भात बाँड्ने पेशा होइन पत्रकारिता


Posted by: ऋषिकेश दाहाल in Untagged  on May 3, 2012



विश्‍व प्रेस स्वतन्त्रता दिवश मनाउन भृकुटीमण्डमा जुटिरहँदा हिजोमात्रै पत्रकार महासंघले जारी गरेको एउटा वक्तव्यले टाउको रिङ्ग्याङरह्यो। हिजै मुलुकमा एकदमै राम्रोसँग चलेको एउटा समाचार च्यानलका पत्रकारलाई तलब नदिएको ८ महिना सुरु भएछ। यो विषय पत्रकार महासंघमा पनि छरपस्ट भइसकेको थियो। त्यो चर्चित समाचार च्यानल एउटा उदाहरणमात्र हो।
च्याउसरी खुलेका मिडियामा तलब एउटा 'दीर्घरोग' बनेको छ। यही रोगले ग्रस्त नेपाली मिडियाका कर्मीहरुको नेतृत्व गर्ने महासंघले हिजो एउटा विज्ञप्ति जारी गर्‍यो। र भन्यो, 'जनकपुर विष्फोटमा घाइते हुनेका कुरुवाले शिक्षण अस्पतालमा खाना खानसमेत नपाएकोमा दु:ख लाग्यो। उनीहरुलाई महासंघले भात खुवाउँछ। २ हजार रुपियाँ नबढाई सहयोग गर्नुस्।' भाषा तलमाथि भएपनि आशय यही थियो।

८ महिना तलब नपाएको गुनासो गर्न महासंघमा पत्रकार पुगेका थिए, प्रेस स्वतन्त्रता दिवशको अघिल्लो दिन। त्यही दिन महासंघले घाइते कुरुवालाई भात खुवाउने ठेक्का लिएर चन्दा मागिरहेको थियो। घाइतेका कुरुवालाई भात खुवाउने काम आफैमा 'धार्मिक' थियो होला तर प्रोफेसनल या व्यवसायिक थिएन। अथवा व्यवसायिक पत्रकारितालाई पुनर्परिभाषित गर्नुपर्ने समय आयो। र, पत्रकार महासंघको लिखित दायित्वमा लेखिनुपर्‍यो - 'देशमा हुने विष्फोटमा घाइते भएकाको कुरुवालाई भात खुवाउने जिम्मेवारी महासंघको रहनेछ।'

कुनै पनि मिडियामा पत्रकारलाई लामो समयसम्म तलब दिइन्न भने त्यसले मौनरुपमा तीनखाले अभिव्यक्ति दिन्छ - पहिलो भोकै बस। दोस्रो भ्रष्ट बन। तेस्रो विकल्प खोज।

 

मिडियामा लगानी गर्नेले पक्कै पनि रक्सी बनाएर बेच्नेले जस्तो कमाउन सक्दैन । न त जग्गा दलाली र म्यानपावर चलाएर कमाउनेले जस्तो कमाउँछ। आर्थिक रुपमा टिक्न केही सीमित व्यापारिक स्वार्थलाई छाड्ने हो भने मिडियाको अधिकतम लगानी सामाजोपयोगी नै हुन्छ। त्यसैले यसलाई चौथो अंगकैरुपमा स्विकार गरिएको हो। तर जव मिडियामा लगानी गर्नेहरुले रक्सी बनाउने र भ्याट छल्ने अथवा जग्गाको दलाली गर्नेले कमाएको जस्तो नाफा खोज्छन त्यतिखेर पत्रकारिता पत्रकारिता रहन सक्दैन।


एकपटक सोचौं त ८ महिनासम्म तलब नपाउने पत्रकार कसरी बाँच्छ? तलब नपाउँदा नपाउँदै पनि उ किन यही पेशामा सक्रिय छ?


पत्रकारिता एक किसिमको नशा हो। यसमा छिर्‍यो कि हत्तपत्त मानिस बाहिरिन सक्दैन। बाइलाइन प्रेम, टेलिभिजनमा देखिने अनुहार र सस्ता लोकप्रियता। मुलुकका चिनिएका साना-ठूला सबैसँगको उठबसले उसलाई पत्रकारिताबाट बाहिर निस्कन रोक्छ। समाजमा पत्रकार बन्दा पाएको 'रवाफ'ले उसलाई तल ओर्लिन दिँदैन। र, यही भ्रममा उ महिनौ तलब नपाउँदा पनि रवाफिलो देखिन छोड्दैन। पाएभन्दा बढी तलब लिएको 'धाक' लगाउन उ नै सबैभन्दा अगाडि हुन्छ। पत्रकारितालाई व्यवसायिक पेशाभन्दा यसलाई उनीहरुले 'प्रेस्टिज इस्यु'कारुपमा लिन तयार हुन्छन्। लामो समयसम्म तलबविहीन अवस्थामा पनि मिडियाबाट 'डिटेच' हुन नसक्नुको प्रमुख कारण यही हो। सरसर्तीरुपमा जति ठूलो र इज्जतिलो देखिएपनि आफ्नो हैसियत त पत्रकार आफैले देखेको हुन्छ। यो अवस्थामा क्षमता भए उ वैकल्पिक कामतिर सक्रिय हुन्छ। मिडियामा जोडिरहँदा पत्रकारले 'अरु काम' पाउने सम्भावना रहने पनि भयो। र, महिनौ तलब नदिँदा पनि उसले मिडिया छाड्न सक्दैन। अर्काथरी सोझै 'पत्रकार हूँ' भन्दै धम्क्याउन पनि पछि नपर्ने छन्। उनीहरुले 'कुत्तेका दाना' शीर्षकका आम्दानी यही पेशा देखाएर गरिरहेका हुन्छन्।


सीमित मिडिया हाउसबाहेक धेरैको अवस्था यस्तै छ। पत्रकारिता थाल्यो, छोड्न सक्दैन, बाँच्न पनि सक्दैन। अनि, मर्नुभन्दा बहुलाउनु निको। नेपाली पत्रकारको प्रेस स्वतन्त्रता यही घेरामा अल्झिएको छ।


रह्यो कुरा महासंघको। अखबार, टेलिभिजन, रेडियो, अनलाइनबाट 'घाइते कुर्नेले खानसमेत पाएनन्' भन्ने खबर सार्वजनिक गर्न प्रेरित गरेको भए उसको धर्म पूरा हुन्थ्यो। सम्वन्धित निकायलाई मिडियाबाट ध्यानाकर्षण गराएर उनीहरुले खान पाउने वातावरण तयार गर्ने जिम्मा पत्रकारको हो न कि भात बाढ्दै हिडने। न लुगा बाढ्दै र चामल बाढ्दै हिड्ने काम पत्रकारिता हो। पत्रकारिता त लुगा लगाउन नपाउने या खान नपाउनेका खबर बटुलेर राज्यलाई त्यसमा ध्यानाकर्षण गराउने हो। अनि सरकारले त्यसमा काम गरे नगरेको निगरानी गर्ने हो।


तर, हामी अन्त कतै अल्झिरहेका छौं। प्रेस स्वत्त्रताको दिवश मनाइरहँदा पत्रकार महासंघ र हामी संचारकर्मी सबैले आफ्नो दक्षता, क्षमता र इमान्दारिता पूरा गर्न के गरेका छौं त्यसको अलिकतिमात्रै पनि मूल्यांकन गर्‍यौ भने धेरै कुरा सुधारिने थियो। जय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता।