सिँढी अझ चढ्न बाँकी छ

E-mail Print
(0 votes, average 0 out of 5)
प्रकाश तिमल्सिना, काठमाडौं, जेठ ४- एएफसी यु-२२ च्याम्पियनसिप छनोटको पहिलो खुट्किलो चढ्दा नेपालले दह्रोसँग टेकेको छ। तर एउटै खुट्किलो चढेर माथिल्लो तला पुगिन्न। पहिलो खेलमा शनिबार सार्क छिमिकी बंगलादेशलाई ४-१ ले हराएपछि नेपाली युवा टोलीको मनोबल स्वाभाविक रूपमा उच्च भएकै हुनुपर्छ। तथापि एउटा जितले अघिल्लो चरण नेपालको सपना पूरा गर्न सक्दैन। त्यसैले हरेक खेललाई जित्न जरुरी छ। सबै खुट्किला एक-एक गरी चढ्नुपर्छ। नेपाली टोलीका प्रशिक्षक कृष्ण थापा यो तर्कमा सहमत छन्।
'अहिले खुसी भइहाल्ने बेला भएको छैन। हाम्रो लक्ष्य भनेको दोस्रो चरण पुग्ने हो,' थापाले भने, 'बल्ल एउटा सिँढी चढियो अझै तीनवटा बाँकी छ। यो खुसीमा रम्ने होइन, दोस्रो खेलमा केन्द्रित हुने बेला हो।'

 
प्रशिक्षक थापाले दाबी गरे जस्तै उनको टोलीले सुरुआत गरेको छ। 'मैले सुरुदेखि नै भन्दै आएको छु। बंगलादेश र यमनलाई हराउने, उज्वेकिस्तान र जोर्डनलाई बराबरीमा रोक्ने,' उनले थपे, 'एउटा लक्ष्य पुरा भएको छ। अब यमनमाथिको जित हाम्रो लागि जरुरी छ।'
उनले यमनलाई हराउन सक्ने क्षमता टोलीमा रहेको दाबी गरे। 'जोर्डनसँगको खेललाई आधारमा मान्ने हो भने यमन मैले सोचे जति पनि पाइनँ। त्यसले गर्दा केही सहज होला भन्ने लागेको छ,' थापाले अगाडि भने,' त्यसो भन्दैमा हामी अन्य टोलीलाई हल्का रूपमा लिने पक्षमा छैनौं। जितका लागि खेल्छौं।' उद्घाटन खेलमा यमन १० खेलाडीमा सीमित भएको जोर्डनसँग ४-० ले पराजित भएको थियो।
बंगलादेशीविरुद्ध पहिलो गोल गरेका कप्तान भरत खवास टोली दोस्रो जितका लागि आशावादी रहेको बताए। 'पहिलो खेलको जितले टिमको मनोबल उच्च छ। त्यसले यमनसँगको खेलमा फाइदा पुग्न सक्छ,' भरतले भने,' यमनसँगको खेललाई लिएर सबै फिट, उत्साहित र तयार छन्। हामी हरेक खेल जित्दै अघि बढ्न चाहन्छौं , त्यसको लागि पुरा प्रयास गर्नेछौं।'
उमेर समूहका अन्य प्रतियोगितामा जस्तै यु-२२ मा पनि एन्फा एकेडेमीबाट उत्पादित खेलाडी बाहुल्य छ। बंगलादेशसँगको प्लेइङ ११ सबै एकेडेमीकै उत्पादन हुन् र ती मध्ये ९ ले राष्ट्रिय टोलीको समेत अनुभव बटुलिसकेका छन्। त्यसकै कारण हुनसक्छ, खेलाडीमा समन्वय राम्रै देखियो। तर कृष्ण थापा त्यसलाई पर्याप्त मान्दैनन्। 'अझै मार्किङ र विदाउट बलमा सुधार गर्न आवश्यक देखिन्छ,' कमजोरी खोतल्दै उनले भने, 'आउने खेलमा त्यसमा ध्यान दिन मैले केटाहरूलाई भनेको छु।'
थापा यमनविरुद्धको खेलमा 'विनिङ कम्बिनेसन' भत्काउने पक्षमा छैनन्। 'सम्भवतः प्लेइङ ११ पुरानै हुन्छ। तर हामीसँग बेन्चमा पनि त्यत्तिकै क्षमतावान खेलाडी छन्,' थापाले गर्व साथ भने। २३ सदस्यीय टोलीका बढीभन्दा बढीलाई एक्सपोजर दिने योजना बनाएका थापाले खेलको अवस्था हेरेर खेलाडी परिवर्तन गरिने बताए। 'बंगालदेशसँग पहिलो हाफमै गोलअन्तर बढेको भए म मिडफिल्डमा खेलाडी फेर्ने सोचमा थिएँ। तर हामीले १ गोल मात्रै गर्न सक्यो। त्यसैले जोखिम लिइनँ,' उनले भने, 'यमनसँग खेलको अवस्था हेरेर सकेसम्म नयाँ खेलाडीलाई पनि मौका दिन्छु। हामीसँग मिडफिल्ड र रक्षापंक्तिमा पर्याप्त विकल्प छ।'
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता