राष्ट्रपतिले दलका नेताहरूसँग आँखा जुधाएर भने- राष्ट्रिय सरकार बनाउन एकजुट हुनुस्

E-mail Print
(0 votes, average 0 out of 5)
माधव ढुङ्गेल, काठमाडौं, असार ४- राष्ट्रपति रामवरण यादवले विघटित संविधान सभामा रहेका दलका नेताहरूलाई बोलाएर राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नेबारे ठोस पहल गर्न आग्रह गरेका छन्। कांग्रेस-एमाले लगायतका विपक्षी दलहरूले प्रधानमन्त्री बाबुराम भट्टराईलाई बर्खास्त गरी नयाँ सरकारका लागि आह्वान गर्न यादवमाथि दबाबमाथि बढाएपछि शितल निवासमै चियापान समारोह गरेर गरेर यस्तो आग्रह गरेका हुन्।

 
संविधानसभा विघटन भएको २० दिन बितिसक्दा देशलाई निकास दिने बारे सत्तारुढ र विपक्षी दलहरूबीचको दूरी नघटेपछि राष्ट्रपतिले संयुक्त रूपमा आग्रह गर्न विघटित संविधानसभाका ३३ वटै दलका अध्यक्षहरूलाई बोलाएका हुन्। उनले सरकार, संविधान निर्माण र शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउनेबारे सहमति गर्न गर्न दलका नेताहरूलाई दबाब दिएका हुन्।
नेताहरूलाई सम्बोधन गर्दै राष्ट्रपति यादवले भने, 'मुलुकको दैनिक प्रशासन तथा मुलुकको अवरुद्ध राजनीतिलाई पुनः निकास दिने सम्बन्धमा तपाईंहरूबाट ठोस पहल हुने अपेक्षा राखेको हुँ।' जेठ १५ पछि बाहिर शान्तजस्तो देखिए पनि अहिलेको गतिरोधले समाज र मुलुकलाई भित्रभित्रै कमजोर बनाइरहेको हुनाले यसलाई छिटोभन्दा छिटो तोड्नुपर्ने बताए।
समाजिक सद्भाव बिथोलिन सक्ने संभावनातर्फ चिन्ता व्यक्त गरे। 'विधिको शासन र लोकतान्त्रिक मान्यताकै आधारमा शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउन र भए-गरेका उपलब्धि नगुमाई नयाँ संविधान निर्माणको कार्य पूरा गर्नेतर्फ एक भई जनतालाई विश्वस्त पार्न सकेनौं भने नेपाली जनता र भावी पुस्ताले हामीलाई माफी दिने छैन।'
राष्ट्रपति यादवसँग भेटी विपक्षी दलहरू र विभिन्न व्यक्तिहरूले भेटेर एकमात्र संवैधानिक व्यक्ति भएकाले भूमिका बढाउन आग्रह गरिरहेका छन्। बेला 'गर्ने दलहरूले नै हो' भन्ने सन्देश सामूहिक रूपमा दिन नेताहरूलाई बोलाएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताए।
यसअघि छुट्टछुट्टै र व्यक्तिगत भेटघाटमा गर्दै आएको आग्रहकै निरन्तरता भएको बताउँदै दाहालले भने, 'म गंभीर छु भनेर अनुहारमा हेरेर आँखा जुधाएर त्यही भन्न बोलाउनु भएको हो, त्यही गर्नुभो।' नेताहरूसँग आँखा जुधाएर आग्रह गरे पनि 'धम्की नभई अनुरोध भएको' दाहालले बताए।
'नेताहरूले थ्रेटका रूपमा बुझ्नु भएको भए बेग्लै हो, देश चलाउने दलहरूले नै हो भन्नेमा राष्ट्रपति प्रष्ट हुनुहुन्छ', दाहालले भने, 'त्यो मेरो बाटो हैन भन्नेमा उहाँ प्रष्ट हुनुहुन्छ।' कांग्रेस-एमालेका नेताहरूले भने जसरी राष्ट्रपति सक्रिय हुने संभावना नरहेको दाहालले बताए।
चियापान समारोहको सुरुमा राष्ट्रपति यादवले लिखित वक्तव्य वाचन गरेका थिए। लिखित सम्बोधन वाचन गरिसकेपछि बोल्दै राष्ट्रपति यादवले विघटित संविधानसभाका एकीकृत माओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चा मिलेर निकास दिनुपर्ने बताएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकसँग भने, 'राष्ट्रपतिको सम्बोधनपछि टिप्पणी गर्ने त कुरा भएन, पछि अनौपचारिक कुराकानीमा मैले त्यसप्रति असहमति जनाएँ।'
राष्ट्रपति यादवले आइतबार बिहान ८ बजे नै विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्षहरूलाई चियापानका लागि आमन्त्रण गरेका थिए। चियापानमा प्रधानमन्त्री बाबुराम भट्टराई, माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, कांग्रस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदार, फोरमका उपेन्द्र यादव, तमलोपामा महन्थ ठाकुर, राप्रपा नेपालका कमल थापा, नेकपा संयुक्तका चन्द्रदेव जोशी लगायत अधिकांश दलका अध्यक्षहरू उपस्थित थिए। हरेक पार्टीका तर्फबाट अध्यक्ष १ जना मात्र सहभागी थिए।
असार महिना भए पनि दलका नेताहरूलाई राष्ट्रपतिले दही-च्युरा पनि खुवाएनन्। 'संविधानसभा विघटन भएको यस्तो दुःखद् बेलामा भोज खुवाउँदिनँ', राष्ट्रपतिले भने, 'चियामात्र खुवाएर बिदा गर्छु।' राष्ट्रपतिले आधा घन्टा जति बोलेका थिए।
'संविधानसभा भंग भएपछि त्योबाहिरका धेरै नयाँ शक्तिको जन्म भएको छ, राष्ट्रपतिले हिजोका चार शक्तिले भूमिका खेल्नुपर्छ भन्न मिल्दैन', थापाले भने, 'अब सबै दलको संवैधानिक हैसियत समान भएको छ।' मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि हिजोका चार शक्तिको आकार घटेर 'लिलीपुट' भैसकेको टिप्पणी राष्ट्रपतिसमक्ष गरेका थिए।
राष्ट्रपतिले आफ्नो लिखित सम्बोधनमा मुलुकको पहिलो राष्ट्राध्यक्षका नाताले लोकतान्त्रिक संविधान जारी गर्ने आफ्नो सपना खण्डित हुँदा खिन्नता बदलिएको बताएका थिए। 'ठूलो प्रयास र चाहनाका बाबजुद नयाँ संविधान बन्न नसक्नु राष्ट्रिय पीडा र लज्जाको विषय बनेको छ', लिखित सम्बोधनमा उनले भने, 'संविधानसभाको बेवारिशे अवसान हुँदा विश्वसामु हाम्रो कद घट्न गएको छ।'
राष्ट्रपतिले संविधान निर्माणका काममा राजनीतिक दलका नेताहरूलाई आवश्यक मात्रामा चच्घच्याउन वा प्रेरित गर्न नसकेको पनि स्वीकारे। 'राजनीतिक शक्तिहरूको ध्यान संविधान निर्माणमा सहकार्य गर्न भन्दा सरकारको गठन र विघटन गर्नेतफर्प उन्मुख हुँदा समय खेर गएकै हो', राष्ट्रपति यादवले आत्मसमीक्षा गरे, 'शान्ति र संविधानको विषयमा सहमति जुटाउन सहयोग गर्ने कार्यमा अथक प्रयास गर्दागर्दै पनि कतै मबाट पनि कमजोरी भयो कि?'
राष्ट्रपतिले हचुवा विश्लेषण स्वार्थप्रेरित आरोप-प्रत्यारोप समाजमा तिक्तता र निराशा बढाउने तथा राष्ट्र र राज्यका स्थापित मूल्य मान्यतालाई समेत कमजोर बनाउने तथ्यलाई आत्मसात गर्न पनि आग्रह गरे। राष्ट्रपतिले ०६२/६३ को आन्दोलनको मर्म र अन्तरिम संविधानलाई आधार मान्नुपर्ने पनि बताए। अवरुद्ध राजनीतिलाई निकास दिन अविलम्ब सहमति खोज्न पनि आग्रह गरे।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफू सहमति जुटाउन सक्रिय भैसकेको जानकारी दिंदै केही समय लागे पनि सहमति जुटाएरै अघि बढ्ने बताए। कांग्रेस सभापति सुशील कोइरालाले पनि सहमति जुटाएर अघि बढ्नुको विकल्प नरहेको बताउँदै सहमतिमै अघि बढ्ने बताए।
चियापान समारोहपछि राष्ट्रपतिसमक्ष केहीबेर अलग्गै भेट गरी बाहिर निस्केका एमाले अध्यक्ष झलनाथ खनालले राष्ट्रपतिले भने राष्ट्रपतिले आफ्नो भूमिका बढाउनुपर्ने बताए। 'सरकारबिहीन अवस्थामा राष्ट्रपतिले भूमिका खेल्नुपर्छ। सरकारलाई अध्यादेश जारी गर्नबाट रोक्नुपर्छ।'
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता