Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 19th

विभाजनले कतै खुशी, कतै निरासा

E-mail Print
(1 vote, average 5.00 out of 5)
बसन्त बस्नेत, काठमाडौं, असार ६- प्रज्ञा प्रतिष्ठान कमलादीमा उपाध्यक्ष मोहन वैद्यको नेतृत्वमा एकीकृत माओवादी फुटेर नयाँ पार्टी घोषणा हुँदै गर्दा कुपन्डोलस्थित नेवाः राज्यसमिति कार्यालयमा भेटिएका कोही कार्यकर्ता खुसी थिए, कोही निराश।

नेता कार्यकर्ता कमलादी गएकाले कार्यालय सुनसान थियो। तेस्रो तलाको ढोका बाहिर राखिएका एक दर्जन जति नेम प्लेटमा हिसिला यमी, नारायण दाहाल, ओनसरी घर्ती लगायत थुप्रै नामका अघिल्तिर 'बाहिर' संकेत थियो। केवल पोलिट्ब्युरो सदस्य पम्फा भुसालको नेम प्लेटमा 'भित्र' थियो।

कलाकारसहित बसेका वैद्यपक्षीय कार्यकर्ता 'पत्रकारसँग कुरा गर्न पार्टीलाई सोध्न पर्ने' भन्दै पन्छिए। फोटो खिचाउन त झन् मान्ने कुरै भएन। 'आवश्यक परे तपाईं हाम्रा इन्चार्ज कमरेडलाई भेट्न सक्नुहुन्छ,' उनीहरू भनिरहेका थिए।

अलि पर बसिरहेका कार्यकर्ता भने फोटो नखिचाउने शर्तमा कुरा गर्न तयार भए। पार्टी फुटेकामा उनीहरूमा चिन्ता त देखिन्थ्यो तर असन्तुष्टि धेरै भएको पार्टीमा बस्न गाह्रो भइसकेको ओकल्न भने हिच्किचाएनन्।

'पार्टी फुटेकोमा एक किसिमले राम्रो पनि लागिराखेको छ,' माओवादी काभ्रेकी जिल्ला समिति सदस्य जेनी लामाले नागरिकसँग भनिन्, 'तर कत्ति वर्षसम्म एउटै चुलोमा भात पकाएर खाएका साथीहरूसँग छुटिँदा नराम्रो लाग्दो नै रहेछ।'

पछिल्ला दिनमा माओवादी नेतृत्व नाजुक भइसकेको उनले टिप्पणी गरिन्। फरक विचारको सम्मान गरिने भनिए पनि आचरण त्यस अनुरुप नपाएको उनले अनुभूति थियो। 'एउटै कमिटीको कमरेडले शत्रुले झैं गर्दा दुःख लाग्दोरहेछ,' उनले भनिन्, 'मन नलागी नलागी गन्जागोलमा बस्नुभन्दा छुटेर बसेकै बेस भो।'

एसएलसी पास नै नगरी युद्धकालमा होलटाइमर भएकी २४ वर्षीय जेनीले त्यसपछि पनि पढाइ अगाडि बढाउन नभ्याएको बताइन्। नयाँ पार्टीमा अझै व्यस्त हुने दिन आएको उनको बुझाइ छ।

सिन्धुपाल्चोकका २४ वर्षीय अमिट योन्जन माओवादीको साँस्कृतिक समूहका कलाकार हुन्। सामना परिवारका सदस्य उनलाई पनि पार्टी फुटेकामा दुःखभन्दा खुसी नै बढी छ।

'यत्रो वर्ष नाच्दै गाउँदै हिँडियो, सँगैका साथीहरूसँग छुट्नुपरेकोमा कता कता नरमाइलो त लागिहाल्छ नि,' उनले आफ्नो भोगाइ सुनाए, 'तर जुन उद्देश्यका लागि हिजो लडियो, शान्ति प्रक्रियामा आएपछि नेतृत्वले त्यसलाई चटक्कै माया मार्‍यो।'

१० वर्षसम्म जनयुद्धको सफल नेतृत्व गरेका पुष्पकमल दाहाल शान्ति प्रक्रियामा आएपछि बिग्रेको अमिटको आरोप छ। तर नेतृत्व बिग्रेको भन्ठान्ने उनी अचम्भित चाहिँ छैनन्।

'चीनको कम्युनिस्ट पार्टीका संस्थापक छाङ तु स्यु माओ त्सेतुङभन्दा वरिष्ठ थिए,' अमिटले फुटको विश्व इतिहास कोट्याए, 'विश्वका धेरै नेता सुरुमा इमान्दार थिए, पछि बिग्रेको हुनाले फुट आयो।'

यसो भन्दैमा दाहालको विगत खत्तम थियो भन्ने मान्न तयार छैनन् अमिट। 'जनयुद्धताका प्रचण्ड ठिक बाटामा हुनुहुन्थ्यो, उहाँका विचार सही थिए,' उनले प्रष्ट्याए।

सिन्धुपाल्चोककै २३ वषीया कलाकार रजनी थामीलाई मोहन वैद्यका भावनाहरूको सुनुवाइ नभएकाले पार्टी फुटेको हो भन्ने परेको छ। पार्टी फुट्दा उनी दुःखी छैनन्। उनी पार्टी फुटेको सकार्न पनि तयार छैनन्। 'कहाँ फुटेको हुनु, यो त नयाँ बनेको पो त,' उनले जिम्मेवारीबोध गरेझैं अर्थ्याइन्, 'ढुलमुल गर्दै बस्नुभन्दा नयाँ ढंगले अगाडि बढेकै राम्रोे।'

युद्धमा जानुअघि ८ कक्षासम्म पढेकी रजनीले शान्ति प्रक्रिया सुरु भएपछि उच्च मावि तहसम्म पढिन्। उनको अधिकांश समय पार्टी काम र साँस्कृतिक क्रियाकलापमै बित्छ। फेरि युद्धमा जानुपरे जाने उनी जिकिर गर्छिन्।

मंगलबारको पत्रकार सम्मेलनमा वैद्यले पार्टी एकताको सम्भावना औंल्याए पनि रजनीलाई तत्काल एकता होला भन्ने लाग्दैन। 'प्रचण्ड मुक्तिको बाटोमा फेरि हिँड्न तयार हुनु भो भने एकता हुन सक्ला,' उनले भनिन्।

दाहालको पार्टी नाम 'प्रचण्ड' र प्रचण्डपथ शब्द जोडिएका थुप्रै गीतमा नाचे, गाए उनीहरूले। त्यसो गरेकामा पछुतो नलागेको त्यहाँ भेटिएका सबै कार्यकर्ता र कलाकारले जिकिर गरे।

'प्रचण्ड र बाबुरामसँग लास्टै रिस उठेको छ मलाई,' एक कार्यकर्ताले आवाजको गति अझै बढाए, 'बाबुरामको त त्यो बेला देखि नै विश्वास नलागेको हो हामीलाई, तैपनि उपाध्यक्ष भएपछि के गर्ने, मान्नैपर्दोरहेछ।' दाहाललाई क्रान्तिदेखि पर धकेल्न भट्टराईको हात रहेको उनको आरोप थियो। 'बाबुरामको त उही कुरामात्रै हो, व्यवहार अर्कै थियो पहिलेदेखि नै,' उनले भने।

पार्टी एक भए हुन्थ्यो भन्ने कामना चाहिँ प्रत्येक कार्यकर्तामा थियो। तर त्यसको आधार नयाँ हुनुपर्ने जिकिर गर्न उनीहरूले छाडेनन्।

अमिटलाई पनि दाहाल र वैद्य फेरि मिले हुन्थ्यो भन्ने लाग्छ। तर तत्काल त्यसको सम्भावना देख्दैनन् उनी। 'एकताका लागि आधार चाहियो नि, होइन?' उनले भने, 'चुनवाङदेखि नै पार्टीको लाइनबारे असहमति थियो, यो आजको कुरा होइन।'

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता