Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Dec 07th

Nagarik News Blog

Nagarik News Blog


मन्दिर वरिपरिको जमिन रक्ताम्ये थियो। कतै-कतै त रगतको हिलोजस्तो थियो। हुन पनि दसैंका बेला नेपालगन्जको बागेश्वरी मन्दिरमा पशुवलीका कारण रगत नटेकी जाने स्थिति हुँदैनथ्यो।
झन् त्यस दिन त महाअष्टमी। बली दिन आआफ्ना पशुपक्षीका साथ आएका मानिसको लाम निकै थियो।

कसैले बोका, कसैले हाँस त कसैले कुखुरा बोकेका थिए। मन्दिरको बायाँपट्टि रहेको खाली ठाउँमा एउटा दाउराजस्तो काठ राखिएको थियो। त्यो काठ बली दिइने पशुको गोडाको बीचमा राखिन्थ्यो। एक जनाले घाँटीमा बाँधेको डोरी तान्थ्यो। यसो गर्दा पशुको टाउको तलतिर पर्थ्यो। अनि अर्कोले खुकुरीले मार हान्थ्यो। त्यसरी मार हान्दा घाँटी एकै पटकमा छिनाल्नुपर्छ भन्ने मान्यता थियो।
तर मैले मार हानेको हेर्ने साहस धेरै पछिसम्म गर्न सकेको थिइनँ।
हाम्रो घर पनि धार्मिक वातावरणको थियो। विशेषगरी मेरो हजुरबुबा धार्मिक प्रवृत्तिको हुनुहुन्थ्यो। बिहान-बेलुका पूजा गरेपछिमात्र खाने उहाँको नियम थियो।
बिहानको पूजा लगभग ३ घन्टाको हुन्थ्यो भने बेलुकाको पूजा लगभग साढे एक घन्टाको। पूजापछि खान पाइने मिठो प्रसादका कारण म सधैं उहाँलाई पर्खन्थेँ।
दसैंका बेला मलाई निकै रमाइलो लाग्थ्यो। नजिकैको बागेश्वरी मन्दिरमा दुर्गा लागेदेखि नै रामायणको कथा बिहानैबाट सुनाइन्थ्यो। माइकमा सुनाइने त्यो कथा हाम्रो घरसम्मै सुनिन्थ्यो। भजनकीर्तन पनि सुन्न सकिन्थ्यो।

बागेश्वरी मन्दिरमा भारतबाट समेत दर्शनार्थीको घुइँचो लाग्थ्यो। विशेषगरी तीज, विजयादशमी र चैते दसैंका बेला त्यहाँ मेला लाग्थ्यो।
अनि धार्मिक प्रचलनअनुसार अष्टमीमा हामी पनि बली दिन्थ्यौं। तर त्यो पशुबली हुन्थेन। हामीले त कुभिन्डोको अगाडि-पछाडि चार वटा झिँजा रोपेर त्यसलाई जनावरजस्तो आकार दिएर काट्थ्यौं।
बागेश्वरीमा दिइने पशुबली देखेर मलाई निकै दया लाग्थ्यो। यसबारे सोध्न मन लागे पनि यो धार्मिक प्रचलन भएको भनेपछि चुप लागेर बस्थेँ।
त्यस दिन म सानोबुबासँगै बागेश्वरी गएको थिएँ। अलि कडा स्वभावका सानोबुबासँग नजिक पर्न हामीलाई डर लाग्थ्यो। बिहान उहाँले 'ल हिँड्, बागेश्वरी जाउँ' भनेपछि म संकोच मान्दै उहाँको पछि लागेको थिएँ। बागेश्वरी मन्दिर दर्शनपछि हामी फर्कने क्रममा थियौं। गेटसम्म पुग्न बली दिने स्थान भएर जानुपर्थ्यो। भर्खरै जन्मेजस्तो पाठो बोकेर एकजना बली दिने ठाउँमा उभिएको देख्यौं। सानोबुबाको जिज्ञासामा उसले बली दिन ल्याएको भन्यो। त्यो सुनेर मलाई निकै अत्यास र दया लाग्यो। म त्यो पाठोलाई किमार्थ बली दिन हुँदैन भन्ने पक्षमा थिएँ। तर म जस्तो केटाकेटीको कुरा कसले सुन्ने? त्यत्तिकैमा सानोबुबाले भन्नुभयो- हैन के कुरा गरेको तपाईंले, यस्तो भर्खरको पाठोलाई पनि कहीँ बली दिन हुन्छ? यसले त धर्म होइन, पाप लाग्छ। अलि दयामाया त हुनुपर्छ!
ऊ भन्दै थियो- मैले भाकल गरेको थिएँ, त्यसैले बली त दिनैपर्छ।
त्यतिबेलासम्म त्यहाँ थप मानिस जम्मा भइसकेका थिए। तर बोल्ने निकै कम थिए। सम्भवतः त्यो पाठोलाई बली दिने काम कसैलाई मन परेको थिएन तर कोही पनि बोल्न चाहेजस्तो मलाई लागेन।
मानिसको हुल देखेर त्यो पाठो पनि चिच्याउन थाल्यो। त्यहीँ अगाडि बली दिने काम पनि भइरहेको थियो। त्यो पाठोले थाहा पायो होला कि ऊ पनि काटिँदैछ भनेर।
मलाई त्यस व्यक्तिसँग निकै रिस उठ्यो। सक्ने भए त्यसलाई पिट्थेँजस्तो लाग्यो। चिच्याई-चिच्याई त्यसलाई तथानाम गाली गर्न मन लागेको थियो।
मेरो हजुरबुबा भन्नुहुन्थ्यो- सबै प्राणीलाई माया गर्नुपर्छ। सबैलाई भगवानले बनाएका हुन्। कुनै पनि प्राणीको हत्या गर्नुहुँदैन।
यहाँ त त्यो पाठो भर्खरै आमाको थुन चुस्दाचुस्दै तानेर ल्याएजस्तो थियो। कठै यो स्वतन्त्र भएको भए अहिले आफ्ना साथीभाइसँग खेलिरहेको हुने थियो होला। तर अब यो काटिने भयो, अनि त्यो मानिसले यो विचराको मासु खाने त होला।
त्यहाँ वरिपरि भएका मानिसले अलि बल गरेर सम्झाए हुन्थ्यो नि! नमाने हप्काए पनि त हुन्थ्यो। कस्तो निस्ठुरी मन होला, हरे!
मलाई बागेश्वरी मन्दिर आएकोमा पछुतो लागेर आयो। नआएको भए यो पाठो काटिन लागेको थाहा त हुँदैनथ्यो नि। एक पटक सानोबुबाले भनेको नमानेको भए पनि त हुन्थ्यो नि! तर सानोबुबाले भनेको नमान्ने त हामी केटाकेटीले कल्पनै गर्न सक्दैनथ्यौं। बरु सानोबुबा नै आज नआएको भए हुन्थ्यो। आए पनि अलि अघि अथवा पछि आए के बिग्रन्थ्यो र!
मेरो सानोबुबाले भनेको खण्डमा त्यस मान्छेले मान्ने थियो जस्तो मलाई लाग्यो। मैले डराई-डराई बिस्तारै भनेँ- यति सानो पाठो नकाटे हुन्थ्यो।
मेरो डरमिश्रित मधुरो स्वर सानोबुबाको कानमा पर्‍यो कि परेन, थाहा भएन। तर उहाँले फेरि भन्नुभयो- यस्तो पाप नगर्नुस्, तपाईंले बरु बली नै दिने भए यसलाई केही ठूलो हुन त दिनुस्। हैन भने बली सम्झेर यही मन्दिरमा छाडेर जानुस्। मन्दिरमा चढाएको अक्षता खाएर त बस्छ।
तर त्यो मानिस भने बली दिने अड्डी लिएर बसेजस्तो थियो। सानोबुबाले पनि अलि जिद्दी नै गर्न थाल्नुभयो- यस्तो सानो पाठोलाई काट्न तम्सिने तपाईं कस्तो निर्दयी, हँ? पाउनुहुन्न यो बेकाइदा गर्न। यस्तो पाप गर्न हामी तपाईंलाई दिँदैनौं।
अब भने थप दुईचार जनाले उहाँलाई साथ दिँदै काट्न नपाउने भन्न थाले। भर्खर जन्मेजस्तो देखिने पाठो काट्न कुनै पनि किसिमले अनुचित भएको कुरा उनीहरूले भने। म भने अझ पनि अत्तालिएको थिएँ।
अन्ततः सबैले भनेपछि उसले त्यो पाठोलाई बली नदिने निधो गर्‍यो।
सानोबुबा र म त्यसपछि फर्क्यौं। मेरो सानोबुबाले पाठोलाई बली हुनबाट रोकेकोमा म निकै खुसी थिएँ। मलाई लाग्यो आज सानोबुबा मन्दिरमा आएको राम्रै भयो। अनि म पनि उहाँसँगै आएको राम्रो भयो नि! मलाई अब सानोबुबाको डर थिएन। सधैं उहाँसँग तर्किएर हिँड्ने गरेको म अहिले उहाँको औंला समाएर लगभग टाँसिएर हिँड्दै थिएँ। म भित्रैबाट खुसी थिएँ। मैले हिँड्दाहिँड्दै सानोबुबालाई हेरेँ। उहाँ आफ्नो धुनमा हिँड्दै हुनुहुन्थ्यो।


प्रतिक्रियाहरू (1)Add Comment
0
sawrose
April 09, 2012
116.90.237.162
भोट: +5
...

It's a real scenario in our Temple. People are secreficing animals with the name of god but we all are the creatures of god and we don't have any right to take life of any creature. We can't make them alive after whatever we have done. So love all creatures and stop sacrificing animals with the name of god.

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

ट्याग्स

कमेन्ट