख २० यता भिसा नलिएका नेपालीलाई हिल्सा पार गर्नेबित्तिकै फिर्ता पठाउन थालिएको स्थानीयले बताए।

विगतमा स्थानीय प्रशासनले उपलब्ध गराएको 'पास' का आधारमा चिनियाँ सुरक्षाकर्मीले सीमावर्ती भूमि प्रवेश दिँदै आएका थिए। कैलाश मानसरोवरका लागि हिल्सा पुगेका बुटवलका हरि न्यौपानेले चीनको भिसा नहुँदा हिल्साबाटै फर्केको बताए।
'चिनियाँ सुरक्षाकर्मीले भिसा नभएको भन्दै रोके,' उनले भने, 'हिल्सासम्म पुग्दा अनावश्यक रकम खर्च भयो।'

स्थानीय नोर्बु लामाका अनुसार गत वैशाख १५ गते बौद्ध गुरु चाङ थाङ रिम्पोछेले नेपालको सीमावर्ती मुचु गाविसको यालवाङ गुम्बामा प्रवचन दिएपछि चिनियाँ सुरक्षाकर्मीले भिसा नहुने नेपालीलाई रोक्न थालेका हुन्।

गुरु रिम्पोछे गुम्बामा एक महिना लामो प्रवचन दिएर जेठ १९ गते सदरमुकाम सिमकोट हुँदै भारतको धर्मशाला फर्किएका थिए। दलाई लामापछिका वरिष्ठ गुरु मानिने रिम्पोछेले चीनविरोधी क्रियाकलाप गरेको आरोपमा त्यहाँ करिब २५ वर्ष जेलमा बसेको स्थानीयको भनाइ छ।

जेलबाट छुटेलगत्तै भारत र ताइवान बस्दै आएका रिम्पोछेले सदरमुकामदेखि साढे एक दिन टाढाको यालवाङ गुम्बामा सञ्चालन गरेको प्रवचनमा नेपालीका साथै सीमापारिका लामा समुदायका व्यक्तिहरू पनि थिए।

बौद्ध धर्मको बारेमा प्रवचन दिएका रिम्पोछेले स्वतन्त्र तिब्बतको पक्षमा समेत बोलेकाले सीमामा चहलपहल कम गराउन चिनियाँ सुरक्षाकर्मीले भिसाबिनाका व्यक्तिलाई मानसरोवर प्रवेशमा रोक लगाएको स्थानीयको आशंका छ।

हुम्लाका निमित्त प्रहरी प्रमुख नरबहादुर बिष्टले नेपालीलाई भिसा अनिवार्य गर्दा सीमामा बस्ने सर्वसाधारणलाई समस्या परेको बताए। 'हुम्लामा बस्ने सर्वसाधारण मानसरोवर वा चीनको सीमावर्ती गाउँ जानुपर्‍यो भने काठमाडौं पुगेर भिसा लिनुपर्ने अवस्था सिर्जना भयो,' उनले भने, 'नेपालीलाई भिसा अनिवार्य गर्नुको कारणबारे चिनियाँ सुरक्षाकर्मीले स्थानीय प्रशासनलाई अझै कुनै जानकारी दिएका छैनन्।'
सीमावर्ती चीन प्रवेशमा भिसा अनिवार्य गरिएपछि सानातिनो व्यापार गर्नेहरू समेत प्रभावित भएका छन्। ताक्लाकोटबाट नुन बोकेर जिल्लाका विभिन्न स्थानमा बिक्री गर्दै आएका वैशाखी बुढाले बिना कुनै जानकारी नेपालीलाई सीमा प्रवेशमा रोक लगाइएपछि समस्या परेको गुनासो गरे।

'सीमापारि जान खोजे भिसा माग्छन्,' ३० वर्षदेखि भेडा/बाख्रामा नुन बोकाएर बिक्री गर्दै आएका ५६ वर्षीय बुढाले भने, 'केन्द्रको राजनीतिक खेलले सर्वसाधारण पीडित भए।'
यसअघि कैलाश मानसरोवर लगायत सीमावर्ती गाउँमा जान खोज्ने नेपालीमध्ये हुम्लावासीलाई नागरिकता तथा अन्यलाई स्थानीय प्रशासनले जारी गर्ने पास भए पुग्थ्यो। डेढ महिनादेखि चिनियाँ सुरक्षाकर्मीले नेपाली नागरिकता तथा स्थानीय प्रशासनले जारी गर्ने 'पास' लाई मान्यता दिएका छैनन्।

भिसा भएका नेपालीको साथै भारतीय र तेस्रो मुलुकका पर्यटकलाई भने चिनियाँ सुरक्षाकर्मीले नाका प्रवेशमा रोकेका छैनन्। स्थानीय प्रशासनका कर्मचारीका अनुसार भिसाबिनाका नेपालीलाई रोकेको बारेमा चिनियाँ पक्षले आधिकारिक रूपमा जानकारी गराएको छैन।

भिसा नभएकाहरूलाई सीमामा रोकिएको गुनासो आए पनि चिनियाँ पक्षसँग यसबारे कुरा हुन नसकेको ती कर्मचारीले बताए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता