सर्वोच्चले आदेश उल्ट्याएपछि वाणिज्य बैंकका तीन कर्मचारी थुनामुक्त

E-mail Print
(0 votes, average 0 out of 5)
मनोज अधिकारी, पोखरा, असार २- नक्कली धितो राखी करोडौं रुपैयाँ ठगी गर्ने एक व्यक्तिसँग मिलेमतो गरि कम्पनीलाई हानीनोक्सानी पुर्‍याएको आरोप लागेका राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोक शाखाका तीन कर्मचारी सर्वोच्च अदालतको आदेशपछि थुनामुक्त भएका छन्।
 

उक्त बैंकका तत्कालीन शाखा प्रबन्धक केशवनारायण प्रधान, सहायक प्रबन्धक गंगाधर पौडेल र कर्जा प्रमुख सूर्यप्रसाद लम्साललाई पुर्पक्षमा राख्ने पुनरावेदन अदालत पोखराको गत फागुनको आदेश सर्वोच्चले उल्ट्याएको हो। उनीहरुसँगै सोही मुद्दामा मुछिएका जग्गा मुल्याङ्कनकर्ता इन्जिनियर सरोजमान पालिखे पनि सर्वोच्चको आदेशपछि थुनामुक्त भए।
पोखराका झण्डै एकदर्जन बैंक तथा वित्तिय संस्थाबाट नक्कली धितो राखेर करोडौं ठगी गर्ने हेटौंडाका सन्तोष पौडेलसँग मिलेमतो गरेको आरोप उनीहरुमाथि लागेको छ। कास्की जिल्ला अदालतले गत साउनमा मागेको धरौटी धेरै भएको भन्दै पुनरावेदन गएका उनीहरुलाई उल्टै पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको थियो। पुनरावेदनको यस्तो आदेशपछि उनीहरु गत चैतयता थुनामा थिए।

सर्वोच्चका न्यायाधीशद्वय रामकुमार प्रसाद शाह र प्रकाश वस्तीको संयुक्त इजलासले गत बुधबार थुनामा राख्ने पुनरावेदनको आदेश कानूनसम्मत नभएको भन्दै बदर गरेको हो। बैंकका कर्मचारीहरुले आफ्नो पदीय कर्तव्य र दायित्व पुरा गर्ने क्रममा गलत ऋण प्रवाह भएको देखिएपछि आफैंले बैंककातर्फबाट जाहेरी दिएकाले उनीहरुले बदनियत गरि कर्जा प्रवाह गरेको भन्ने मिसिल संलग्न तत्काल प्राप्त प्रमाणबाट नदेखिएको र उनीहरु ठगी कार्यमा संलग्न रहेको भनी विश्वास गर्ने मनासिव आधार समेत नदेखिएकाले थुनामा राख्नु नपर्ने सर्वोच्चको आदेशमा उल्लेख छ।

सोही मुद्दामा जोडिएका धितो मुल्याङ्कनकर्ता कम्पनीका सञ्चालक सुरेन्द्र गोदारसँग २५ लाख धरौटी लिने र अर्का इन्जिनियर पालिखेलाई पुर्पक्षको निमित्त थुनामा राख्ने पुनरावेदनको आदेश नमिलेको ठहरसहित सर्वोच्चले बदर गरिदिएको छ। सर्वोच्चको आदेशमा गोदारसँग ७ लाख र पालिखेसँग ५ लाख रुपैयाँ मात्र धरौटी लिई थुनामुक्त गर्न भनिएको छ।

बुधबारको उक्त आदेशपछि चारैजना बिहीबार थुनामुक्त भएको जिल्ला अदालत कास्कीका श्रेस्तेदार बासुदेव न्यौपानेले जानकारी दिए। आफुहरुलाई धरौटी थप्ने र पुर्पक्षका लागि थुनामा राख्ने पुनरावेदनको आदेश चित्त नबुझेपछि उनीहरु गत चैत दोस्रोसाता बेरितको आदेश बदर गरी पाउँ भनी सर्वोच्च अदालत गएका थिए। गत साउनमा मुद्दाको प्रारम्भिक सुनुवाईपछि जिल्ला अदालतले प्रधान, पौडेल र लम्सालसँग जनही ७-७ लाख रुपैयाँ धरौटी लिएको थियो।

पुनरावेदन अदालत पोखराका न्यायाधीशद्वय डिल्लीराज आचार्य र राजकुमार वनको संयुक्त इजलासले गत फागुन ४ गते मागबमोजिम बैंक कर्मचारीहरुको धरौटी घटाउनुको सट्टा पुपर्क्षमा राख्ने आदेश दिएको थियो। उक्त आदेशपछि २८ दिन फरार रहेका उनीहरु चैत पहिलो साता आफैं अदालत उपस्थित भएका थिए। जिल्ला अदालतको धरौटी धेरै भएकाले घटाई पाउँ भनी पुनरावेदन गएका उनीहरु उल्टै थुनाको आदेशपछि जिल्ला कारागार जानुपरेको थियो।

पुनरावेदनले चारजनालाई पुपर्क्षको आदेश दिए पनि गोदार इन्जिनियरिङ कन्सल्टेन्सीका सञ्चालक सुरेन्द्र गोदारसँग २५ लाख र नक्साको चारकिल्ला प्रमाणित गर्ने पोखरा उपमहानगरपालिकाका कर्मचारी राजुबहादुर कोइरालासँग तीन लाख धरौटी थप्न आदेश दिएको थियो। यसअघि गोदार ७ लाख र कोइराला ५० हजार धरौटीमा छुटेका थिए। सर्वोच्चको उक्त आदेशपछि उनीहरुको थपिएको धरौटी पनि फिर्ता हुने भएको छ।
वाणिज्य बैंकले पोखरा-६ छिनेडाँडा ठेगानामा हुँदै नभएको ९ आना जग्गा धितो राखेर ठगीका मुख्य नाइके सन्तोष पौडेललाई २५ लाख रुपैयाँ कर्जा दिएको थियो। गोदार इन्जिनियरिङ कन्सल्टेनसीले २०६६ असोजमा पोखरा-६ छिनेडाँडाको २४२१५ र २४२१६ नम्बर कित्ता जग्गालाई ५५ लाख ३० हजार रुपैयाँ मुल्याङ्कन गरेपछि उक्त बैंकले २५ लाख कर्जा दिएको हो।

अनुसन्धानमा उक्त जग्गा पहिलै गरिमा विकास बैंकमा रोक्का भेटिएपछि ठगीको पुष्टि भएको हो। गरिमाले धितो राखेको कित्ता नम्बर ४५८२ को जग्गालाई पौडेलले किर्ते गरि जिल्ला मालपोतबाट फुकुवा गराएको र त्यसलाई तीन कित्तामा टुक्राएको पाईएको छ। तीनमध्ये दुई कित्ता बाणिज्य बैंकमा धितो राखेर कर्जा लिएको र एक कित्ता पौडेलले आफ्नै गाडी चालक विष्णुप्रसाद शर्मालाई बेचेको खुलेको थियो।

फिल्डमा खटिएर मुल्याङ्नमा किर्ते गर्ने सोही कन्सल्टेन्सीका सर्वेयर सागर पराजुलीले भने अझै फरार छन्। सञ्चालक गोदारले फिल्ड कर्मचारी पराजुलीले नै आफुहरुलाई फसाएको आरोप लगाउँदै आएका छन्।

ठगीका मुख्य नाईके पौडेलले बैंक, इन्जिनियर र मालपोतबाट नाजायज फाइदा लिँदै एउटै जग्गा विभिन्न बैंक तथा फाइनान्समा राखेर कर्जा लिने र हुँदै नभएको जग्गा समेत धरौटीमा राखेर पोखराका ९ वटा बैंक तथा फाइनान्सबाट करोडौं ठगेका थिए। गत असार १३ गते पक्राउ परेका उनी जिल्ला कारागारको थुनामा छन्।

विगत १३ वर्षदेखि पोखरामा बस्दै आएका हेटौंडाका पौडेलले पोखराका ९ वटा बैंक र फाइनान्समा धितो राखेको जग्गा किर्ते कागज बनाई मालपोतबाट फुकुवा गराउने र त्यही जग्गा पुनः अन्य बैंकमा धितो राखेर करोडौं ठगेका थिए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता