सुन हालसम्मै उच्च, तोलाको ५७ हजार ७ सय

Wednesday, 20 June 2012 11:01 नागरिक
Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार ६ (नागरिक)- विवाहको मौसम सुरु भएकै बेला नेपाली बजारमा सुन महँगिएको छ। वर्षको सुरुवातदेखि नै महँगिँदै आएको सुनको भाउले मंगलबार नयाँ कीर्तिमान राखेको हो।


नेपाली बजारमा मंगलबार हालसम्मकै उच्च तोलाको ५७ हजार ७ सय रुपैयाँमा सुन किनबेच भयो। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, डलरको तुलनामा भारतीय रुपैयाँ (भारु)मा भएको अवमूल्यन लगायत कारणले सुन हालसम्मकै महँगो भएको हो। मंगलबार एकैदिन सुन तोलामा ६ सय रुपैयाँ बढेर हालसम्मकै उच्च भएको हो।

'सोमबारको तुलनामा मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ६ डलरले महँगिएको छ,' नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले मंगलबार साँझ नागरिकसँग भने, 'डलरका तुलनामा भारु सस्तिएकाले पनि भाउ बढेको हो।'

युरोपेली आर्थिक मन्दी समाप्त भइनसकेकाले सुनको भाउमा तीब्र उतारचढाव आइरहेको छ। यसले गर्दा सुनको भाउ संसारभरै उच्च हुने र घट्ने क्रम तीब्र छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १ हजार ६ सय २२ डलर भएका बेला नेपालमा भाउ तोकिएको थियो। मंगलबार भने प्रतिऔंस १ हजार ६ सय २८ डलर भएका बेला भाउ तोकिएको हो।

डलरका तुलनामा सोमबारभन्दा मंगलबार भारतीय रुपैयाँ कमजोर भएको छ। स्थिर विनिमय दरका कारण त्यसको असर नेपाली रुपैयाँमा पनि परेकाले सुनको मूल्य बढेको व्यवसायी बताउँछन्। डलर बलियो भएका बेला नेपालमा सुन आयात गर्दा बढी रकम तिर्नुपर्ने भएकाले पछिल्लो समयमा सुनको भाउ उच्च हुँदै गएको छ।

मंगलबार समेत गरी गत वैशाखदेखि नेपाली बजारमा सुनको भाउले ५ पटक वृद्धिमा कीर्तिमान कायम गरिसकेको छ। सुनको भाउ उच्च हुँदै गएपछि बजारमा यसको बिक्री भने घट्दो छ। 'अहिले विहेको मौसम भए पनि सुन दैनिक १५ किलोको हाराहारीमा मात्र बिक्री भइरहेको छ,' अध्यक्ष शाक्यले भने, 'यस्तो मौसममा दैनिक ३५ किलोसम्म बिक्री हुन्थ्यो।'

अहिले पुराना गहना ल्याएर नयाँ बनाउनेहरु बढेको व्यवसायी बताउँछन्। उनीहरुका अनुसार पुराना गहना ल्याएर नयाँ बनाउनेहरु ४० प्रतिशतले बढेका छन्। सरकारले अहिले वाणिज्य बैंकहरुलाई दैनिक २० किलो सुन आयात गर्न अनुमति दिएको छ। अहिले बैंकहरुले आयात गरेको सुन बिक्री भएको छैन।