सेयर प्रमाणपत्र नभएपनि कर्जा दिन बैंक तयार

E-mail Print
(0 votes, average 0 out of 5)
नारायण सापकोटा, काठमाडौं, असार १४ -नियामक निकाय राष्ट्र बैंक र धितोपत्र बोर्डले निर्देशन जारी गरेपछि सेयर प्रमाणपत्र नभएपनि रसिद र स्टक ब्रोकरको पत्रका आधारमा कर्जा प्रवाह सुरु गर्न बैंक तथा वित्तीय संस्था तयार भएका छन्।

लगानीकर्ताले सेयर खरिद गरेको रसिद र आवश्यक कागजात स्टक ब्रोकरले बुझाएपछि बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जा दिने छन्।

'विश्वासिलो स्टक ब्रोकरले पठाएको पत्र र खरिद रसिदका आधारमा कर्जा सुरु हुन्छ' एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले बुधबार नागरिकसँग भने। सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले पनि विश्वासिलो ब्रोकरको पत्रका आधारमा सेयर प्रमाणपत्र नभएपनि कर्जा दिन सकिने बताए।

विगतमा यसरी कर्जा दिंदा राष्ट्र बैंकले रोेकेको थियो। अहिले राष्ट्र बैंकले नै सेयर खरिद रसिद र स्टक ब्रोकरको जमानतमा लगानीकर्तालाई कर्जा उपलव्ध गराउने व्यवस्था कार्यान्वयनका लागि निर्देशन दिएपछि बैंक तथा वित्तीय संस्था कर्जा दिन तयार भएका हुन्।

'राष्ट्र बैंक र बोर्डको निर्देशनसँगै बैंक तथा वित्तीय संस्थालाई कर्जा प्रवाहका लागि दायित्व सिर्जना नहुने गरि पत्र पठाउन समस्या छैन' स्टक ब्रोकर एशोसियशनका अध्यक्ष अन्जनराज पौडेलले भने-'एक दुई दिनमा नै यस्तो कर्जाका लागि लगानीकर्ता बैंकमा जाने देखिएको छ।'

लगानीकर्ताले सेयर खरिद गरेको प्रमाण, करार नोट जारि गर्ने, खाली हस्तान्तरण(विटि)को कागजात बुझाउने, सेयर नामसारी भएपछि प्रमाणपत्र बैंक तथा वित्तीय संस्थालाई उपलव्ध गराउने, सेयर बिक्री भएको रकम सम्वन्धित बैंकलाई बुझाउने जिम्मेवारी बोर्डले ब्रोकरलाई दिएको छ। ब्रोकरले कानुनी व्यवस्था वमोजिम सेयर खरिद बिक्री गर्न र शुल्क लिन नपाउने व्यवस्था शंसोधन गर्नुपर्ने, सेयर किनेकै दिन बिटिमा राख्न माग गरेपनि बोर्डको निर्देशनपछि काम गर्ने जाँगर देखाएका हुन्। 'यो व्यवस्था कार्यान्वयनमा ल्याउन ब्रोकर सकारात्मक छन्' पौडेलले भने-'लगानीकर्ता पनि उत्साहित देखिएका छन्।'
केन्द्रिय निक्षेप प्रणाली(सिडिएस) सञ्चालनमा आएपछि यस्तो कर्जा प्रवाह गर्न अझ सहज हुने बैंकरले बताएका छन्। सिडिएस आएपछि कागजी सेयर प्रमाणपत्रको प्रयोग अन्त्य हुने, कसले सेयर बिक्री गरेको छ र किनेको छ उसको खातामा नै देखिने भएपछि कर्जा प्रवाह गर्न बैंकले झन सजिलो हुनेछ।

बैंकहरुले सेयरमा दिने यस्तो कर्जाको व्याज पनि १३/१४ प्रतिशतमा झर्ने भएको छ। '१५/१६ प्रतिशत रहेको सेयर कर्जाको व्याज अहिले तरलता बढेकोले घट्ने छ' पौडेलल भने। यसले सेयर बजारमा लगानीको रकम बढाउने उनले बताए।

बजार मूल्यको ५० देखि ७० प्रतिशत सम्म कर्जा बैंकहरुले लगानीकर्तालाई दिने छन्। 'कम्पनीलाई हरेर सेयर कर्जा कति दिने भन्ने निर्णय हुन्छ' भण्डारीले भने।
बजार पटक-पटक घटेर क्रयास हुँदा पनि सेयर कर्जा नडुबेको पौडेलले बताए। आर्थिक वर्ष २०५७/०५८ र अहिले सेयरको मूल्य उच्चदरले घट्दा कर्जा नडुबेको उनले बताए। समग्र बैकिङ क्षेत्रमा अन्य क्षेत्र जस्तो सेयरमा गएको ऋण उठाउन बैंकहरुलाई समस्या पनि छैन। सेयर धितोमा रहेको कर्जा नउठेको अवस्थामा सेयर बिक्री गरि बैंकहरुले उठाउँदै आएका छन्।

बजार सुधारका लागि नीतिगत व्यवस्था गर्न अर्थमन्त्रालयले केही दिनअघि नौ बुँदे योजना सार्वजनिक गरेको थियो। यसको पहिलो बुँदामा सहज सेयर कर्जा प्रवाह गर्ने व्यवस्था थियो। तत्कालका लागि ब्रोकरको जमानतमा सेयर कर्जा दिने र दीर्घकालका लागि मार्जिन लेन्डिङको व्यवस्था कार्यान्वयनमा ल्याउने सहमति छ।

दीर्घकालमा स्टक ब्रोकरले डिलरसिपको लाईसेन्स लिएर मार्जिन लेन्डिङको काम गर्नुपर्नेछ। यसका लागि अलग्गै निर्देशिका जारी गर्ने जानकारी बोर्डका निर्देशक निरज गिरिले दिए। ब्रोकरले बैंकबाट कर्जा लिएर लगानीकर्तालाई दिने 'मार्जिन लेन्डिङ' तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने माग पौडेलले गरे।

अल्पकालीन रुपमा सेयर कर्जाको सहज बाटो अवलम्वन गर्दै दीर्घकालीन रुपमा मार्जिन लेन्डिङ सुरु गर्ने विषयमा बोर्डले अध्ययन थालेको छ। मार्जिन लेन्डिङ र मर्चेन्ट बैंकरको व्यवसाय विस्तारको विषय समेत यसमा समेटिनेछ। स्टक ब्रोकरसँगै मर्चेन्ट बैंकरले मार्जिन लेन्डिङको काम गर्ने इच्छा देखाउँदै आएका छन्।
ब्रोकरले उसका ग्राहकलाई कर्जा दिने व्यवस्था पंचवर्षिय गुरुयोजनामा समेत राखिएको छ। अहिले बैंक तथा वित्तीय संस्थाले दिईरहेको सेयर धितो कर्जालाई मार्जिन लेन्डिङ भन्ने गरिएको छ। मार्जिन लेन्डिङ भनेको ब्रोकर मार्फत लगानीकर्तालाई कर्जा दिनु हो। भारतमा सेयर दलाल मार्फत नै मार्जिन लेन्डिङ भैरहेको छ। भारतमा ५० प्रतिशत रकम लगानीकर्ताले बुझाएपछि ५० प्रतिशत सेयर दलाल मार्फत ऋण लिएर सेयर किन्न सकिने व्यवस्था छ।
मूल्य घटेको अवस्थामा दलालले नै मार्जिन कल गर्छन। दलालले मागे वमोजिम रकम नबुझाएको अवस्थामा उनीहरुले लगानीकर्ताले किनेको सेयर बिक्री गरि कर्जा असुल गर्छन।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता