उनी रासायनिक मलको खोजीमा कृषि सामग्री कम्पनीको धुलिखेलस्थित शाखा कार्यालयमा आएका थिए। नेपालको माटो र बालीनालीमा परीक्षण नै नगरी झोल मल प्रयोग गर्न किसानलाई एकैपटक प्रोत्साहन गर्नु ठिक नभएको हुमागाईं बताउँछन्।
कृषि सामग्री कम्पनीले स्पेनको अल्फ्रेडा इनेस्टा एसएल कम्पनीको उत्पादन लोम्ब्रिको पी, लोम्ब्रिको एन, लोम्ब्रिको के र लोम्ब्रिको एनपिके ब्रान्डका झोल मललाई शाखामार्फत बिक्री गर्दै आएको छ।
मागअनुसारको रासायनिक मलको विकल्पमा ल्याइए पनि किसानले प्रयोग गर्न रुचि नदेखाउँदा कम्पनीको धुलिखेल शाखाले हालसम्म सबै ब्रान्डका ७ सय लिटरमात्रै बिक्री गर्न सकेको छ।
'रासायनिक मल हाल्न थालेका किसानलाई विकल्पमा झोल मल हाल्न लगाउनु कठिन कार्य हो,' कम्पनीका बिक्रेता नवराज महतले भने। झोल मलबारे किसानलाई प्रष्ट रुपमा बुझाउन नसकेसम्म कम्पनीबाट जोड दिएरमात्रै बेच्न नसकिने उनको अनुभव छ।
शाखाले झोल मल प्रयोग गर्ने विधिको एक पाना फोटोकपी पनि मलसँग्ौ दिँदै आएको छ। त्यहाँसमेत झोल मलको परीक्षण नतिजा र प्रभावकारिताबारे कुनै आधिकारिक कागजपत्र छैनन्।
'दुई दिन कुर्दासमेत युरिया मल पाइएन। जे पर्ला पर्ला भनेर चार लिटर मल किनेर घर फर्कंदै छु। काम गर्यो भने ठिकै छ नभए यस वर्षको मकैमा जुवा खेलियो,' रामेछाप बेथानका किसान एकबहादुर कोइरालाले भने।
यस्तै दोधारमा काभ्रे, पात्लेखेतकी किसान अम्बिका पाठक भेटिइन्। गाउँकै सहकारीका सदस्यलाई आवश्यक रासायनिक मल लिन आएकी पाठक आफैंले जोखिम मोलेर झोल मल प्रयोग गर्ने विचारमा रहेको बताइन्। 'आफ्नो बिग्रे परिवारलाई सम्झाउँला। सदस्यहरुको बाली बिग्रे के गर्ने?,' पाठकले भनिन्।
सरकारी अनुदानमा आएको झोल मल भए पनि कृषि सेवा प्रदायक जिल्ला कृषि विकास कार्यालयले समेत अनौपचारिक रुपमा यसबारे किसानलाई जानकारी दिने गरेको छ।
कृषिमा प्रयोग हुने कुनै पनि मलबारे अध्ययन, परीक्षण नतिजा र प्रभावकारिताबारे जानकारी नआउँदासम्म किसानलाई प्रयोग गर्न प्रोत्साहन गर्न नसकिने वरिष्ठ कृषि विकास अधिकृत सहदेवप्रसाद हुमागाईं बताउँछन्।
'कृषि सामग्री कम्पनी र कृषि विकास कार्यालय एकै मन्त्रालय अन्तर्गत भए पनि मन्त्रालय या विभागबाट निर्देशन आउनुपर्यो। त्यसपछि मात्रै सेवा केन्द्रका प्राविधिकलाई निर्देशन दिन सक्छौं,' हुमागाईंले भने।
प्रतिक्रियाहरू (0)
