Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 19th

Nagarik News Blog

Nagarik News Blog


विसं २०१९ को चैतमा बी.एस्सीको परीक्षा सकेर आफ्नो गाउँ लमजुङको दुराडाँडा जान लागेको थाहा पाएपछि काठमाडौंबाहिर कहिल्यै नगएका सहपाठी मित्र भाष्कर रिसालले पनि मसँगै पहाड जाने इच्छा गरे। दुराडाँडा पुग्न ६-७ दिनको पैदल बाटो हिड्नु पर्थ्यो। हामी त्रिशुली भएर हुलाकी मूल बाटो हुँदै गएका थियौँ। हिउँद भए पनि बेलाबेलामा पानी परेकाले ठाउँठाउँमा रातो माटोको चिप्लो बाटोमा लड्दैपड्दै गएका थियौँ। दरौँदी नदीको किनार पुगेपछि नदीमा सङ्लो पानी हेर्दा जँघार तर्न सकिने ठान्यौ। अनि, दुवै जनाले सुरुवाल फुकालेर काँधमा हाली नदी तर्ने तयारी गर्‍यौँ। कहिल्यै यसरी जँघार नतरेका साथीलाई समातेर नदीको छेउको भंगालोमा आधाजस्तो पुग्नै लागेका बेला पारिबाट एक जनाले कराएर भने - 'ए केटा हो मर्न मन छ कि क्या हो? देख्दैनौ माथिबाट भेल आएको? लेक बर्सेको देखेनौ?'

दाहिने फर्केर हेर्दा त नभन्दै नदीमा भेल उर्लँदै आएको देखियो। पारि तर्ने कि वारि नै फर्कने विचार गर्दै थियौँ उताबाट आवाज आयो 'फर्क! फर्क! फर्क ....!' हामी हत्तपत्त फर्कियौ। नदी किनारबाट हामी दौडँदै अलि परसम्म के पुगेका थियाँै धमिलो पानीको भेल बढ्दै बढ्दै बगरसम्मै आयो र वारपार भयो। पारिपट्टिका ती सज्जनले कराएर फर्क नभनेको भए भर्खर बि.एस्सीको परीक्षा दिएका भविष्यमा के के न हुँला भन्ने दुई बबुरा बाहुन केटाको इहलीला दरौँदीकै भेलमा सकिन्थ्यो होला। न हामीलाई पौडन आउथ्यो न त्यो भयानक भेलबाट कसैलाई बचाउन कोही त्यसै हामफाल्नु सम्भवै थियो। वारिवारि नदीको किनारैकिनार वर्षे बाटो भएर जरेबरको नया साँघु जाँदा नदीमा गाई भैँसी, घरगोठ, मान्छे बगिरहेका देखिएका थिए।

बैशाख २३ गते सेती नदीले त्यस्तै गर्‍यो। खारापानी बजार बगाएर बगरमा परिणत गरायो। धेरै धनजनको क्षति भयो। फरक यत्ति हो कि त्यस बेलाको दरौँदीमा कुन गाउँका कति बस्तीका घरगोठ बगे र कति धनजनको नोक्सान भयो भन्ने पत्तै भएन। उति बेला हामी दुई जना त्यहीँ हराएको भए पनि कसैले पत्तै पाउँदैनथ्यो होला। परिवारजन पर्खेका पख्यै हुन्थे होलान्। हदै भए केही समय पछि कोही ६-७ दिनको पैदलबाटो सोध्दै जान्थ्यो होला। अनि फर्केर आएपछि 'खै केही अत्तोपत्तो लागेन' भन्थ्यो होला। यस्तो घटना यस मुलुकमा बेलाबेलामा भइरहेका जो हुन्छन्।

यहाँका नदीनाला र तिनको प्रकृतिको राम्रो अध्ययन पनि हुन पाएको छैन। स्थानीय बासिन्दा यसबाट सधैँ पीडित रहेका छन्। केही फरक भने भएको रहेछ। सेतीको बाढीले खारापानी बगाएको घटनाबारे बीबीसीले तुरुन्तै तस्बिर र श्रव्य दृश्य सामग्रीको प्रसारण गर्‍यो। यस्तो आकस्मिक प्राकृतिक दुर्घटनाको पनि संसारले तत्कालै थाहा पाइहाल्यो। सोधखोज भयो र भइरहेको छ। पीडित पक्षले केही सहायता पनि पाएका छन्। बितेका पाँच दशकमा नेपालमा पनि यति फरक भने भएको रहेछ।

अहिले ठाउँठाउँमा झोलुंगे पुल बनेकोले जँघार तर्ने क्रम पनि घटेको छ। त्यति बेलाको नयाँ साँघुको पुलमा दुइटा लट्ठा थिए र ५-७ हातको फरकमा डन्डी झुन्ड्याइएका थिए। तिनलाई दोब्य्राइएको हुन्थ्यो र तल्लो भागमा बाँसका चोयाले बाँधिएका थिए। तिनै बाँसमा टेकेर डण्डीमा समातेर नदी पार गर्नुपर्थ्यो। काठमाडौँका मेरो साथीलाई त्यस्तो पुल कसरी गर्ने भन्ने थाहै थिएन। उनलाई 'कसरी तर्ने हो भनेर मलाई हेर र मैले जसो गर्छु त्यसै गर, तर तल पानीमा चाहिँ हेर्दै नहेर। अत्यास लागे एकछिन अडिएर अगाडिको डाँडातिर हेर।' भनेर म अघि लागेँ। बीचमा झोल्लिएको साँघुले तल पानीको भेललाई छोलाछोला जस्तो लाग्थ्यो। उनको आँखा त्यही उर्लिरहेको भेलमा पुगेछ। अनि एकदम अत्तिएर चिच्याए - 'बगायो.. बगायो.. बगायो!' सुन्ने बित्तिकै फर्केँ र साथीलाई भनेँ - 'तल नहेर न, मलाई हेर, अनि टाढा नदी पारीका डाँडातिर हेर'। पसिनाले निथ्रुक्क भएका भाष्कर लामो सास फेरेर मेरो पछिपछि लागे। त्यसरी हामीले दरौँदी तरेका थियौँ। त्यति बेला पूर्वपश्चिम गर्ने मुख्य हुलाकी बाटोको दशा त्यस्तै थियो र अझै पनि कति ठाउँमा त त्यस्तै छ। तर धेरै ठाउँमा झोलुंगे पुलमा पनि आजकल गुणात्मक फरक आएको छ। अब त गाई, भैसी, घोडा, खच्चड, मोटरसाइकल पनि सहजै तर्नसक्ने पुल बनाइएका छन्। यसका लागि स्विस सहयोगप्रति हामी कृतज्ञ हुनुपर्छ।

खारापानीको जस्तो घटना नेपालका धेरै ठाउँमा कुनै पनि बेला हु्नसक्छ। हाम्रो भूबनोटै त्यस्तै छ। जलवायु परिवर्तनका कारण मुसलधारे पानी बर्सने क्रम बढ्दो छ। बढ्दो तापक्रमले गर्दा जमिन गर्मीमा वर्षातले फैलने र जाडोमा सुक्ने गर्छ। त्यसबाट जमिनमा धाँजा फाट्ने क्रम पनि बढेको छ। रुख विरुवा नासमास बढ्दा भूक्षयको गति पनि बढ्दो छ। हिमताल पग्लेर फुट्नेदेखि, मुसलधारे पानीको जोडमा पहिरो जाने क्रम पनि बढ्दो छ। त्यसमाथि हाम्रो क्षेत्रमा भुइँचालो गइरहन्छ। अर्थात् हाम्रो यो भूक्षेत्र थप चुनौतीपूर्ण छ। अनि नदीहरू थुनिदा पानीको ताल बन्छ र फुट्दा सेतीकोजस्तै घटना हुन्छ। प्रकृतिका कतिपय यस्ता क्रियाकलापमा मानिसको बश कमै हुन्छ। तैपनि गर्नसक्ने उपाय त गर्नैपर्छ। भूमण्डलको तापक्रम बढ्न नदिने कार्यक्रम संचालन गर्न अग्रसरता लिन सकिन्छ। भूक्षय नियन्त्रण गर्ने कार्यक्रमदेखि हिमतालको पग्लेको पानीबाट बिजुली निकाल्ने काम गर्न सकिँदो हो र प्रभावकारीरूपमा सूचना प्रवाह गर्ने पद्धतिको विकास पनि गर्न सकिने थियो। अनि, बल्ल पारिबाट कसैले 'फर्क, फर्क' भनेर बटुवालाई बचाउनुपर्ने अवस्थामा निर्भर हुनुपर्ने बाध्यता हट्ने थियो।


प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

ट्याग्स

कमेन्ट