उकालो चढ्दा लस्करै हिँडेका मान्छेको लाइन कमिलाको ताँतीजस्तै थियो। १० मिनेट उकालो चढेपछि प्रधानमन्त्री जयराम लामिछानेको आँगनमा रोकिए।
जयरामलाई बन्धुहरूले 'डाँडाघरे' भन्दा रहेछन्। डेढ सय वर्षअघि जयरामका बराजु पनि गोरखाकै तान्द्राङबाट काँठ बसाइ सरेका। माओवादी सशस्त्र द्वन्द्वका बेला जयरामका एकजना भाइलाई सेनाले बेपत्ता पारेको रहेछ। ०५८ चैत १७ गते सेनाले लगेको सूचनाबाहेक २३ वर्षे भाइ ठाकुरको लास वा सास केही पाएको छैन परिवारले।
'हामी गोरखाबाटै आएका लामिछाने हौं, अहिले फैलेर ६२ घर छौं,' एकजना वृद्ध लामिछानेले गोरखा स्थायी ठेगाना हुने प्रधानमन्त्रीसँग क्षेत्रीय नाता गाँस्न खोजे। प्रधानमन्त्रीले पनि थातथलोबारे सम्बन्ध जोडिहाले, 'कति पुस्ता भयो, कुन ठाउँबाट आउनुभएको?' लौरो टेकेका वृद्धले पुर्ख्यौली तान्द्राङ भएको बताएपछि एकछिन उतैका कुरा भए।
प्रधानमन्त्री जुत्तामोजा खोलेर खाली खुट्टा दलानमा बसे। उनकी पत्नी हिसिला भने जुत्ता लगाएरै गफ सुन्दैथिइन्। सानो आँगन गाउँका मान्छेले भरियो। अँध्यारोमा 'इमर्जेन्सी लाइट' बालेर अन्तर्क्रिया सुरु भयो। माओवादी कार्यकर्ताले अन्तर्क्रिया सुरु गरे। 'चार वर्षका लागि फेरि ६०१ को चुनाव गर्नुभन्दा विघटित संविधानसभा ब्युँताएर संविधान जारी गरी देशको ढुकुटी जोगाउनुपर्छ। दैनिक २-३ हजार मान्छे विदेशिने क्रमलाई रोक्न सक्नुपर्छ प्रधानमन्त्रीज्यू,' भूपू सैनिक लक्ष्मण लामिछानेले भने।
झोर-८ की अप्सरा अधिकारीले किसानका समस्या राखिन्, 'अहिले रासायनिक मलको अभाव छ, सहकारीमार्फत सदस्यहरूलाई मल ल्याउन खोजेको तर दुई वर्ष नपुगी मल ल्याउन नदिने भनियो। हामी व्यापारी हैनौं, गरिब किसानसँग पैसा हुँदैन। प्रधानमन्त्रीज्यू, यसतर्फ ध्यान दिइयोस्।' नेपाल ल क्याम्पसकी छात्रा दुर्गा काफ्लेले आफ्नो गाउँलाई काठमाडौंको जुम्ला भनिन्। 'संविधान नबन्दा जनता निराश छन्। संविधान त दिनु भएन, अब के दिनुहुन्छ?' दुर्गाले प्रश्न गरिन्, 'यो क्षेत्रमा पनि माओवादीले चुनाव जित्यो, सरकार बनायो, तर जनताले के पाए?'
सधैं नेता आएर कुरा सुन्ने, टिप्ने, मुन्टो हल्लाउने र फर्केपछि वास्ता नगर्ने अनुभव सुनाउँदै दुर्गाले थपिन्, 'अहिले बिउमा पानी बोकेर हाल्ने बेला हो, धेरैको बिउ मरिरहेको छ, केही मिल्ला भनेर काम छाडेर आउनुभएको छ। प्रधानमन्त्रीज्यूले यसलाई ध्यान दिनुहोस्।' काठमाडौंबाट ९ किलोमिटर दुरीको यो गाउँमा मल नभएको बताउँदै देशको अवस्था के होला भनी प्रश्न गरे, हरिप्रसाद दुलालले। उनी कड्के, 'सक्षम प्रधानमन्त्री भन्ने आश थियो तर देशका लागि हैन भन्ने देखियो, चन्द्रमामा लागेको धब्बाजस्तै भयो।'
प्रधानमन्त्री सपत्नी आउने थाहा पाएर छिमेकी बुढानीलकण्ठ गाविसको पासिकोटबाट पुगेकी दिशु भण्डारी मानन्धरले आफ्नो गाउँमा पनि आउन निम्ता गरिन्।
सबै कुरा सुनिसकेपछि प्रधानमन्त्रीले आफूलाई लागेको कुरा खुलस्त भन्ने नेपाली गाउँको संस्कृति भएको बताए। 'मैले त योभन्दा पनि बढी आक्रोशित हुनुहोला भन्ने अनुमान गरेको थिएँ,' उनले भने, 'शब्दवाण मात्र हैन, अरू नै वाण खेप्नु परे पनि तयार भएर आएको हुँ।'
उनले ठूलो आश्वासन दिन र प्रशंसा सुन्न नआएको पनि बताए। 'देशलाई कसरी अघि बढाउने? त्यो भावना तपाईंहरूको भित्री हृदयदेखि नै आओस्,' उनले भने, 'हामीलाई नीति निर्माण गर्न आगामी दिनमा मद्दत पुगोस् भन्ने हिसाबले म यहाँ आएको हुँ।'
१० कक्षा पढ्दासम्म गाईभैंसी चराएर हिँड्ने गरेको पनि उनले सम्झे। 'सहरबजारको तडकभडक र 'ठूलाबडा' हरूसँगको हिमचिमले कतै न कतै म बिग्रन्छु कि भन्ने डरले कमसेकम प्रत्येक महिना एकचोटि गाउँ जानुपर्छ भन्ने मेरो सुरुदेखिको विचार थियो,' उनले सुनाए, 'गोरखा-२ बाट जितेपछि मैले भनेको थिएँ- कम्तीमा महिनामा एकचोटि आउनेछु। संविधानसभा ४९ महिना कायम रह्यो। ४९ महिनामा प्रत्येक महिना नबिराई ५२ चोटि पुगेँ।'
अहिले पनि देशको ८० प्रतिशत जनता गाउँमा बस्ने, ६६ प्रतिशत जनता किसान भएको प्रधानमन्त्रीले सम्झे। 'जनतासँगको सम्बन्ध टुट्यो भने हामी मनोगत हुन्छौं,' उनले भने, 'जनताको पीरमर्का बुझ्न सकिएन भने हामीले बनाउने नीति वास्तविक हुँदैन।' संविधानसभाबाट संविधान पारित गर्न दुईतिहाइभन्दा बढीको समर्थन चाहिने तर विघटित संविधानसभामा माओवादीसँग ३९ प्रतिशत सिट मात्र भएकाले संविधान नबनेको उनले बताए।
'जेठ १४ गते बिहान मैले राष्ट्रपतिजीलाई भेट्दा बेलुका संविधान र मेरो राजीनामा सँगै आउँछ भनेर आएको थिएँ,' उनले भने, 'बालुवाटारका मेरा साथीहरूलाई समेत बेलुका राजीनामा आउँछ, भोलि बालुवाटार छाड्नुपर्छ। अहिले पोकापन्तरा कस्नुस् भनेको थिएँ।'
ग्रामीण जनतासँग प्रत्यक्ष साक्षात्कार गरी एक रात बिताउने घोषणा गरेका प्रधानमन्त्री बुधबार झोर महांकाल पुगेका हुन्।
यस्तो 'होम स्टे' हरेक महिनामा एक दिन गर्ने प्रधानमन्त्रीको योजना छ।
कार्यक्रम सकिएपछि प्रधानमन्त्री त्यहीँ घरमा बसे। सुकुलमा बसेर पत्नी र पत्रकारसँगै खाना खाए।
'यो घरकै चामल हो?' प्रधानमन्त्री पत्नी पूर्व सभासद हिसिला यमीले खाना पस्कँदै गरेकी घरधनीलाई सोधिन्।
'घरकै मसिना चामल हो,' सानो स्वरमा उनले जवाफ दिइन्।
'कति मीठो!' उनले भनिन्।
'बालुवाटारको भात त रबर जस्तो हुन्छ,' हिसिलाले भनिन्।
पहाडको घरको चुलोनजिकै सुकुलमा बसेर खाना खाइरहेका प्रधानमन्त्रीले विगत सम्झे। 'मलाई त यस्तै मनपर्छ, के गर्ने?' प्रधानमन्त्रीले बाल्यकाल सम्झे।
मसिना चामलको भात, मासको दाल र सोयाबिनको तरकारीसँगको भात सुरुमा बढी हुन्छ कि भनेर झिकेका प्रधानमन्त्रीले पछि थपेर खाए। खाना छाड्ने त परै जाओस्। ट्वाइलेट घरबाहिर भएको डाँडाको टाँडेघरमै प्रधानमन्त्री दम्पतीले रात बितायो। सुरक्षाकर्मीहरू आँगनमा पाल टाँगेर बसे।
प्रधानमन्त्रीको गाउँ बसाइ तस्विरमा। सबै तस्विरः दिनेश श्रेष्ठ/ प्रधानमन्त्री कार्यालय
