Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Dec 12th

हुलाक महसुल बढ्दै

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार ३ (नागरिक)- आउँदो साउनदेखि हुलाक सेवाको महसुल बढ्ने भएको छ। सरकारले चिठीपत्र र पार्सल ओसारपसार शुल्क बढाउने निर्णय गरेको हो। २०५३ सालदेखि हुलाकको महसुल नबढेको भन्दै मन्त्रिपरिषद्को केही दिनअघिको बैठकले बढाउने निर्णय गरेको हो।
 
देशभित्र साधारण चिठी पठाउँदा अहिले दुई रुपैयाँ लाग्छ। साउनदेखि कम्तीमा ५ रुपैयाँ लाग्नेछ। 'गत वर्ष असोजमै हुलाक महसुल बढाउन प्रस्ताव गरेर पठाएका थियौं,' हुलाक सेवा विभागका शाखा अधिकृत नारायणप्रसाद पौडेलले भने, 'बल्ल सरकारले स्वीकृत दिएको छ।'
रजिस्ट्री गरेर देशभित्रै चिठी पठाउँदा लाग्ने शुल्कसमेत हुलाकले साउनदेखि कम्तीमा १५ रुपैयाँ बनाउने भएको छ। अहिले यो शुल्क १० रुपैयाँ छ।
'एक कप चियाको कम्तीमा १० रुपैयाँ तिर्नुपर्ने भइसक्यो, दुई रुपैयाँले चिठीपत्र पठाउने भन्ने कुरा संसारमा कहींकतै छैन,' पौडेलले भने। हुलाकबाट हुने आम्दानीभन्दा खर्च बढी हुने भएकाले गत वर्ष दुई अर्ब रुपैयाँ घाटा भएको सञ्चार मन्त्रालयका अधिकारीले बताएका छन्।
हुलाकका लागि खर्च दुई अर्ब २५ करोड छ भने आम्दानी २५/२६ करोड रुपैयाँमात्र हुन्छ। सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यबाट सरकारी निकायमा दर्ता गर्ने निवेदनका लागि टाँस्नुपर्ने टिकट पाँचबाट १० रुपैयाँ बनाएको छ। सरकारले निवेदन शुल्क बढाउने बित्तिकै हुलाक सेवा विभागले महसुल बढाउन प्रस्ताव गरेको थियो।
सर्वसाधारणको खर्च बढ्ने भएकाले अघिल्ला कुनै पनि मन्त्रीहरुले हुलाकको महसुल बढाउन चासो दिएका थिएनन्। पाँच महिनाअघि तत्कालीन सञ्चारमन्त्री जयप्रकाश गुप्ताले यो विषयलाई मन्त्रिपरिषदमा लगेका थिए। तर, सरकारले कुनै निर्णय गरेको थिएन।
'विदेशमा जाने चिठी रजिस्ट्री गरेको एक सय रुपैयाँ हुँदैछ,' पौडेलले भने। २० ग्रामसम्म तौल भएको चिठी रजिस्ट्री गरेर विदेश पठाउँदा अहिले ८० रुपैयाँ तिर्नुपर्थ्यो। पौडेलले अन्तर्राष्ट्रिय पोस्टल युनियनको नीतिअनुसार रजिस्ट्री चिठी विदेश पठाउँदा पठाउने देशले प्राप्त गर्ने देशलाई ५० एसडिआर तिर्नुपर्छ। एक एसडिआर बराबर झन्डै एकसय नेपाली रुपैयाँ हुन्छ।
'राजपत्रमा सूचना प्रकाशित गर्न कानुन मन्त्रालयमा पठाइएको छ, त्यहाँबाट आएपछि देशभरि सर्कुलर हुन्छ,' मन्त्रालय स्रोतले भन्यो। मन्त्रिपरिषदले पारित गरेको नीति, निर्देशिका राजपत्रमा प्रकाशित हुनु अघि कानुन मन्त्रालयले चेक गर्ने परम्परा छ। कानुनी रुपमा नमिलेको भए मिलाउनका लागि कानुन मन्त्रालयमा पठाउने चलन छ।
देशभित्रै आदानप्रदान हुने २० ग्रामभन्दा बढी तौलका चिठीका लागि यसअघि प्रति १० ग्राममा एक रुपैयाँ थप महसुल लाग्नेमा अबदेखि दुई रुपैयाँका दरले लाग्नेछ।
विदेश पठाउने पार्सलको मूल्य पनि बढाउने निर्णय सरकारले गरेको छ। हुलाकले चिठीपत्रबाट भन्दा पनि पार्सल विदेश पठाउने र ल्याउने काम गरेर बढी आम्दानी गर्दै आएको छ।
स्रोतका अनुसार पोस्टबक्स नम्बर लिएकाले समेत साउनदेखि बढी शुल्क तिर्नुपर्नेछ। सानो आकारको पोस्टबक्सलाई अहिले वार्षिक पाँचसय रुपैयाँ लाग्नेमा सातसय ५० बनाउने निर्णय मन्त्रिपरिषदले गरेको छ। ठूलो आकारका लागि एकहजार पाँचसय रुपैयाँ बनाउने प्रस्ताव गरिएको छ।
मोबाइल फोनको पहुँच गाउँगाउँसम्म पुगेपछि अहिले चिठीपत्रबाट हुने सम्पर्क घटेको छ। मोबाइल फोनको पहुँच देशभरि पुगेपछि देशभित्र प्रति मिनेट बढीमा दुई रुपैयाँमा कुराकानी गर्न सकिन्छ।
कागजात वा कुनै वस्तु नै पठाउनुपर्‍यो भनेमात्र आजभोलि हुलाकको प्रयोग हुन थालेको छ, नत्र एक आपसमा खबर आदानप्रदानका लागि हुलाकको प्रयोग ठप्पै जस्तो छ।
सरकारले हुलाकको आम्दानी बढाउन र आर्थिक रुपमा टिकाउन देशका विभिन्न ठाउँमा ग्रामीण सूचना केन्द्र (टेलिसेन्टर) स्थापना गरेको छ। टेलिसेन्टरबाट टेलिफोन, फोटोकपी, प्रिन्टिङ, कम्प्युटर तालिम सेवा दिइन्छ।
टेलिसेन्टरको अवधारणा समेत असफल भएको छ। दूरसञ्चार प्राधिकरणले एक वर्षअघि गरेको अध्ययन अनुसार टेलिसेन्टरहरु अनुदान दिएसम्म चल्ने र पछि बन्द हुने गरेका छन्।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता