मिस नेपाल एनआरएन युकेको सद्‍भावना दूत

Monday, 11 June 2012 13:26 नागरिक
Print
(0 votes, average 0 out of 5)
धर्मराज अधिकारी, बेलायत, जेठ २९- गैरआवासीय नेपाली संघ (एनआरएन) युकेले मिस नेपाल २०१२ कि विजेता सृष्टि श्रेष्ठलाई एनआरएन युकेको सद्‍‍भावना दूतमा घोषणा गरेको छ। श्रेष्ठको सम्मानमा 'इभेण्ट्स एण्ड आइडीयाज'ले आइतबार स्लाउस्थित एज एसियामा आयोजना गरेको कार्यक्रममा एनआरएन युकेका अध्यक्ष कुल आचार्यले उनलाई सद्भावना दुत घोषणा गरेका हुन।

सद्भावना दुत घोषणा गर्दै अध्यक्ष आचार्यले मिस नेपाल श्रेष्ठबाट सिंगो एनआरएन र नेपालले ठूलो आशा गरेको बताए। सामाजिक कार्यमा मिस नेपाल श्रेष्ठको सहभागिताप्रति खुशी व्यक्त गर्दै आचार्यले सिरहा र पोखराका पीडित परिवारलाई संकलित रकम उनकै हातबाट दिन आग्रह गरेका थिए।

कार्यक्रमको उद्‌घाटन गर्दै बेलायतस्थित नेपाली राजदुत शुरेसचन्द्र चालिसेले सृष्टि नेपालका लागि ठूलो रिसोर्स भएको र उनबाट देशले धेरै फाइदा लिनसक्ने बताए।

एनआरएनप्रति देशले ठुलो आशा गरेको स्पष्ट पार्दै चालीसेले सरकार एनआरएनको पहिचान सम्बन्धी कुरामा सकारात्मक रहेको जानकारी दिए।

पूर्व मिस युके नेपाल नवीना गुरुङद्धारा सञ्चालित सो कार्यक्रममा मिस नेपाल सृष्टिले प्रकृतिले भरीपुर्ण नेपालमा जन्मिन पाएकोमा आफुलाई गर्व लागेको बताइन। जतिसुकै पिडामा पनि हांस्न सक्ने नेपाली चिनारी विदेशीले पनि सिक्नुपर्ने उनको भनाई थियो। विभिन्न जात तथा धर्मले ओतप्रोत नेपाली समुदायको एकता नेपालीहरुको अर्को परिचय भएको उनले उल्लेख गरीन।

मिस नेपाल प्रतियोगितामा एनआरएन भएकै कारण आफुमाथि प्रश्न उठेको बताउँदै उनले प्रधानमन्त्री बाबुराम भट्टराई र माओवादी अध्यक्ष प्रचण्डसंगको भेटमा नागरिकताको कुरा उठाएको जानकारी दिइन।

सो अवसरमा आयोजक 'इभेट्स एण्ड आइडीयाज'की डाइरेक्टर शान्ति गुरुङले सृष्टि नेपाल र प्रवासी नेपालीहरुको लागि गौरव भएको बताईन। उनले सहभागिहरुप्रति आभार प्रकट गर्दै मिस वर्ल्ड प्रतियोगितामा सफल हुन सृष्टिलाई शुभकामना दिएकी थिइन।

मिस नेपाल सृष्टिको सम्मानमा आयोजना गरीएको सो कार्यक्रममा बेलायतभरबाट सयौं नेपालीहरु सहभागि भएका थिए। एनआरएन युकेले संकलन गरेको रकम सहित कार्यक्रममा उठेको रकम सृष्टि आफै सहभागी भई पोखरा र सिरहाका पिडितहरुलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।