अष्ट्रेलियाको उच्च शिखरमा नेपाली झण्डा

Saturday, 02 June 2012 16:22 नागरिक
Print
(14 votes, average 3.36 out of 5)
ऋषि आचार्य, सिड्नी, अष्ट्रेलिया, जेठ २०- सगरमाथा आरोहण दिवसको अवसर पारेर नेपाली युवाहरुले अष्ट्रेलियाको उच्च शिखर माउण्ट कोजुअस्किको सफल आरोहण गरेका छन्।

अष्ट्रेलियामा क्रियाशिल पत्रकार, लेखक साहित्यकार तथा बैज्ञानिक सम्मिलित सात सदस्यि आरोहण टोलीले मे ३१ विहिवार माउण्ट कोजुअस्किको टुप्पोमा नेपालको झण्डा फहराएको हो। उक्त टोलीमा पत्रकार भिमशेन सापकोटा र ऋषि आचार्य, साहित्यकार तथा लेखकहरु निस्प्रभ सजी, संजीव पाण्डे र प्रदिप चापागाई, वैज्ञानिकहरु राजन क्षेत्री र बिमल केसी सहभागी थिए।

आरोहण शुरु गर्नु अघि नेपाली दुतावस क्यावेरामा आयोजित विशेष कार्यक्रममा राजदुत रुद्र कुमार नेपालले आरोहण टोलीका सदस्यहरुलाई नेपालको झण्डा हस्तान्तरण गरेका थिए। कार्यक्रममा बोल्दै राजदुत नेपालले विदेशमा पनि नेपाल र नेपालीको शिर उच्च राख्ने काम गर्न लागेकोमा आरोहण टोलीको प्रसंसा गरेका थिए। दुतावसका उपनियोग प्रमुख लोकबहादुर थापा, तृतीय सचिव पारस पण्डित तथा अन्य कर्मचारीहरुले सफल आरोहणको शुभकामना दिएका थिए।

यसअघि २९ मे सगरमाथा आरेहणको दिन सिड्नीस्थिति महावाणिज्यदुत दिपक खड्काको कार्यालयमा आयोजित एक कार्यक्रममा समुदायका अगुवाहरुले आरेहीहरुलाई बिदाइ गरेका थिए। सो अवसरमा नेपाल पर्यटन बोर्डका प्रतिनिधि मन खत्री, एनआरएनका सल्लाहकार रामजी विष्ट लगायत समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
बाक्लो हिउँका कारण आरोहणमा केही कठिनाई भोग्नुपरे पनि शिखरको टुप्पोमा पुग्दा सवै दुःख विर्षेको अनुभव टोली प्रमुख भिमसेन सापकोटाले सुनाए।

अष्ट्रेलिया टापु देश भए पनि माउण्ट कोजुअस्कि समुद्र सतहबाट ७ हजार ३ सय सात फिट उचाईमा रहेको छ। वर्षको पाँच महिना हिउँले ढाक्ने यो शिखर स्नोही पर्वत शृङ्खलामा पर्दछ। पोलिस अन्वेशक पोल एडमण्डले आज भन्दा एक सय ७० वर्षअघि पत्ता लगाएको यो पवर्तको हरेका वर्ष एक लाख भन्दा बढी पर्यटकले आरोहण गर्छन्। नेपाली दुतावास क्यानवेरा, न्यु साउथ वेल्स महाबणिज्यदुतको कार्यलय, अष्ट्रेलियाबाट प्रकासित हुने नेपाली पत्र पाक्षिक तथा असनेपाल न्युज अनलाइनको संयुक्त आयोजनामा यो आरोहण भएको हो।