जिल्लामा ३२ निजी तथा ५४ सामुदायिक उच्चमावि (कलेज) रहेको परिषद् क्षेत्रीय कार्यालय विराटनगरले जनाएको छ। मोरङ जिल्लामा अहिलेसम्म यस वर्ष एसएलसी उत्तीर्ण भएका करिब १० हजार विद्यार्थीले उक्त उच्चमाविमा भर्नाका लागि प्रवेश परीक्षाको शुल्क बुझाएका छन्। ती विद्यार्थीले उक्त शुल्कबापत रु ५० लाखभन्दा बढी रकम कलेजमा बुझाइसकिएको परिषद्को अनुमान छ।
परिषद्का प्रवक्ता नारायणप्रसाद कोइरालाले लिखितरुपमा गैरकानुनी रुपले रकम लिएको उजुरी परेपछि मोरङका निजी क्षेत्रका उच्चमावि (कलेज)माथि कारबाही एवम् छानबिन प्रक्रिया अगाडि बढाइएको हो। उनले विद्यार्थी एवम् अभिभावकलाई प्रवेश परीक्षाबापत कुनै किसिमको शुल्क नदिन आग्रहसमेत गरे। विद्यार्थीलाई भ्रममा पारी आकर्षण गर्न अनावश्यक विज्ञापन गर्नेलाई समेत छानबिन गरी कारबाही गरिने उनले बताए।
अरनिको उच्चमावि विराटनगरका मधु अधिकारीले परीक्षा फाराम छपाइ तथा परीक्षा पुस्तिका र जनशक्ति खर्चबापत उक्त रकम लिइएको र गैरकानुनी नभएको दाबी गरे। रासस
