मल अभाव अझै चर्कने

E-mail Print
(0 votes, average 0 out of 5)
विष्णु पोखरेल, काठमाडौं, असार १४ -सरकारी निकायले एक अर्कालाई पन्छाउदै निर्णय नगर्दा मुलुकभित्र चरम अभाव भइसक्दा पनि भारतबाट ल्याउने भनिएको ३० हजार टन मल अनिश्चित भएको छ।

कृषि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री बाबुराम भट्टराई र कृषि सचिवले कृषि सामग्री कम्पनी लिमिटेडलाई निर्णय नदिदा भारतबाट ल्याउनुपर्ने मल अनिश्चित भएको हो।

संसदको लेखा समितिले गत चैत ३ गते कालोसूचीमा राख्न निर्देशन दिएको इन्डियन पोटास लिमिटेड(आइपिएल)का विषयमा कृषि मन्त्रालयले निर्णय नदिदा मल कम्पनीले मल ल्याउन सकेको छैन।

'मन्त्रालयले दुइलाइन चिठी लेखेर ल्याउन निर्देशन दियो भने हामी तत्काल एग्रिमेन्ट गरेर ल्याइहाल्छौ,' कृषि सामग्री कम्पनीका निमित्त प्रबन्ध सञ्चालक शशिराज तुलाधर नागरिकसँग भने, 'अनुमति पाए बैंकबाट ऋण खोजेर पनि मल ल्याउछौ।'

दुई साता अघि कृषि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री भट्टराईले सचिवहरुलाई बोलाएर प्रकृया पुर्‍याई आइपिएलबाटै मल ल्याउन निर्देशन दिएका थिए। सरकारले आइपिएलमार्फत नै मल ल्याउन दिने भनेपछि कम्पनीले एक साता अघि नै कृषि मन्त्रालयको निर्देशन मागेको थियो।

मन्त्रालयले मल ल्याउने-नल्याउने विषयमा निर्देशन नदिएपछि कम्पनीले बुधबार फेरि मन्त्रालयमा पत्र पठाएको छ। यसपटक कम्पनीले सञ्चालक समितिको निर्णय सहित पत्र पठाएको हो। 'पहिले पत्र पठाउदा पनि स्पष्ट निर्देशन पाएनौ,' तुलाधरले भने, 'यसपटक भने बोर्ड मिटिङको निर्णय अनुसार पठाएका हौ।'

गत चैतमा लेखा समितीले बोरामा कम तौल राखेर मल पठाएपछि आइपिएललाई कालोसूचीमा राख्न निर्देशन दिएको थियो। समितिको निर्देशन पछि सरकारले आइपिएललाई कालोसूचीमा राख्ने वा नराख्ने भन्ने विषयमा निर्णय गर्न सकेको छैन।

भारतले भने आफुले दिने मल आइपिएलमार्फत मात्र दिने अडान लिदै आएको छ। भारतको अडानपछि यसवर्ष उसले सहुलियत दरमा दिने १ लाख टन मलमध्ये साढे १२ हजार टन युरिया र ३० हजार टन डिएपी मल आउन सकेको छैन। हालै कम्पनीले साढे १२ हजार टन युरियाका लागि भारतको मेटल्स एन्ड मिनरल्स ट्रेडिङ कम्पनी(एमएटिसी)सँग भने सम्झौता गरेको छ।

सम्झौता गरिएपनि हालसम्म यो युरिया नेपाल आएको छैन। कम्पनीले एक साता अघि आउने भनेपनि हालसम्म भारतमै लोड भएको छैन। 'भोली चाही लोड भएर रेल चढ्छ,' बुधबार तुलाधरले नागरिकसँग भने, 'आइपुग्न अझै ४-५ दिन लाग्छ।'

कम्पनीले मन्त्रालयको निर्देशन विना लेखा समितिले कालोसूचीमा राख्न निर्देशन दिएको कम्पनीसँग मल खरिद गर्न नसक्ने बताउदै आएको छ। मन्त्रालयका अधिकारीहरु भने यस विषयमा बोल्नै चाहदैनन्। कृषि सचिव नाथुप्रसाद चौधरीले मलको विषयमा कुरा गर्न चाहेनन्।

कृषि मन्त्रालय सम्हालेका प्रधानमन्त्रीले पनि 'प्रकृया अनुसार मिलाएर ल्याउनु' भन्ने निर्देशन मात्र दिएकाले मल ल्याउने सम्झौता गर्न नसकिएको कृषि सामग्री कम्पनीका अधिकारीहरु बताउछन्।

कृषि मन्त्रालयका उच्च अधिकारीहरुका अनुसार भने भारत वा लेखा समितिको निर्णय विपरित जाने आँट कसैको नभएकाले निर्णय नभएको हो। 'प्रधानमन्त्री, सचिव देखि कम्पनीका मान्छेले समेत आफु पन्छिने खालको मात्र निर्णय गरेका छन्, कसैले पनि ठोस निर्णय दिएका छैनन्,' मन्त्रालयका एक उच्च अधिकारीले भने, 'अभावका बेलामा जनतालाई आँखामा छारो हाल्न मात्र नाटक गरेका हुन्।'

भारतले माधवकुमार नेपाल प्रधानमन्त्री भएका बेला प्रत्येक वर्ष नेपाललाई १ लाख टन मल दिने सहमती भएको थियो। सोही निर्णय अनुसार कम्पनीले विना ठेक्का प्रकृया भारतको आइपिएल र एमएमटिसीसँग मल किन्दै आएको छ। यो मल भारतले सहुलियत दरमा नेपाललाई दिने सहमती भएको हो।

 

कृषि क्षेत्रको दिर्घरोग-मल अभाव

किसानलाई अनुदानमा मल उपलब्ध गराई कृषि उत्पादन वृद्धि गर्ने भन्दै लोकप्रिय कार्यत्रम घोषणा गर्ने सरकारकै कारण मुख्य बाली लगाउने बेला वर्षेनी मल अभाव हुने गरेको छ। सरकारले अनुदानमा सस्तो मल ल्याउन थालेपछि निजी क्षेत्रले समेत ल्याउन छाडेकाले वर्षेनी किसानले यसको मार खप्नु परेको छ।

अपर्याप्त बजेट विनियोजन, कमिसनका लागि ढिलो गरि ठेक्का आह्वान र भारतिय सहुलियतको मल ल्याउन समयमै निर्णय नगर्दा मल अभाव हुने गरेको हो। यसपाली पनि यिनै कारणले मल आउन नसक्दा मुख्य बाली लगाउने मौसममै किसानले मल पाएका छैनन्।

मल आयात गर्दा कृषि मन्त्री, सचिवदेखि कृषि सामग्री कम्पनीका उच्च अधिकारीले समेत कमिसन पाउने गरेको मन्त्रालयकै अधिकारीहरु बताउछन्। 'कमिसनको कुरा नमिलेसम्म ग्लोबल टेन्डर गरेर ल्याउने मलको ठेक्का प्रकृया नै सुरु हुदैन,' कृषि मन्त्रालयका एक अधिकारीले भने, 'मन्त्रीदेखि तलसम्म सबै प्रपन्च मिलाउदा सधैं ढिलो हुन्छ।' विकास निर्माणका काममा बजेट सक्न आर्थिक वर्षको अन्त्यमा काम गरिएजस्तै प्रत्येक वर्ष बाली लगाउने मौसममा मात्र ठेक्का आह्वान हुने गर्छ।

अघिल्ला वर्षहरुमा जस्तै यो वर्ष पनि ढिलो गरि मलको ठेक्का आह्वान गरियो। कृषि सामग्री कम्पनीले असार ३ गतेसम्म अन्तिम म्याद राखेर आह्वान गरेको ग्लोबल टेन्डरमार्फत आउने ५० हजार टन मल असोजमा मात्र आइपुग्छ। यो मल हिउदे बालीका लागि मात्र उपलब्ध हुनसक्ने कम्पनीले जनाएको छ।

भारत सरकारले १ वर्षभित्र सहुलियत दरमा दिने १ लाख टन मलमध्ये साढे ४२ हजार टन मलको विषयमा पनि समयमा निर्णय नहुदा यसपाली मल अभाव चर्केको हो। यो मल आएको भएपनि कम्पनीले मागको करिब आधा मात्र उपलब्ध गराउने अवस्था थियो। यो मौसमका लागि करिब १ लाख टन मलको माग छ।

आईपिएलबाट मल आएको भए मौज्दात सहित करिब ५५ हजार टन मात्र उपलब्ध हुने थियो। यसका लागि कम्पनी र कृषि मन्त्रालयका अधिकारीहरुले वर्षेनी बजेट अभाव भएको बताउदै आएका छन्।

यसपटक पनि बजेट अभावले गर्दा पर्याप्त मल आउन नसकेको उनीहरुको दाबी छ। नेपालमा वार्षिक करिब ७ लाख टन रसायनिक मलको आवश्यकता छ। मलको माग वर्षेनी १४ प्रतिशतले वृद्धि हुन्छ। सरकारले तीन वर्षदेखि मलमा अनुदान दिदै आएको छ। चालु आर्थिक वर्षका लागि सरकारले मलमा ३ अर्ब रुपैयाँ अनुदान छुट्टयाएको थियो। त्यसमध्ये रसायनिक मलका लागि २ अर्ब ८३ करोड छुट्टयाइएको थियो।

यो रकमबाट कम्पनीले जेठसम्म १ लाख ४० हजार टन मल ल्याईसकेको छ। मन्त्रालयले माग पुरा गर्नलाई करिब ७ अर्ब रकम आवश्यक वर्षे बताउदै आएको छ। सरकारले आर्थिक वर्ष ०६६/६७ देखि अनुदान दिदै आएको छ। त्यसवर्ष १ अर्ब ५५ करोड अनुदान दिएकोमा यसलाई बढाउदै लगेको छ।

'मल अभाव नेपालको कृषि क्षेत्रको दिर्घरोग हो,' कृषिविज्ञ कृष्ण पौडेलले भने, 'कमिसनको खेलका कारण वर्षेनी कृषकले दुःख पाउने गरेका छन्।' उनले मल अभावको दीर्घकालिन उपया नसोच्ने हो भने नेपालको कृषि उत्पादनमा ह्रास आउदै जाने बताए।

कृषिविज्ञका अनुसार, समयमै मात्रा मिलाएर मल नहाले धान र तरकारीमा ३०, मकैमा ४०, गहुँमा ५० र ऊखुमा ७० प्रतिशत उत्पादन ह्रास हुन्छ। काठमाडौमा जेठ, पहाडमा असार र तराईमा साउनमा धेरै धान रोपिन्छ। यसबेला मल अभाव भएपछि उत्पादन कम हुने सम्भावना बढ्छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता