विद्यालयमै पुग्दैनन् निरीक्षक

E-mail Print
(0 votes, average 0 out of 5)
भीम चापागाईं, इलाम, असार ४- जिल्लाको बरबोटे गाउँ विकास समितिस्थित अमर उच्च माध्यमिक विद्यालयका शिक्षक जयनारायण भट्टराईले अध्यापन गरेको ३० वर्ष नाध्यो। अहिलेसम्म उनको कक्षा सुपरीवेक्षण गर्न एक पटक पनि विद्यालय निरीक्षक आएका छैनन्। उनी भन्छन् 'यतिका वर्ष मैले पढाउँदा त निरीक्षकहरु कक्षामा एकैपटक देख्न पाइएन भने अरु शिक्षकका कक्षामा कहिले पुगे होला।' धेरै वर्षको अन्तरमा निरीक्षकहरु विद्यालयको कार्यालयसम्म पुगेर फर्कने गरेको उनले बताए। 

 
जिल्ला शिक्षा कार्यालयभन्दा करिब पाँच किलोमटिरमा रहेको यो विद्यालयमा लामो समयपछि छिटफुट मात्रै निरीक्षक पुग्छन्। राजमार्गको सुविधा रहेको यस्तो सुगमको विद्यालयमा समेत नपुग्ने निरीक्षकले दुर्गमका विद्यालय कसरी निरीक्षण गरिरहेका छन् भन्ने अनुगमनको विषय भएपनि कार्यालय भने त्यसबारे चुपचाप छ। आफूहरुले 'विनिहरुको कार्यबारे अनुगमन नै गर्न नभ्याएको' जवाफ दिने जिशिका कार्यालयको 'लाचारीपन' स्विकार्नमसेत तत्पर छ।

विद्यालय निरीक्षकहरुले जिल्लाका विद्यालयहरुको नियमित अनुगमन र निरीक्षण नगर्दा पढाइको स्तर खस्कँदै गएको छ। कतिपय विद्यालयहरुमा विद्यालय निरीक्षक नै आइनपुगेको विद्यालयहरुले बताएका छन्। पश्चिमी एक विद्यालयका प्रधानाध्यापक भन्छन् 'मैले विद्यालयमा यतिका समय काम गर्दा निरीक्षक कस्तो हुन्छ भन्नेे देखेको छैन। कही-कहींका विद्यालयमा आए रे भन्ने सुनिन्छ, यहाँ भने कहिल्यै आएका छैनन्।'

विद्यालय निरीक्षक कक्षामा नपुग्दा पठनपाठनमा गुणस्तरीयता कायम गर्न मात्र होइन नियमित कक्षा सञ्चालनमा समेत समस्या हुने गरेको विद्यालयहरु बताउँछन्। विद्यालय व्यवस्थापन समिति र जिशिकाले पनि निरीक्षण, अनुगमन र सुपरीवेक्षण नगर्दा सामुदायिक विद्यालयहरुको पठनपाठन नियमित भए/नभएको थाहा हुन सकेको छैन। भट्टराई भन्छन् 'कक्षाकोठामा गएर विद्यालय निरीक्षकले कक्षा सुपरीवेक्षण गरे शिक्षकलाई पृष्ठपोषण प्राप्त हुने थियो। विद्यालयलाई पनि पठनपाठनमा नयाँ-नयाँ सीप र शिक्षण सिकाइमा सफलता मिल्ने थियो तर त्यो प्रयास वर्षौंदेखि देखिएन।'

जिल्लामा प्रवेशिका (एसएलसी) परीक्षाको नतिजा वर्षेनी घट्नुमा नियमित विद्यालयको अनुगमन हुन नसक्नु पनि कारण देखाइएको छ। तर, कार्यालय र अन्य सरोकारवालाले पनि विद्यालय निरीक्षकको कमजोरीबारे भने अहिलेसम्म समीक्षा गरेको नसुनिएको नेपाल शिक्षक युनियनले बताएको छ। एसएलसी नतिजामा सुधार नआउने कारण धेरै भएपनि विद्यालयको शैक्षिकस्तर सुधारमा महत्वपूर्ण भूमिका रहने विनिहरुको उपस्थितिबारे भने चासो नदेखिएको युनियनका अध्यक्ष पूर्ण गौतमले बताए। उनले भने 'विनिहरुले विद्यालयको निरीक्षण र सुपरीवेक्षण गर्दा शैक्षिक, भौतिकलगायत धेरै कुरामा पृष्ठपोषण हुने र सुधार आउने आशा गरिन्छ तर यहाँ भने वर्षौंदेखि विद्यालयको निरीक्षण नै नहुने समस्या छ।' उनले गाउँ-गाउँका विद्यालयमा गएर निरीक्षण गर्नुपर्ने विनिहरु सदरमुकामकै कार्यालयमा प्रशासकजस्तो भएर बस्ने गरेको बताए।

जिल्ला शिक्षा कार्यालयले भने विद्यालय निरीक्षकहरुले सधैं 'फिल्डमै खटिएको' हाँजिरी गरिरहेकाले उनीहरुले विद्यालयहरु निरीक्षण गरेको बताएको छ। कार्यालयका निमित्त प्रमुख गेहेन्द्र दाहालले निरीक्षकहरु गए-गएनन् भन्ने अनुगमन गर्न नसके पनि विनिहरुले विद्यालयहरु निरीक्षण गरेको जानकारी भने कार्यालयलाई दिइरहेको बताए। उनले भने 'विद्यालयहरु विनि आएन भन्छन् तर विनिहरु सधैं विद्यालयमा पुगेको जानकारी गराउँछन्। कार्यालयले अब चाहीं अनुगमन नै गर्नुपर्ने भएको छ।' अहिलेसम्म विनिहरु विद्यालयमा गए-नगएकोबारे कुनै अनुगमन गर्न नसकेको उनले बताए। कार्यालयमा अहिले सात जना विद्यालय निरीक्षक छन्। विद्यालयहरु धेरै भएकाले उनीहरु प्रत्येकमा पुग्न नसकेको दाहालले बताए। तर, फिल्डको काममा जानुपर्ने कतिपय निरीक्षकहरु भने त्यता नगई कार्यालयमै केन्द्रित रहेकाले विद्यालयहरुको आवश्यकताअनुसार निरीक्षण हुन नसकेको जिशिकाले स्वीकारेको छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता