होली हो, होली ...


Posted by: विश्वमणि पोखरेल in Untagged  on Mar 8, 2012



विराटनगरका मारवाडी युवा मञ्चले आयोजना गरेको होलीको रमझम मेरो लागि एउटा रोमान्चक अनुभव भइरहेको छ। रिर्पोटिङ गर्ने शिलशिलामा विराटनगर झरेको एक सातामा यहाँका उद्यमी, व्यापारी, अन्य धेरै विधा र व्यवसायका मानिसहरुसँगको कुराकानीले मलाई काठमाडौ खाल्डोको फोहोरी राजनीति भन्दा निकै टाढा पुर्‍याएको अनुभव भइरहेको थियो। यहाँका मारवाडी युवाहरुले आयोजना गरेको होली कार्यक्रमले होलीको प्राकृतिकता उभिएको अनुभव भैरहेको छ। होलीको पूर्वसन्ध्यामा आयोजित कार्यक्रमकै उर्जाबाट म यी हरफ कोर्देछु। गणपति बन्दनाबाट सुरु भएको कार्यक्रममा मारवाडी युवा, पाका ससाना नानीहरुले रमाइलो प्रस्तुति गरे। ठूलो संख्यामा उपस्थित मारवाडीहरु र उनका निम्तालुहरुले खचाखच अतिथि सदनको खुला चौरमा आयोजित महामुर्ख कार्यक्रम र अन्य रमाइला प्रस्तुतीलाई मैले नजिकबाट हेर्न र सुन्न पाएँ। यसै सदनमा साता दिनदेखि बसोबास गर्दे आएकोले मलाई यो अवसर जुटेको हुनसक्छ। विराट व्यापार संघले यहीँ तीन दिन अघि जलपान सहित होलीको श्रीगणेश गरेको थियो।

एसएलसी सकेर २०४२ सालमा काठमाडौं छिरेपछि मैले तराईको होलीको अनुभूति गर्न पाएको थिइँन। काठमाडौमा लोला सस्कृति र पानीको अधिक प्रयोग हुन्छ। माथि छतबाट बाटामा हिडिरहेको मानिसलाई निथ्रुक्क पारेर मजा दिने चलनले होली महत्तालाई कमजोर बनाउने बाहेक अरु योगदान दिन सक्तैन। होली मधेशी, मारवाडी समुदायको दीपावलीपछिको दोश्रो महत्वपूर्ण चाँड हो। यहाँ सप्तरङी होलीमा रङहरु खेलिन्छन्। अंकमाल गरेर आत्मियता, भातृत्व र सौहार्दता प्रकट गरिन्छ, एक अर्काबीच। म अहिले त्यही आत्मियतामा बाँधिएको छु। सहकर्मी अजितले निम्तो दिएका छन्। उनको निवासमा खानपान सहितको होली कार्यक्रम छ। आज होली हो मधेशको। जनकपुरिया उनी यस पटक विराटनगरमै होली मनाउँदै छन्। मैलै मेरो कारण गृहनगर नगएको त होइन? पटक पटक सोधेको छु, होइन भन्छन उनी। नागरिकका साथीहरुले प्रेसमा खेल्न आग्रह गरेका छन्। प्राविधिक सन्तोष श्रेष्ठ र प्रेस चलाउने हिन्दूस्तानी शम्भु रायको आग्रह टार्न सक्ने खालको छैन। लेखाका भाई तेजेन्द्र दाहालले होलीमा घरको पारिवारिक बन्धन पनि फूकेको जानकारी दिएका छन्। पत्रकारिता पेशा सबैसँग जोडिएको उद्यम रहेछ। मध्यरातसम्म खट्ने पत्रकार, रातभर कागजका रोलमा सारा दूनिया लिपिवद्ध गर्ने प्राविधिक र सूर्योदय अघि घरघरमा पत्रिका पुर्याउने साइकल ब्याय अनि सारा चाँजोपाँजो मिलाउने व्यवस्थापन, प्रशासन। यिनको सर्कोसँगै हामीले लेखेको पढी दिने सारा पाठक। होलीको सप्तरङ जस्तै हो पत्रकारिता पनि। राजनीति, अर्थ व्यवस्था, सामाजिक आर्थिक जीवन्, कला, सस्कृती, धर्म, सस्कार, विज्ञान, प्रविधि सबैको फ्युजन हुन्छ पत्रकारितामा।
होलीको तयारी मैले पनि तयारी गर्नुपर्ने भो, हिजै कोक र आइसक्रिम उत्सव भयो। सेतो कुर्ता, पाइजामा किनेको छु, रङ तयार छ, मन चन्चल छ।
पहाडको खोटाङमा जन्मिएको, मधेशी घानी सप्तरीमा हुर्किएको, अध्ययन र जागिरको शिलाशिलामा काठमाडौंमा जीवनको आधा समय गुजारेको मलाई होलीले असाध्ये उत्साहित गर्नेगर्छ। होलीसँग मेरो साक्षात्कार ३५ वर्षअघि देखिको हो। हामी पहाडबाट भर्खर मधेश आएका थियौ। हजुरबा को पालादेखि मधेशमा मौजा भए पनि हाम्रो परिवार मधेश निकैपछि झरेको हो। बुबा आफै मधेश पहाड गर्नुहुन्थ्यो, हामी आमासँगै पहाडमै बस्दथ्यौ। वालमानसिकताकै कारण हुनसक्छ, पहाडको होलीको मलाई ज्ञान छैन। म ७, ८ वर्षको थिए, मधेश झर्दा। होलीकै सेरोफेरोमा हामी आएका थियौं। अहिले आएर लाग्छ, मधेश र पहाडको होलीबीच आकास जमिनको फरक छ। त्यसबेला मलाई अग्रज दाजुहरुले रङ छर्किदिदा म घण्टौसम्म रोएको थिएँ। मेरो दौरा रङले भिजेको थियो। सबै होलीमा हाँसिखेलि गरिरहेका थिए, मैले रोएर बिताए। म एउटा पात्र बनेको थिए, अहिले पनि ती दाजुहरु बेलाबेलामा मेरो विगत कोट्याइदिन्छन्। त्यसै दिन दिउँसो वरिपरिको मधेशी बस्तीबाट होली खेल्न समुह बनाएर मानिसहरु नाँच्दै गाँउदै घरघर आए। पहाडीहरुले तिहारमा देउसी खेलेजस्तै समुहमा आएका उनीहरु 'एक दिस केले होली हो लाला एक दिस केले होली हो, एक दिस केले कुमर कन्यैया एक दिस केले होली हो' बोलमा नाचँगान गरे। उनीहरु मध्येकै कसैकसैले गाँजा पिँधे, आमाले दूध र सख्खर दिनुभयो, बाल्टिमा घोले र सर्वत बनाए। मलाई 'बौआ' सर्वत भन्दै दिए, आमाले धेरै नखानु भन्नुभयो। मैले अलिकति खाए, अनि उनीहरुकै पछिपछि होली हो भन्दै दौडिए। म मा होलीको गाढा रङ त्यसै दिन देखि चढेको हो।
मधेशी घानीमा युवावस्ता बिताएकोले हुनसक्छ, काठमाडौंमा पनि मैले त्यसलाई त्यसैगरी मनाउने प्रयास गरेँ। काठमाडौंको माहौल नै बेग्लै। अरु माथि रङ, पानी लगायत फोहर समेत छ्यापेर आफू रमाउने चलन छ, त्यहाँ। आमरुपमा भन्ने हो भने काठमाडौंले होलीलाई आत्मसात गर्न सकेको छैन। होली सस्कृतीलाई कपी गरेको छ, तर विकृत रुपमा । मैले पनि त्यस्तै गरे। कलेज जीवनमा लोलामा रमाइयो। पत्रकार भएपछि अपराह्न अफिस पुग्दा, मेरो खल्तीमा अविर हुन्थ्यो। अधिकांश साथीहरु यो मधेशी आयो भन्दै तर्कन्थे, म एक किसिमको जर्बजस्तीनै गर्नेगर्छु प्रत्येक वर्ष।
यस पटक म मुलुकको दोश्रो शहर विराटनगरको होलीमा रमाई रहेको छु। यहाँका उद्यमी, व्यापारी लगायत सबै खाले तह र तप्काका मानिसमा होलीको उत्साह छ। मौसम मनोरम छ, न चिसो, न गर्मी। मारवाडीहरुले सातादिन देखि होलीलाई आमन्त्रण गरेको मैले अनुभव गर्नपाए। साँझपख, चोकहरुमा समुहमा बसेर होलीका गीत गाउँने गर्दारहेछन्। होलीलाईनै रङगयाउने उद्यममा जुट्दा रहेछन उनीहरु।
अब फेरी मारवाडी युवा मन्चले आयोजना गरेको होली उत्सवकै चर्चा गरौ। धेरै थरी कार्यक्रम आयोजना गरिए। एक से एक उद्यमीहरु आफू भित्रका कलाप्रर्दशन गर्न हौसिएको मैले पाए। उनीहरुको कार्यक्रममा पनि मुलुकको राजनीति, अर्थनीति, भंसार, प्रहरी जस्ता विषयमा कटाक्ष थिएनै। कार्यक्रममा उद्यमी जगदीश राठी नेतारुलाई संझाउँदै थिए ... प्रजा मुर्गि हे, तन्त्र दाना, जितने सको खाँओ, खाओ।'
कार्यक्रममा महामुर्ख कवि सम्मेलनसँगै अन्य कार्यक्रम मध्ये हिजडा प्रर्दशनिको बेग्लै आकर्षण र मज्जा थियो। युवा उद्यमीहरु हुनसक्छ आफ्ना पत्नीहरुका वस्त्रमा आकर्षक देखिएका थिए। उनीहरु घरी लजालु, घरी मादकता प्रर्दशन गरिरहेका थिए। उनीहरुको प्रस्तुती हास्यप्रदान थियो। तर हाँसो ठट्टा बिच एउटा वास्तविकता प्रकट भैरहेको थियो। कार्यक्रममा पुरुषहरुको मात्र हालिमुहाली थियो। महिलाहरु नगन्य जस्तै थिए। साना केटाकेटीहरुको प्रर्दशनमा सघाउने कोरियोग्राफी एक दुई महिला पनि सायद हिजडा प्रर्दशनमा बस्न रुचाएनन्। कार्यक्रम युवा मारवाडीहरुले आयोजना गरेको हो। अहिलेको मारवाडी पुस्ता हिजो जस्तो छैन। मारवाडी महिलाहरु उद्यम, व्यापारमा ...पार्ट एण्ड पार्सिएल ' भै रहेको मोरङ व्यापार संघका अध्यक्ष अविनाश बोहराको भनाई छ। केही दिन अघि विराटनगरमा आयोजित पूर्वाअचल सुपर मोडलमा मारवाडी समुदायबाट रेनुका पेडेवाल प्रतिस्पर्धामा थिइन। हो, विस्तारै सार्वजनिक जीवनमा आउँदैछन् मारवाडी महिलाहरु। आजकल हर क्षेत्रमा महिलाहरुको भूमिका अपेक्षित हुन्छनै। महिलाहरुको प्रस्तुती, पर्दशनी राखिएको थिएन। त्यसैले उनीहरुको उपस्थिति हुने कुरा भएन। होली महिलालाई आएको होइनर? घरको चार दिवार भित्रै उनीहरुको होली गुम्स्याई रहनु राम्रो नहोला। आज महिला दिवश पनि हो। चेलीहरुका कलाहरु थपिदाँ होलीको रङ अझ गाढा र उज्यालो हुने होइन र?