एमालेले जनजाति नेतालाई प्रस्टीकरण सोध्ने (भेलाको पूर्ण पाठसहित)

E-mail Print
(0 votes, average 0 out of 5)
मणि दाहाल, काठमाडौं, असार ६ - नेकपा एमालेले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा जनजाति नेता अनुपस्थित रहेकोबारे पार्टी अध्यक्ष झलनाथ खनालले प्रस्टिकरण सोध्ने बताएका छन्। 'किन नआउनुभएको कम्रेड भनेर सोध्नेछौं,' भेलाबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेललनमा उनले भने।


खनालले विशेष समयहरुमा पार्टीमा समस्या देखिने गरेको बताउँदै त्यसलाई पहिचान गरेर समाधान गर्नुपर्ने बताए। उनले जनजाति नेताहरु पार्टीबाट फुटेर गइहाल्ने अवस्था नरहेको बताउँदै भने, 'जनजाति नेताहरुसँग हाम्रो कुराकानी भइरहेको छ।'

दुई दिने कार्यकर्ता भेलाले १८ बुँदे प्रस्ताव पारित गरेको जानकारी पत्रकार सम्मेलनमा दिइयो।


भेलाको निर्णयको पूर्ण पाठ

भेलाले आगामी कामका योजना निम्नबमोजिम पारित गरेको छ :

 आगामी श्रावण १५ सम्म पाँचवटै विकास क्षेत्र, सबै जिल्ला र निर्वाचन क्षेत्र स्तरीय कार्यकर्ता भेला र सबै तहका पार्टी कमिटी र जनसङ्गठनका बैठकको आयोजना गर्ने। उक्त भेलामा संविधानसभा विघटनपछिको स्थिति, संविधान निर्माण र राज्यको पुनसंरचना संवन्धी पार्टीको प्रस्ताव तथा सर्वसत्तावाद विरुद्धको संयुक्त संघर्षका सन्दर्भमा पार्टीले अघि सारेको नीति, प्रस्ताव र योजनाका वारेमा छलफल चलाउने।

 सर्वसत्तावाद विरुद्धको आन्दोलनका लागि व्यापक लोकतान्त्रिक एकतामा आवद्ध राजनीतिक दलहरुको सहभागितामा जिल्ला स्तरिय संयन्त्र निर्माण गर्ने र योजनावद्ध रुपमा केन्द्रीय कार्यक्रमसंग संयोजन मिलाउँदै आन्दोलनका संयुक्त कार्यक्रमहरु अघि बढाउने।

 राष्ट्रिय प्रतिनिधि परिषदको वैठकबाट पारित पार्टीको आन्तरिक एकता सुदृढिकरण प्रस्ताव र पार्टीको वैधानिक व्यवस्थाका आधारमा स्थानिय तहका अन्तरविरोधहरुको समाधान गर्ने र पार्टीलाई एकतावद्ध बनाउने।

 पार्टी विरुद्ध फैलाइएको आरोप र भ्रमहरुको निवारणको लागि योजनावद्ध पहल अघि बढाउने। यस सन्दर्भमा आषाढ मसान्तसम्ममा पार्टी केन्द्रबाट विशेष सामग्री प्रकाशित गरिने छ।

 सामाजिक सद्भाव र राष्ट्रिय एकतामा प्रतिकूल असर पुग्ने खालका गतिविधिहरु बढ्दै गइरहेको वर्तमान सन्दर्भमा एकता र सद्भावको पक्षमा प्रत्येक जिल्ला कमिटी, जनसङ्गठन लगायतले जागरण अभियान संचालन गर्ने। त्यस्ता कार्यक्रमहरु सबै वर्ग, क्षेत्र र समुदायको सहभागितामा सम्पन्न गर्ने कुरामा अग्रसरता लिने।

 संक्रमणकाल लम्विदै जाँदा उत्पीडित वर्ग, समुदायका समस्या र सामाजिक विभेदका विषयहरु ओझेलमा पर्दै गएको यथार्थतालाई मनन गर्दै स्थानीय कमिटीहरुको अग्रसरतामा वर्गीय उत्पीडन, सामाजिक विभेद, कुप्रथा र परम्पराका विरुद्ध जागरण अभियान संचालन गर्ने।

 काम चलाउ सरकारका स्वेच्छाचारी, असंवैधानिक काम र क्रियाकलाप तथा भ्रष्टआचरणका विरुद्ध भण्डाफोर अभियान संचालन गर्ने।

 एमाओवादीको उग्रवामपन्थ र सर्वसत्तावादका विरुद्धमा विरोध र भण्डाफोर अभियान संचालन गर्ने। उनीहरुका गलत काम र क्रियाकलापका कारणले सामाजिक सद्भाव र राष्ट्रिय एकतामा प्रतिकूल असर परिरहेको यथार्थप्रति जनसाधारणलाई सचेत र जागरुक बनाउने।

 वर्तमान असंवैधानिक सरकारका मन्त्रीहरू सहभागी हुने कार्यक्रमहरू वहिस्कार गर्ने।

भेलाको अन्त्यमा पार्टी सचिवालय सचिव कमरेड विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत १८ सूत्रीय समसामयिक प्रस्तावहरु भेलाले गड्गडाहट तालीका साथ पारित गर्‍यो। र, एमाओवादी सर्वसत्तावादका विरुद्ध एकताबद्ध भई आन्दोलनको आँधीबेहरी सृष्टि गर्ने संकल्प गरी भेला समापन भयो।

पारित प्रस्तावहरु यसैसाथ संलग्न छन् :


क) राजनीतिक प्रस्ताव :

१ यो भेला, वर्तमान राजनीतिक सङ्कटको मुख्य कारकको रूपमा रहेको एकीकृत माओवादीको सर्वसत्तावाद रहेको ठहर गर्दछ। उसका षड्यन्त्रकारी योजना र वास्तविकतालाई ढाकछोप गर्न उसले गरिरहेका कुप्रचारहरूको खण्डन, प्रतिवाद गर्दै आम जनसमुदायलाई त्यसको वास्तविकता अवगत गराउने सङ्कल्प गर्दछ।

२ यो भेला, राजनीतिक सहमतिका आधारमा संयुक्त सरकार निर्माण गर्दै राजनीतिक र संवैधानिक सङ्कटको निकास खोज्न, जनआन्दोलनबाट प्राप्त उपलव्धिको रक्षा गर्न र जनआकाङ्क्षाअनुसार संविधान निर्माणको प्रक्रिया अविलम्व अगाडि बढाउन सम्बद्ध सबै पक्षलाई आह्वान गर्दछ।

३ यो भेला, लोकतान्त्रिक राष्ट्रिय एकतामा आवद्ध हुन लोकतन्त्र, शान्ति, अग्रगमन, सामाजिक सद्भाव एवं राष्ट्रिय एकताका पक्षधर सबै राजनीतिक शक्तिहरूलाई हार्दिक आह्वान गर्दछ। सर्वसत्तावाद विरोधी आन्दोलनलाई अझ सशक्त बनाउन अपिल गर्दछ। साथै, एकीकृत नेकपा (माओवादी) लाई यस मुलुकलाई थप धु्र्रवीकरण एवं मुठभेडको अवस्थामा पुग्न नदिन तथा बिथोलिएको सहमतिको प्रक्रियालाई सुचारु गर्दै सहमतिको सरकार गठनका निम्ति तयार हुन आह्वान गर्दछ।

४ यो भेला, नेकपा (एमाले) का विरुद्ध सङ्घीयता र पहिचान विरोधी भनेर प्रायोजित र पूर्वाग्रही ढङ्गले गरिंदै आएको कुप्रचारलाई अस्वीकार र भ्रर्त्सना गर्दछ। बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता अनुरूप, पहिचान र सामर्थ्यको सन्तुलनमा आधारित नेपाली विशेषता सहितको सङ्घीय ढाँचाको पक्षमा दृढता व्यक्त गर्दछ। पहिचानका नाममा बढाउन थालिएको जातीय विद्वेष र सामाजिक तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दछ। सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिने सङ्कल्न गर्दछ ।

५ यो भेला लोकतान्त्रिक गणतन्त्रको रक्षा, शान्ति प्रक्रियाको पूर्णता, राज्यको लोकतान्त्रिक अग्रगामी पुनर्संरचना, सामाजिक न्याय सहितको लोकतन्त्रको प्रत्याभूति, सामाजिक एकता र जातीय सद्भावको सुदृढीकरण एवं राष्ट्रिय हितको रक्षा यतिबेलाका मुख्य वैचारिक-राजनीतिक प्रश्न हुन् । सबल, सशक्त र एकतावद्ध पार्टी एवं जनताको वहुदलीय जनवादको स्पष्ट वैचारिक कार्यदिशाका आधारमा मात्रै यी कामहरू संभव छन् भन्ने मान्यतामा दृढ रहँदै पार्टीलाई एकतावद्ध र सुदृढ गर्दै मुख्य वैचारिक प्रश्नमा सम्पूर्ण पार्टी पंक्तिको ध्यान केन्द्रित गर्ने सङ्कल्प गर्दछ।

६ यो भेला, विगतका कामहरुको वस्तुनिष्ठ र गंभीर समीक्षाले मात्रै हामीलाई नयाँ चुनौतीको सामना गर्न सक्षम तुल्याउनेछ भन्ने निष्कर्सका साथ उपयुक्त विधि र प्रकृयाद्वारा यी काम सम्पन्न गरेर समीक्षा प्रतिवेदन सहित यथासक्य चाँडो सिङ्गो पार्टी पङ््क्ति समक्ष उपस्थित हुने र त्यसका आधारमा सिंगो पार्टीलाई एकतावद्ध, सशक्त र प्रभावकारी बनाउने सङ्कल्प गर्दछ।

७ यो भेला, पार्टीको आन्तरिक एकता सम्बन्धी राष्ट्रिय प्रतिनिधि परिषदको वैठकले लिएका निर्णयका आधारमा वर्तमान चुनौतीको सामना गर्न पार्टीमा अझ उन्नत स्तरको एकता कायम गर्दै अगाडि बढ्ने सङ्कल्प गर्दछ।

८ यो भेला, यस राष्ट्रिय कार्यकर्ता भेलाका सुझाव सहित स्वीकृत गरेका कार्यक्रम र कार्ययोजनाका आधारमा जनआन्दोलनको दिशामा अघि वढ्न र त्यसका माध्यमवाट माओवादी सर्वसत्तावादलाई परास्त गर्दै लोकतन्त्रलाई माओवादी चङ्गुलबाट मुक्त गर्ने र मुलुकलाई सहमतिको दिशामा फर्काउने सङ्कल्प गर्दछ।

 

ख) सामयिक प्रस्ताव :

९ यो भेला, आफैले गरेको कथित निर्वाचनको घोषणा र निर्वाचन आयोगले जारी गरेको आचार संहिताको समेत धज्जी उडाउँदै स्वेच्छाचारी ढंगले शासन चलाउन खोज्ने वर्तमान सरकारको सर्वसत्तावादी कुकृत्यको भर्त्सना गर्दछ। साथै, निर्वाचन आचार संहिता जारी भइसकेको अवस्थामा स्वेच्छाचारी ढंगले प्रहरी अधिकृतहरू तथा कर्मचारीहरूको व्यापक सरुवा गर्ने सरकारको गैरजिम्मेवार, विधिको शासन विरुद्धको स्वेच्छाचारी कदमको निन्दा, भर्त्सना र अस्वीकार गर्दछ। ती अनाधिकृत निर्णयहरूलाई अविलम्व खारेज गर्न माग गर्दछ।

१० राजनीतिक दलहरुको व्यापक विरोध हुँदाहुँदै देशलाई सङ्कटग्रस्त तुल्याएर जम्बो टोलीका साथ ब्राजिलको भ्रमणमा जाने प्रधानमन्त्री बाबुराम भट्टराईको स्वेच्छाचारी र गैरजिम्मेवार कार्यको यो भेला भर्त्सना गर्दछ। शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रिएका आन्दोलनकारीहरूमाथि काम चलाउ सरकारको आदेशमा सुरक्षा निकायबाट गरिएको सांघातिक आक्रमणको यो भेला विरोध र निन्दा गर्दछ। उक्त आक्रमणमा परी घाईते भएका आन्दोलकारीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ।

११ नेकपा (एमाले) समेतका राजनीतिक दलहरूद्वारा खुल्लामञ्चमा आयोजित जेठ २६ गतेको विरोधसभाको प्रत्यक्ष प्रसारण गरेको आरोपमा सरकारले नेपाल टेलिभिजनका का.मु. महाप्रबन्धक दीपकमणि धिताललाई पदमुक्त गरेको घटनाप्रति नेकपा (एमाले) को गंभीर ध्यानाकर्षण भएको छ। सरकारको यस्तो तानाशाही कदम संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र प्रेस विरोधी कदम हो। यो भेला सरकारको उक्त तानशाही कार्यको घोर भर्त्सना गर्दछ र यस्तो स्वेच्छाचारी र सर्वसत्तावादी निर्णय तत्काल खारेज गर्न माग गर्दछ।

१२ निर्वाचन आचार संहिता तथा लोकतान्त्रिक प्रणालीका आम मान्यता विपरीत कामचलाउ सरकारले कमिसनको प्रलोभनमा हचुवाको भरमा ठूला र दुरगामी महत्वका आयोजनाहरु अघि वढाउने, विधि र प्रक्रिया मिचेर ठेक्का-पट्टा स्विकृतगर्ने तथा मनपरी किसिमले भ्रष्टाचारजन्य नयाँ-नयाँ निर्णयगर्ने कार्यको यो भेला तीब्र विरोध र निन्दा गर्दछ। ती आचार संहिता विपरीतका र भ्रष्टाचारजन्य क्रियाकलाप विरुद्ध कार्वाहीको प्रकृया अघि वढाउन सम्वन्धित निकायको ध्यानकर्षण गर्दछ।

१३ सङ्घीय इकाइहरूको नामाकरण लगायतका केही प्रश्नहरूमा असन्तुष्टि जनाउँदै केही कमरेडहरु विगत केही समयदेखि औपचारिक जानकारी विना पार्टीका नियमित बैठक, भेला र कार्यक्रमहरूमा अनुपस्थित रहँदै आउनु भएको छ। यो भेला, आफ्ना मतहरूलाई विधिसम्मत ढङ्गले पार्टीमा राख्न, अन्तरपार्टी छलफलको प्रकृयामा सहभागी वन्न, समस्याको लोकतान्त्रिक समाधान खोज्न र मुलुकका सामु उपस्थित भइरहेको बहुआयामिक सङ्कटको समाधानमा एकतावद्ध भएर जिम्मेवार भूमिका खेल्न उहाँहरुलाई हार्दिक आह्वान गर्दछ।

१४ नेपाली जनता विच शताव्दियौ देखि कायम रहदै आएको सामाजिक सद्भाव र एकतालाई विथोल्ने, अस्थीरता र अन्योल सिर्जना गर्ने, नेपालको स्वाधीनता र अखण्डतामा आँच पुग्ने किसिमका क्रियाकलापहरुलाई वढवादिने गरी अभिव्यक्ति दिने तथा त्यस्ता किसिमका क्रियाकलापमा संलग्न रहने कुनै पनि विदेशीहरुका अवान्छित गतिविधिप्रति यो भेला गंभीर आपत्ति गर्दछ। त्यस प्रकारका क्रियाकलाप नियन्त्रणगर्न सम्वन्धित निकायको ध्यानाकर्षण गर्दछ।

१५ भारतका पूर्वोत्तर राज्यहरुमा नेपाली भाषाभाषीहरु माथि विगत लामो समय देखि हत्या, हिंसा र उत्पीडनका घटनाहरु हुदै आएका छन्। पछिल्लो समयमा स्थानीय समुदायको अधिकार स्थापितगर्ने नाममा ती राज्यहरुमा वसोवासगर्ने नेपालीभाषीहरुलाई विस्थापनगर्ने कार्यलाई तिव्र वनाइएको छ। यो भेला,पूर्वोत्तर भारतमा नेपाली भाषिहरु माथि भइरहेको अमानविय व्यवहारप्रति गहिरो चिन्ता प्रकट गर्दै समस्याको समाधानका लागि प्रभावकारी भूमिका खेल्न नेपाल सरकारको ध्यानाकर्षण गर्दछ।

१६ संविधानसभाको विघटनसंगै निर्वाचित जनप्रतिनिधि निकाय नभएको वर्तमान स्थितिमा अन्तरिम संविधानको धारा ४३ को मर्म र भावनालाई वेवास्तागर्दै राजनीतिक दलहरुको सहमती विना अध्यादेश मार्फत शासन संचालनगर्ने सर्वसत्तावादी र निरंकुश प्रवृत्तिको यो भेला, घोर निन्दा तथा भर्त्सना गर्दछ। राजनीतिक सहमति विना जारीहुने अध्यादेशप्रति नेकपा(एमाले)को सहमति नरहने कुरा स्पष्ट गर्दछ।

१७ हाम्रो देशको ७६ प्रतिशतभन्दा बढी जनताको जिविकोपार्जनको आधार कृषि क्षेत्र रहेको र ६६ प्रतिशतभन्दा बढी जनताको रोजगारीको माध्यम कृषि क्षेत्र बनेको छ। यस क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा ३२ प्रतिशतभन्दा बढी योगदान पुर्‍याएको तथ्य सबैमा विदितै छ।

तर नेपाली किसानहरुले खेतिपातीमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरिरहेका बेला रासायनिक मलको अभावमा किसानहरु आक्रान्त बन्नुपरेको छ। यस स्थितिप्रति हाम्रो पार्टीको गंभीर ध्यानाकर्षण भएको छ। समयमै रासायनिक मलको सुलभ आपूर्ति गर्नु, आवश्यक बिउ-बिजन, सिंचाई र विद्युतको उपलब्धतासहित कृषकहरुको उचित संरक्षण गर्नु सरकारको जिम्मेवारी हो। तसर्थ, यो भेला समयमै रासायनिक मलको अविलम्ब सहज व्यवस्था गरी किसानलाई आवश्यक राहत उपलब्ध गराउन सरकारसँग जोडदार माग गर्दछ।

१८ राष्ट्रिय कार्यकर्ता भेलाको सफल आयोजनाका लागि व्यवस्थापनको जिम्मेवारी निर्वाह गरेकोमा यो भेला, उपत्यका विशेष समन्वय कमिटीलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ। यसरी नै यस भेलाको सफलताका लागि आ आफ्नो ठाउवाट सहयोग पुर्याउने केन्द्रिय कार्यालयको सचिवालय टिम, वहसनोट कमिटी, स्वयम्सेवक कमरेडहरु, जनसांस्कृतिक कलाकारहरु लगायत सवैलाई धन्यवाद ज्ञापन गर्दछ। साथै यस महत्वपूर्ण कार्यक्रमका लागि सभागृह उपलव्ध गराएकोमा राष्ट्रिय सभागृह व्यवस्थापन समितिलाई समेत धन्यवाद ज्ञापन गर्दछ ।


प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता