एसएलसी : दोषीलाई सजाय आवश्यक!

E-mail Print
(1 vote, average 1.00 out of 5)
विद्यालय शिक्षाको अन्तिम परीक्षा मानिने प्रवेशिका (एसएलसी) परीक्षाले यस वर्ष पनि हजारौँ होनहार किशोरकिशोरीलाई 'असफल' बनाएको छ। विसं २०६८ को एसएलसी परीक्षामा सम्मिलित ४ लाख १९ हजार ४९ नियमित परीक्षार्थीमा जम्मा १ लाख ९७ हजार ६ सय ३८ जनामात्र उत्तीर्ण भएका छन्। अर्थात् २ लाख २१ हजार ४ सय ११ परीक्षार्थी अनुत्तीर्ण घोषित गरिएका छन्। यस वर्षको परीक्षाफल हेर्दा विद्यालय स्तरको शिक्षामा गरिएको लगानीको ५२.३८ प्रतिशत खेर गएको मान्नुपर्ने हुन्छ। अचम्म चाहिँ के हो भने यति धेरै जनाको भविष्यसँग खेलबाड गर्ने र राज्यको ढुकुटीबाट गरिएको ठुलो लगानी खेर फालिदिने व्यक्ति कसैले पनि यसको जिम्मेवारी लिनुपर्दैन। सरकार, विद्यालयका शिक्षक र सञ्चालकले मात्र हैन परिवारले समेत दोष तिनै पीडित बालबालिकामाथि थोपर्छन्।

एसएलसी परीक्षा अवैज्ञानिक र अव्यावहारिक रहेको ठम्याइ सबैजसो शिक्षाविद्हरूको छ। तैपनि, यसमा सुधार गर्न सरकार भने तयार भएको देखिँदैन। सर्वोत्कृष्ट विद्यार्थी घोषित गर्ने वा नगर्ने जस्ता विषयमा चाहिँ पटकपटक निर्णय फेर्ने नीति निर्माताहरू लाखौँ किशोरकिशोरीको भविष्यमा प्रत्यक्ष प्रभाव पर्ने विषयमा भने उदासीन रहँदैआएका छन्। दस वर्षभन्दा बढी समयमा हासिल गरेको ज्ञानको जाँच ३ घन्टामा लेखेर दिने र त्यसैका आधारमा योग्यता निर्धारण गरिने विधिलाई वैज्ञानिक र बालमैत्री मान्न सकिँदैन। परीक्षामा उत्तीर्ण हुनेहरू अनुत्तीर्ण भएका भन्दा योग्य मान्ने चलन त छ तर वास्तविकता त्यही हो भन्ने किटान गर्न सकिँदैन। शारीरिक, मानसिक कारण वा भौतिक परिवेशले परीक्षार्थीलाई कुनै पनि बेला प्रभावित पार्न सक्छ। त्यस अवस्थामा उसको उत्तर लेखनमा पनि अन्तर पर्छ। त्यति बेला उसले लेख्न नसकेकै कारण नजानेको ठान्नु अन्याय र मूर्खता दुवै हुन्छ। दुर्भाग्य, नेपाली समाजमा एसएलसी परीक्षाको प्रचलन सुरु भएदेखि यो विडम्बना कायमै रहेको छ।

अहिले एसएलसी दिने किशोर किशोरीले सायद कुनै शैक्षिक सत्र पनि शान्तिपूर्वक सिध्याउन पाएनन्। माओवादीको सशस्त्र विद्रोह कालमै यिनीहरू विद्यालय जान थालेका थिए। विद्यालय जाँदा आउँदा कुनै पनि बेला हतियारधारीहरूको फेला परिने डरले सधैँ थरहरी हुन्थ्यो। दोस्रो जनआन्दोलनपछि माओवादी शान्ति प्रक्रियामा सामेल भए पनि देशमा शान्ति कायम भएन। बन्द, हडताल र आन्दोलनको पहिलो तारो विद्यालयहरूलाई बनाइयो। यिनले शान्तिपूर्वक पढ्न पाएनन्। राज्य, समाज र परिवारले शैक्षिक वातावरण बनाउन नसकेको सजाय यिनलाई दिइएको छ। यसैले यो परीक्षा प्रणाली र परिणाम दुवै न्यायोचित र विवेकपूर्ण छैन।
उत्तीर्ण हुनेहरूमा पनि निजी विद्यालयका र अपेक्षाकृत सम्पन्न परिवारका बालबालिका धेरै हुन्छन्। माथिल्लो श्रेणीमा पनि तिनकै बाहुल्य हुन्छ। गरिब र अशिक्षित आमाबाबुका सन्तान प्रतिभा भएर पनि पैसा नहुँदा राम्ररी पढ्न पाउँदैनन्। उनीहरूलाई एसएलसी साँच्चै नै फलामे ढोका सिद्ध हुन्छ। उत्तीर्ण हुनेले पनि अपेक्षाकृत कम अंक पाउँछन्। यसमा लैंगिक भेदभाव चर्को रहेको त छात्रहरूमा ५१.८१ र छात्राहरूमा ४२.२६ प्रतिशत उत्तीर्ण भएकैले पुष्टि हुन्छ। यस प्रकारको शैक्षिक प्रतिफलले समाजलाई स्वतन्त्र, समान र न्यायपूर्ण बनाउँदैन। यस्तो व्यवस्था देशका लागि प्रत्युत्पादक हुन्छ। त्यसैले बहुसंख्यक युवालाई अयोग्य सिद्ध गर्ने एसएलसी परीक्षाको हाउगुजीलाई समाप्त गर्न ढिलो गर्न नहुने देखिन्छ।

उच्च माध्यमिक शिक्षा आरम्भ गरेपछि एसएलसीलाई बालबालिकाको अग्निपरीक्षा बनाइरहनु आवश्यक पनि छैन। बाह्र कक्षासम्म बालबालिकालाई सहजरूपमा पुग्नसक्ने शैक्षिक व्यवस्था गर्नुपर्छ। कम्तीमा विद्यालयमा १२ वर्ष शिक्षा पाएको व्यक्ति पक्कै पनि बढी जिम्मेवार र परिपक्व हुन्छ। त्यसपछि उच्च शिक्षा लिन चाहनेका लागि योग्यता जाँच गर्ने परीक्षा लिने र अगाडि पढ्न नचाहनेका लागि व्यावसायिक र प्राविधिक शिक्षाको व्यवस्था मिलाउनुपर्छ। अनिमात्र बालबालिकामाथि न्याय हुनेछ र त्यसको प्रभाव समाज र राष्ट्रमा अत्यन्त लाभदायक प्रतिफलका रूपमा पर्नेछ। शिक्षणजस्तो गरिमापूर्ण वृत्ति अपनाएर पनि पढनपाठनमा ध्यान नदिने शिक्षकहरूलाई राज्यको ढुकुटीबाट पाल्नु सामाजिक दृष्टिमा अन्याय पनि हो। राजनीतिक संरक्षण पाएर गैरशैक्षिक क्रियाकलापमा संलग्न शिक्षकहरूलाई विद्यार्थी र विद्यालयप्रति उत्तरदायी बनाउने उपायहरू पनि सशक्तरूपमा कार्यान्वयन गर्नुपर्छ। अनिमात्र, बालबालिकाप्रति राज्य जिम्मेवार रहेको ठहरिने छ।

यस पटकको परीक्षा उत्तीर्ण हुने सबै युवालाई बधाई र सफलताको शुभकामना छ। यस्तै, कुनै कारणले परीक्षामा उत्तीण हुन नसकेका युवालाई हामी हरेस नखान सल्लाह दिन्छौँ। खेप गएको जुनी गएको हैन। हिम्मत नहारी परिश्रम गरेर कथित फलामे ढोका छिचल्न खासै कठिन हुनेछैन।

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता