Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Dec 11th

सेती नदीले धार फेर्‍यो, हेम्जाका ९ घर विस्थापित

E-mail Print
(0 votes, average 0 out of 5)
मनोज अधिकारी, पोखरा, असार ५- रातभरिको वर्षापछि सेती नदीमा आएको बाढीले हेम्जाको म्याम्दीमा धार परिवर्तन गरि सिंगो बस्तीलाई नै खतरामा पारेको छ। हेम्जा गाविस-१ को याम्दीमा धार बदलेर आएको बढीले सोमबार बिहान बस्ती छेउमा पहिरो खसाल्दा ९ घर विस्थापित भएका छन्। ती घरमा केही पसल र रेष्टुरेन्ट समेत थिए।
 

बाढीले मर्दीखोला-पोखरा खानेपानी आयोजनाको नयाँ पाइप लाइन पनि बगाएको छ। नदी ठोक्किएको भागमा करिब ६० मिटर उचाईदेखि पहिरो खस्दा पोखरा-बाग्लुङ राजमार्ग समेत जोखिममा परेको छ। पहिरो करिब १५ मिटर नजिकै आईपुगेकाले तत्काल थप भू-क्षय रोकेर राजमार्ग जोगाउनुपर्ने अवस्था छ। बिहान ४ बजेतिर भीषण बाढी बस्तीतर्फ सोझिएर भित्तामा ठोक्किएपछि पोखरा-बाग्लुङ राजमार्ग छेउका घरहरु नै थर्कने गरि पहिरो खसेको स्थानीयले बताए। दुई घरका जगै नजिकबाट करेसाबारीसहित पहिरो खसेपछि स्थानीयबासीको भागाभाग भएको थियो। पहिराले घरै हल्लाएपछि आत्तिएर भाग्ने क्रममा फाल हाल्दा लक्ष्मीबहादुर लालचनकी १६ वर्षीया छोरा उषा लालचन घाइते भएकी छिन्। हात भाँच्चिएको र टाउकोमा चोट लागेपछि उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

पहिराले खम्बसिंह गुरुङ, जानमाया पौडेल, लक्ष्मीबहादुर लालचन, प्रमिला भण्डारी, कविता तिमिल्सीना, खडक सुनार, धनबहादुर सार्की, हिना कुमारी गुरुङ र पार्वती चपाईको परिवार विस्थापित भएको प्रहरीले जनाएको छ। उनीहरु नजिकैको विष्णुपादुका गाउँमा डेरा खोजेर सरेका छन्। केहीले आफन्तको घरमा शरण लिएका छन्। उक्त स्थानमा डेरा गरि रेष्टुरेन्ट तथा पसल सञ्चालन गर्ने राजु दायव र गणेश श्रेष्ठ पनि विस्थापित भए। बाढीले सेतीको ढुंगा बालुवा ओसार्ने सन्तबहादुर गुरुङको ग.१ ख ३७१० नम्बरको ट्रक बाढीको छ। नदी किनारमा राखिएको उक्त ट्रक बाढीले बगाएर करिब दुई सय मिटर तल पुर्‍याएको वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए।

'रातभरि पानी परेपछि बिहानपख ठूलो बाढी आएको थियो' विस्थापित प्रमिला भण्डारीले नागरिकसँग भनिन्,'ठूलो बाढी गाउँतिर सोझिएपछि खतरा हुन सक्छ भनेर बिहानैदेखि सामान अन्यत्र सार्दै थियौं, नभन्दै बिहान ५ बजेतिर गाउँ थर्कने गरि घरपछाडि ठूलो पहिरो गयो।'

कास्की धम्पुस स्थायी घर भएकी उनी विगत पाँच वर्षअघि ११ लाख रुपैयाँ उक्त घर किनेर बसाई सरेकी थिइन्। उनलाई पहिरोको खतरामा परेको घरमा फर्कनै नसकिने गरि गरि विस्थापित भएपछि अब कहाँ जाने भन्ने चिन्ताले सताएको छ। उनको जस्तै चिन्ता कविता तिमल्सिनाको पनि छ। बिहानीपख ठूलो बाढी आएपछि गाउँमा खैलाबैला भएकाले उनले छिटै उठेर सुरक्षित स्थलमा रहेको माइतीघरमा सामान सारेको बताइन्। विस्थापित परिवारले बिहानभर लगाएर सकेजति सामान अन्यत्र सारेका छन्।

'घर पहिरोको मुखमा पुगेर ढल्ने अवस्थामा छ' उनले भनिन्,'अब ज्यानको माया मारेर त्यही घरमा बस्न जान सकिंदैन, अन्त कहाँ जाने केही थाहा छैन।'

सेतीको गोस्ते घाटमा ढुंगाले तारजाली भरेर नदीलाई दक्षिणतर्फ सोझ्याउँदा नदीले धार परिवर्तन गरि यस्तो घटना भएको स्थानीयले बताए। स्थानीय विष्णुपादुका माविका शिक्षक मिनबहादुर थापाले घाटलाई जोगाउन तारजाली भरेर नदीको पुरानो दिसा थुनेकाले अहिले धार परिवर्तन भएको बताए। 'त्यो जाली फाडेर नदीलाई पुरानै धारमा बग्न नदिने हो भने यसले अझ ठूलो क्षति पुर्‍याउँछ' उनले भने,'जिविसले नदीको ढुंगा-बालुवा उत्खनन गर्न टेन्डर आव्हान गरि लाखौं कमाउँछ तर यहाँको भूसंरक्षण र नदी नियन्त्रणमा कुनै चासो दिएको छैन।'

कास्कीका स्थानीय विकास अधिकारी ईश्वरराज पौडेलले गोस्ते घाटको तारजालीका कारण नदी दिसा परिवर्तन गरेर गाउँ र राजमार्गतर्फ सोझिएकाले खतरा बढेको बताए। उनले तत्काल नदीलाई पुरानै धारमा फर्काउन सोमबारबाटै डोजर परिचालन गरिए पनि स्थानीयले अवरोध पुर्‍याएको जानकारी दिए।

'नदीले पुरानै धारमा फर्काउन लामाचौरतर्फबाट नदीमा डोजर पुर्‍याएर पनि अर्कातर्फका बासिन्दाले काम गर्न दिएका छैनन्' उनले भने,'यसपटक सेतीले एकपछि अर्को दुःख दिइरहेको । यसमा स्थानीयले पनि सहयोग गर्नुपर्छ।'

सोमबारको बाढीले करिब दुई सय मिटर पाइप बगाएपछि पोखरामा खानेपानी आपूर्ति रोकिएको छ। गत बैशाख २३ गते सेतीको भीषण बाढीले त्यहाँभन्दा केहीमाथि यसैगरी पाइप र ट्रस ब्रिज बगाउँदा पोखरामा खानेपानीको आधा आपूर्ति घट्न गई अभाव हुँदै आएको छ। सेती नदीको किनारै-किनार भएर ढुंगा-बालुवा ओसार्ने र सुकुम्बासी बस्तीसम्म पुग्ने करिब एक सय मिटर सडक समेत बाढीले बगाएको छ।

सेतीको किनारमै जोखिम मोलेर बसेका गोस्तेका ६० परिवार सुकुम्बासी बाढीको उच्च जोखिममा छन्। उनीहरुलाई प्रहरी र प्रशासनले सुरक्षितस्थलतर्फ हटाउने प्रयास गरेको छैन। जुनसुकै बेला बाढीले बगाउने खतरामा रहे पनि उनीहरु पनि अन्यत्र जान तयार छैनन्। सेतीको ढुंगा, बालुवामा आश्रित ती सुकुम्बासी पनि त्यहाँबाट अन्यत्र हट्ने मनस्थितिमा छैनन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता