ब्राजिलमा बामपन्थीसँग भेट्दै बाबुराम

E-mail Print
(0 votes, average 0 out of 5)
सुरेन्द्र पौडेल, काठमाडौं, असार २ -प्रधानमन्त्री बाबुराम भट्टराईले आउँदो साता ब्राजिलको राजधानी रियो दि जेनेरियोमा झण्डै एक दर्जन देशका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखसँग द्विपक्षीय वार्ता गर्ने भएका छन्। प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ताको लागि पहल भइरहेको राष्ट्रध्यक्ष तथा सरकार प्रमुख अधिकांश बामपन्थी विचारधाराका रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

'ब्राजिलको राजधानी रियो दि जेनेरियोमा प्रधानमन्त्री बाबुराम भट्टराई र ११ देशका राष्ट्रध्यक्ष तथा सरकारप्रमुखबीच द्विपक्षीय वार्ता गराउने पहल परराष्ट्रले गरिरहेको छ,' परराष्ट्र स्रोतले जानकारी दियो, 'पहल भएका सबै देशका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखसँग द्विपक्षीय वार्ता हुने लगभग पक्का भइसकेको छ।'

असार ६ देखि ८ गतेसम्म रियो दि जेनेरियोमा आयोजना हुने दिगो विकास सम्बन्धी राष्ट्रसंघीय सम्मेलन 'रियो प्लस ट्वान्टी' मा सहभागी हुने क्रममा ११ देशका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखसँग द्विपक्षीय वार्ताको तयारी भइरहेको परराष्ट्र स्रोतले जनाएको छ। सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री सोमबार त्यसतर्फ प्रस्थान गर्दै छन्।

प्रधानमन्त्रीकै इच्छा अनुसार ११ देशका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखसँग द्विपक्षीय वार्ताको लागि पहल भइरहेको स्रोतले बतायो। परराष्ट्र स्रोतका अनुसार ८ देशका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखसँग प्रधानमन्त्रीको इच्छा अनुसार वार्ताको पहल भइरहेको हो भने बाँकी तीन देशका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखले भट्टराईसँग द्विपक्षीय वार्ताको लागि इच्छा देखाएका हुन्।

स्रोतका अनुसार प्रधानमन्त्री भट्टराईको इच्छाअनुसार द्विपक्षीय वार्ताका पहल भइरहेका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखमा भारतका प्रधानमन्त्री मनमोहन सिंह, चिनिया प्रधानमन्त्री वेन जियावाओ, क्युबाका राष्ट्रपति राहुल क्यास्ट्रो, भेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेज, बोलेभियाका राष्ट्रपति इभो मोरालिस, अर्जेन्टिनकी राष्ट्रपति त्रिस्टिना फर्नान्डेज किच्नर, ब्राजिलकी राष्ट्रपति दिल्मा रुसेफ र पेरुका राष्ट्रपति ओलान्टा हुमला छन्।

यस्तै, प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ताको लागि इच्छा देखाएका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखमा अष्ट्रेलियाकी प्रधानमन्त्री जुलिया गिलाड्स, नर्वेका प्रधानमन्त्री जिन्स स्टोल्टनवर्ग र स्विट्जरल्याण्डका राष्ट्रपति इभलाइन विडमर छन्। 'प्रधानमन्त्रीले रियो प्लस ट्वान्टीको बेला सबैसँग साइड लाईन द्विपक्षीय वार्ता गर्ने हो,' परराष्ट्र स्रोतले भन्यो।

परराष्ट्र स्रोतका अनुसार रियो प्लस ट्वान्टि सम्मेलनमा १ सय ३० भन्दा बढी देशका राष्ट्रध्यक्ष तथा सरकार प्रमुख सहभागी हुनेछन्। सम्मेलनमा राष्ट्रसंघका महासचिव बान कि मुन पनि सहभागी हुनेछन्। महासचिव मुनसँग पनि प्रधानमन्त्री भट्टराईले भेटवार्ता गर्ने स्रोतले बतायो। विश्वका विभिन्न संघसंस्थासँग आवद्ध ५० हजारभन्दा बढी प्रतिनिधिले सम्मेलनमा सहभागिता जनाउने अनुमान गरिएको छ।

ब्राजिलमा सन् १९९२ मा 'पृथ्वी सम्मेलन' हुँदा २० बर्ष भित्र पूरा गर्नुपर्ने विभिन्न लक्ष्य राखी २० बर्षपछि 'रियो प्लस ट्वान्टी' आयोजन गर्ने घोषणा गरिएको थियो। हरित मुद्धा (ग्रिन इस्यु) मा मात्र छलफल भएको पृथ्वी सम्मेलनमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सहभागी भएका थिए। सोही सम्मेलनबाट फर्केपछि वातावरण मुद्दा मात्र हेर्ने छुट्टै 'वातावारण मन्त्रालय' महसुस गरि मन्त्रालयको स्थापना गरेका थिए।

रियो प्लस ट्वान्टीमा विकासशील र विकसित राष्ट्रबीच ग्लोबल वार्मिङ, जलवायु परिवर्तन, मरुभूमिकरण, हरित अर्थतन्त्र, दिगो विकास लगायतका विषयमा व्यापक छलफल हुने छन्। मंगलबार रियो दि जेनेरियो पुग्ने प्रधानमन्त्री भट्टराईले बुधबार सम्मेलनलाई सम्बोधन गर्नेछन्।

प्रधानमन्त्रीले बिहीबार अल्पविकसित राष्ट्र (एलडिसी) समुह र हिमाली राष्ट्र समुहको बैठकलाई छुट्टा छुट्टै सम्बोधन गर्नेछन्। ४८ राष्ट्र सदस्य रहेको एडिसीको नेपाल अध्यक्ष राष्ट्र भएकोले बिहीबार हुने दुबै बैठकमा प्रधानमन्त्रीले अध्यक्षताको भूमिकासमेत निर्वाह गर्ने जनाइएको छ। अध्यक्ष राष्ट्रका हैसियतले नेपालले नै सम्मेलनमा एलडिसी राष्ट्रका समस्या उठाने छ।

'पृथ्वी सम्मेलन पछि कुन कुन देशले वातावरण, दिगो विकासका क्षेत्रमा के कस्ता लक्षित उपलब्धी हासिल गरे त्यसको समिक्षा रियो प्लस ट्वान्टीमा हुन्छ,' स्रोतले भन्यो, 'पृथ्वी सम्मेलनको १० बर्ष पछि सन् २००२ मा ब्राजिलमा 'रियो प्लस टेन' समिक्षात्मक बैठक भएपछि रियो प्लस ट्वान्टी हुन लागेको हो।'

सन् १९९२ मा पृथ्वी सम्मेलन पछि स्थापना गरिएको दिगो विकास आयोगलाई रियो प्लस ट्वान्टीले 'दिगो विकास परिषद' मा स्तरउन्नती गर्ने स्रोतले बतायो। स्रोतका अनुसार परिषदलाई थप शक्तिशाली बनाउन सबै राष्ट्रले सहमति जनाइसकेका छन्। असार ८ गते सहभागी सबै देशका राष्ट्र तथा सरकार प्रमुखले 'हामीले चाहेको भविष्य' रियो प्लस ट्वान्टी घोषणा पात्र जारी गरी सम्मेलन समापन गरिने जनाइएको छ।


२१ सदस्यीय नेपाली प्रतिनिधिमण्डल

प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा २१ सदस्यीय नेपाली प्रधिनिधिमण्डल ब्राजिलको रियो दि जेनेरियोमा आयोजना हुने दिगो विकास सम्बन्धी राष्ट्रसंघीय सम्मेलन 'रियो प्ल्स ट्वान्टी' मा सहभागी हुन त्यसतर्फ सोमबार जाने परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयद्धारा शुक्रबार जारी विज्ञप्ति अनुसार प्रधानमन्त्रीसँग ब्राजिल जानेका श्रीमती हिसिला यमी, वातावरण, विज्ञान तथा प्रविधिमन्त्री केशव मान शाक्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री, मन्त्रिपरिषद कार्यालयका सचिव लिलामणी पौडेल, राष्ट्रिय योजना आयोग सचिवालयका सचिव युवराज भुषाल, वातावरणस विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव कृष्ण ज्ञवाली, वन मन्त्रालयका सचिव नविनकुमार घिमिरे, परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराई लगायत रहेका छन्।

विज्ञप्ति अनुसार प्रधानमन्त्री भट्टराई रियो प्लस ट्वान्टिमा सहभागी हुन मंगलबार रियो दि जेनेरियो पुग्नेछन्। सम्मेलन दिगो विकासमा हरित अर्थतन्त्र तथा गरिवी निवारण र दिगो विकासको संस्थागत रुपरेखा गरी दुई बिषयमा केन्द्रित हुने विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता