Nagarik News Blog

Nagarik News Blog


नेपालको लोकतान्त्रिक आन्दोलनजस्तै बुझिनसक्नु छ नेपाली कांग्रेसको फुट पनि। काशीमा पढ्न बसेका बाहुन केटाहरूले औंठी र डिक्सनरी बेचेर खोलेको यो पार्टीजति सायद नेपालका कम्युनिस्ट पार्टीहरू पनि फुटेका छैनन्। जनक्रान्ति नथाल्दै डिल्लीरमण रेग्मीले सुरु गरेका पार्टी फुटाउने र छोड्ने शृंखलामा अब स्वघोषित जनजाति नेताहरू आइपुगेका छन्। जनक्रान्ति सकिएकै दिनदेखि कांग्रेसलाई कमजोर बनाउने खेल दरबार र भारतले खेल्दै आएका हुन्।सायद, दरबारको भूमिका चाहिँ एनेकपा (माओवादी)मा सरेको छ। भारत अहिले पनि सक्रियै छ।
कांग्रेसको पहिलो जननिर्वाचित सरकारलाई हटाउने वातावरण बनाउने बेला तुलसी गिरीहरूको हावभाव यस्तै थियो। अहिले पार्टी छाड्ने धम्की दिनेहरूको लक्षण पनि त्यससँग मिल्दोजुल्दो छ। उनीहरू राजा महेन्द्रका 'महानता'बाट प्रभावित भएका थिए। यिनीहरू अध्यक्ष कमरेड पुष्पकमल दाहाल 'प्रचण्ड' लाई बिन्तीपत्र चढाएर उनैको पछाडि लागेका छन्।हजम हुन गाह्रो परेको चाहिँ अहिले घुर्की लगाउनेहरू पार्टी संगठनमा गरेको योगदान र संघर्षबाट हैन विभिन्न नेताका कृपामा लाभका पदमा पुगेकाहरू हुन्। तुलसी गिरीलाई पनि त बीपीले बलजफ्ती पार्टीको नेता बनाएका हुन् नि ! कतै निर्वाचन क्षेत्र र प्रभाव नभएका तुलसी गिरीलाई मन्त्री र क्रान्तिको मोर्चामा लडेका र चुनाव जितेर आएका रुद्रप्रसाद गिरीलाई बीपीले उपेक्षा गरेकोमा कामिनी भाउजुलेसमेत गुनासो गरेको सुनिएको थियो। ( कामिनी रुद्र गिरीकी पत्नी हुन्। कोइराला परिवारसँग उनको अर्कै नाता थियो। सरोज कोइरालाका दाजुसँग उनको विवाह भएको थियो। दाजुको मृत्युपछि सरोजबाबुले नै भाउजुको पुनर्विवाह गराएका थिए। कामिनी भाउजु २००७ साल र २०१८ सालपछिको क्रान्तिमासमेत सक्रिय थिइन्।) रुद्र गिरीको पञ्चायत प्रवेशको पृष्ठभूमिमा मूल भूमिका सायद त्यसैको थियो।
कांग्रेसको फुटको शृंखलामा देखिने अर्को प्रवृत्ति 'जहाँ गाह्रो उहीँ साह्रो' पनि हो। कर्णलाई युद्धको मैदानमा रथको पांग्रो भासियोस् भनेर श्राप दिइएजस्तै छ नेपाली कांग्रेसको नियति पनि ! बीपी भारत प्रवासबाट फर्कनुभन्दा पहिले कांग्रेसकै केही नेताले विदेशी भूमिबाट आन्दोलन गरेको र हिंसात्मक बाटो रोजेको भनेर उनको विरोध गरेका थिए। बीपीले विदेशी भूमि र सशस्त्र आन्दोलन दुवै छाडेर फर्कनेबित्तिकै तिनैले पार्टी फुटाए। संगठनै भताभुंग रहेको अवस्थामा बखानसिंह गुरुङदेखि काशीनाथ गौतम, शशिशम्सेर राणा, अच्युतराज रेग्मी, सुरेशमान जोशीदेखि खड्गबहादुर खत्रीसम्मका ३८ जना अधिकांश केन्द्रस्तरका नेताले पार्टी छाड्दा कांग्रेस सकियो भन्ने धेरैलाई लागेको थियो। कीर्तिनिधि विष्ट प्रधानमन्त्री थिए। उनले लगभग त्यही आशयको वक्तव्य राष्ट्रिय पञ्चायतमा दिएका थिए। परशुनारायण चौधरी त्यो समूहमा सामेल हुनै लागेर पनि भएनन्। जनमत संग्रह ताका परशुबाबुका सबै गतिविधि थाहा पाएरै पनि बीपीले उनलाई 'भावि प्रधानमन्त्री' भनेका थिए। बीपी नेपाल आएपछि उनका विरुद्ध चर्कै अभियान राज्यले चलायो। भारतसँग निकट भनिएका कांग्रेसका नेताहरू पनि त्यसमा प्रत्यक्षपरोक्ष संलग्न देखिएका थिए। त्यसो त, बीपीको स्वदेश आगमनकै एउटा कारण भारतीय शासकहरूसँग सम्बन्ध बिग्रिनु पनि थियो। जनमत संग्रहमा बहुदल हार्‍यो। बीपीलाई धेरैले दोष दिए। पहिले राजाको विरोध गरेको भनेर बीपीलाई गाली गर्नेहरूले पछि राजाको विश्वास गरेको, मिलेको भन्ने आरोप बीपीमाथि लगाए। बीपीकै निर्देशनमा २०३७ को पञ्चायती संविधान र २०३८ को राष्ट्रिय पञ्चायतको निर्वाचन बहिष्कार गरियो। केही कार्यकर्ता विभिन्न कारणले चुनावमा संलगन हुन पुगे। कहिँ सक्रिय बहिष्कार भयो। कतैकतै चाहिँ बहिष्कारको खासै प्रभाव परेन। एकातिर, बीपी अशक्त हुँदै जानुभएको थियो भने अर्कातिर २०३६ को खुकुलो वातावरणमा विस्तार गरिएको संगठन जोगाउन कठिन हुँदै थियो। पार्टीमा संकट देखिनै लागेका बेलामा परशुनारायण चौधरीको नेतृत्वमा केही 'होनहार' नेता कार्यकर्ताले पञ्चायतलाई मूल प्रवाह भन्दै त्यसैमा समाहित हुनुलाई 'सही बाटो' ठाने। त्यति बेला पनि पञ्चहरूले कांग्रेस सकिएको ठानेका थिए। नगेन्द्रप्रसाद रिजालले मलाई त कांग्रेस 'हल्लिएको ढुंगो' हो त्यसमा नटेक भनेका थिए, अरू ककसलाइ के के पो भनियो होला ? सत्याग्रह भयो। त्सपछिको स्थानीय निकायको निर्वाचनमा पार्टीले भाग लियो तर राष्ट्रिय पञ्चायतको निर्वाचन बहिष्कार गर्‍यो। पञ्चायत ओहोरदोहोर गर्ने थुप्रै कांग्रेसीले पार्टी फेरि छाडे। तीमध्ये कतिपय २०४६ सालपछि पार्टीमा फर्के र सांसद, मन्त्री, पार्टीका केन्द्रीय पदाधिकारी पनि भए। त्यसपछि त एकाध वर्ष कांग्रेस पस्ने लहरै चल्यो। परिवर्तनको आँधीमा जोगिन बूढो रुखको ओत लागेकाहरू जो हात सो साथ गरेर आआफ्ना गुँढमा फर्के। कांग्रेस चलिरह्यो। बीपी नहुनेबित्तिकै कांग्रेस सकिइहाल्छ अनि हाम्रो एकछत्र राज त हो भन्नेहरू जिल्ल परे। त्यसैले हो कि कांग्रेस फुटाउने खेल चाहिँ रोकिएन। जनआन्दोलन भयो। निर्वाचनका कांग्रेसले बहुमत पायो तर पार्टीभित्रै र बाहिरका धेरैलाई त्यो हजम भएन। त्यति बेलामा पात्र र प्रवृत्तिका बारेमा धेरैलाई थाहै छ। विस्तारमा लेख्न पर्दैन। किसुनजीले २०४८ मा चुनाव हारेपछि गिरिजाबाबु प्रधानमन्त्री बने। त्यसपछि किसुनजीलाइ उपनिर्वाचनमा हराइयो । उनलाई उपचुनावमा उठाउने र हराउन गिरिजाबाबुलाई उक्साउने काममा कांग्रेसकै केही संदिग्ध चरित्रका नेता पनि लागेका थिए । अन्ततः प्रतिनिधिसभामा सरकारको नीति र कार्यक्रमलाई असफल बनाइयो। पार्टी फुटाउने गिरिजाबाबुको तयारीलाई कुन्नि किन किसुनजीले टालटुल गरिदिए। गणेशमानजीको चित्त बुझेन। उनले कांग्रेसविरुद्ध अर्को पार्टीलाई समर्थन गरेर र उमेदवारहरू उठाए। आश्चर्य, गणेशमानजीका उमेदवार कसैले पनि जितेनन्। यसो त कांग्रेसको उमेदवारका रूपमा जित्नेहरू कसैले पनि गणेशमानजीको अनादर गरेनन्। कांग्रेसले बहुमत ल्याउन सकेन तर पार्टी विभाजनको चुनावमा खासै असर परेन। त्यसपछि शेरबहादुर देउवाको महत्वाकांक्षाले के के उपद्रो मच्चायो कसैले बिर्सेका छैनन्। संकटकाल, प्रतिनिधिसभा विघटन, निर्वाचन घोषणा, पार्टी विभाजनसम्म भयो। विभाजित पार्टी लिएर पनि गिरिजाबाबु राजाको कदमविरुद्ध आन्दोलनको नेतृत्व गरिरहे। एमाले र देउवा राजालाई समर्थन गरेर आन्दोलन छाडी सरकारमा गए। तर, कांग्रेसले आन्दोलन गरिरह्यो र अन्ततः दिल्लीको १२ बुँदेसम्झौता, दोस्रो जनआन्दोलन, प्रतिनिधिसभा पुनःस्थापना, माओवादीसँग शान्ति सम्झौता, सत्ता साझेदारी, संविधान सभा निर्वाचन हुँदै अहिलेसम्म कांग्रेस आइपुगेको छ।
नेपाली कांग्रेसको ६५ वर्षे इतिहासमा यो पार्टी कति पटक फुट्यो भन्ने हिसाब त सायद, कहीँ पनि नहोला। जति पटक फुटे पनि र जसले फुटाए पनि नेपाली कांग्रेसबाट चोइटिएर गएकाह अन्ततः मातृ संस्थामै फर्के वा बिलाएर गए। मातृकाबाबुले २००८ सालमा थालेको कांग्रेस टुक्य्राउने उपक्रमको पछिल्ला उत्तराधिकारी शेरबहादुर देउवा हुन पुगे। तर, उनकै पार्टीले पनि एक्लै चुनाव लड्ने आँट गरेन।
यस्तो अवस्थामा राणाहरूको जहानिया शासन समाप्त गरेर सबै नेपालीलाई समान बनाउन थालिएको नेपाली कांग्रेसमा जाति, धर्म, लिंग, भाषा, समुदाय आदिका आधारमा विभेद र विभाजन ल्याउन खोज्नु पटक्कै सुहाउने काम हैन। जनजाति समुदायका नेताले पनि आआफ्नो धरातल हेर्नुपर्ने हो। धेरै कांग्रेसी 'पार्टीले मलाई के दियो?' भन्ने गुनासो पञ्चहरूकै शैलीमा गर्ने गर्छन्। त्यति बेला मलाई हाँसो लाग्छ। छातीमा हात राखेर भनुन् - कांग्रेसमा नलागेको भए शेरबहादुर देउवा, रामचन्द्र पौडेल, सुशील कोइरालादेखि गगन थापासम्मकै अहिलेको हैसियत हुने थियो कि थिएन? कहलिएका नेताको त यस्तो अवस्था छ भने अरूको के कुरा गर्नु ? पक्कै पनि गाउँमा, सहरमा कांग्रेस भएबापत सास्ती पाउनेहरू धेरै छन्। राणाका पालामा सर्वस्व हरिएका, पञ्चायतका पालामा निर्वासन वा कैदमा बसेका र माओवादीका कारण उठिवास लागेका। ती कसैले पार्टी छाड्ने धम्की दिएका छैनन्। भीमबहादुर तामाङले पार्टी छाड्छु भनेका छैनन्। कुलबहादुर गुरुङले पार्टी छाड्ने धम्की दिएका छैनन्। यिनले त कांग्रेस भएर सास्ती पनि पाएका थिए । पार्टीमा यिनको योगदान अहिलेका कुनै नेताको भन्दा कम छैन बरू बढी नै होला । तिनले त पार्टीलाई दिएका धेरै छन् लिएका थोरै छन्। कल्याण गुरुङदेखि धनराजसम्मले त पार्टी माओवादीको पछि नलागे पार्टी नै छाड्ने धम्की दिएका छैनन्। नेपाल विद्यार्थी संघमा खारिएका यी नेतामा कांग्रेसको संस्कार जो छ। चाकरी, कोसेली र बाहुबलका भरमा कांग्रेसमा ठाउँ पाएकाले छाडे भने सम्भवतः पार्टीको भलो नै होला।
हो, नेपाली कांग्रेस उँभो लाग्ने लक्षण छैन। परन्तु, इन्द्रबहादुर, जिपछिरिङजस्ता हरूको पार्टी छाड्ने धम्कीले नभएर अहिलेका नेताहरूको लोकतन्त्रप्रतिको निष्ठाको अभावले कांग्रेस ओरालो लागेको हो। यसैले कांग्रेसलाई माओवादीको पुच्छर बनाउन खोज्नेप्रति तुष्टीकरणको नीति लिने हो भने त्यो क्रम निरन्तर रहनेछ। ऐजेरू पन्छाउँदा कुनै रुख मर्दैन तर आकासे बेली सल्केको रुख बिस्तारै मर्दै जान्छ। प्रकृतिको यो नियम कम्तीमा नेपाली कांग्रेसमा पनि लागु हुन्छ।

प्रतिक्रियाहरू (1)Add Comment
0
Paul M.
June 12, 2012
74.98.207.141
भोट: +6
...

Nepal needed to be led by high caliber leaders right after political changes of 1990. Unfortunately, the political caliber and thinking of NC leaders was the same level as in 1950's. This was the main reason for the downfall of NC in the years after 1990.

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

ट्याग्स

कमेन्ट