धरावासीको आँसु रोकियो

E-mail Print
(4 votes, average 3.75 out of 5)
बसन्त बस्नेत, काठमाडौं, असार १६ -गत वर्ष पत्नी गुमाएका कलाकार हरिवंश आचार्यले अर्को बिहे गरेको समाचार सेलाउन नपाउँदै उही समय उही पीडा भोगेका लेखक कृष्ण धरावासीले शुक्रबार बिहे गरे। कवि तीर्थ श्रेष्ठको भाषामा ‘धरावासीलाई धरावासी बनाउन महत्वपूर्ण भूमिका खेल्ने सीताजी' बितेको एक वर्षपछि झापा बिर्तामोडकी मन्जु विमली उनको जीवनसाथी भएकी छन्।

नेपाली साहित्यमा चर्चित लीला लेखनका एक अगुवा धरावासीको शुक्रबार राजधानी धुम्बाराहीको पार्टी प्यालेसमा आयोजित बिहे समारोहमा ४०-५० जनाको हाराहारीमा निम्तालु थिए। ‘धरावासी यो जीवन लीला हो भन्दै लेख्थे, हिँड्थे,' उनीहरूले खुसियाली साटे, ‘अन्ततः ‘कृष्ण'कै जीवनमा लीला हुनपुग्यो।'

बिहेका दिन बेहुली खुसी देखिइन्, साहित्यकार धरावासीचाहिँ गम्भीर। ‘यो नकारात्मक वा उत्साहित हुनुपर्ने खालको बिहे होइन,' उनले नागरिकसँग भने, ‘यो परिस्थितिले जन्माएको हो।'

छोरी प्रतिमाले कोट लगाएर बुबालाई पार्टी प्यालेस पठाइन्। दुर्गा र विवेकले पनि सन्तोष माने। बिहेस्थलमा भने छोराछोरी आएनन्। ‘मान्छेहरूको ध्यान आफूतिर बढी जाला भनेर नआएका,' धरावासीले भने।

साहित्यमा कलम चलाइरहेकी नवपत्नी मन्जुको पनि यो दोस्रो बिहे हो। १२ वर्षअघि श्रीमानसँगै बेलायत गएकी उनी तीन वर्षअघि नेपाल आइन्, तर एक्लै। दोस्रो बिहेको दिन पहिलो सम्बन्धबारे उनी खासै खुल्न चाहिनन्। अलिकति भने खोलिन्, ‘लन्डन बसेको तीन वर्षसम्म पारिवारिक सम्बन्ध राम्रै थियो, पछि त्यस्तै केही भो, छुट्यो।' पहिलो पतितर्फ उनका छोरा अपूर्व सिटौला वैशाखयता विराटनगरमा पढिरहेका छन्। पारपाचुकेपछि आफूले नै हेरचाह गरेको उनले खुलाइन्।

धरावासीपट्टिका छोराछोरीहरू ‘फ्रेन्ड्ली रहेको' उनले बताइन्। दिवंगत सीताजीकी आमा धनमाया पोखरेलले ज्वाइँसँग चिनाउन अनुरोध गरेपछि घरमा भेट्न आउने क्रममा दुर्गा, विवेक र प्रतिमासँग उनको भेट भएको थियो। ‘छोरीकै रूपमा देखेर फर्कन चाहन्छु भन्नुभो,' धरावासीले भने, ‘आज बिहानै टेलिफोन गरेर नयाँ जीवनका लागि बधाइ पनि दिनुभो।'
दोस्रोपल्ट बिहे गर्दा संकोच लागिरहेको मन्जुले बताइन्। ‘तर अप्ठेरो मानेर मात्रै कति दिन बाँच्ने, अब खुसी मान्नुपर्ने हुन्छ,' उनले भनिन्, ‘समाजको सोच्ने तरिका बदलिँदै गयो, मान्छेहरूले परिस्थिति बु‰लान्।' मन्जुको कविता कृति ‘दुई थोपा आँशु' तीन वर्षअघि लन्डनमै विमोचन भएको थियो। संस्मरणको किताब लेख्दै गरेकी उनी मुस्काइन्, ‘यसको शीर्षकचाहिँ उहाँले नै राखिदिनुहोला।'

छोरा दुर्गा विनयले बिहेलाई सहज रूपमा लिए। बुबाको उमेर ढल्कँदै जाने क्रममा कसै न कसैको साथ आवश्यक पर्ने भएकाले बिहेबाट समाजलाई राम्रो सन्देश जानुपर्ने उनको बुझाइ छ। ‘छोराछोरी र भाइबहिनी भएर मात्रै हुँदैन, जीवनसाथी जत्तिको नजिक त कोही हुँदैन,' दुई कथाकृतिका लेखक दुर्गाले दमकबाट टेलिफोनमा भने, ‘यदि बुबा हुनुहुन्थेन भने ममीलाई पनि त कोही चाहिन्थ्यो होला नि!'

छोरी प्रतिमालाई अघिल्लो साल आमा गुमाएको पीडा बाँकी नै छ। तर धरावासीलाई सधैं एक्लो अवस्थामा देखिरहन पनि आफूले नचाहेकाले बिहे गर्न सल्लाह दिएको उनले बताइन्। ‘फेरि बिहे गर्ने कुरा कस्तो कस्तो त लागिहाल्छ नि, दिमागले मात्रै सधैं काम गर्दैनरहेछ,ं' उनले भनिन्, ‘त्यसैले हामीले बुबालाई सपोर्ट गरेका हौं।' यो बिहेले बुबाको जीवन सुखमय हुने उनले आशा राखिन्।
मन्जुलाई ममी, सानोममी भनी बोलाउँदा तीनै छोराछोरीलाई आफ्नी आमाको झल्कोले सताउने गर्छ। त्यसैले उनीहरू ‘आन्टी' सम्बोधन गर्छन्। ‘सानोममी, ममी भनेर बोलायो भने ममीको ठाउँमा उहाँ आएको अनुभूति हुँदो रहेछ,' प्रतिमाले गह्रौ स्वरमा भनिन्, ‘त्यसैले अरु आन्टीहरूलाई झैं उहाँलाई पनि त्यसै भन्छौं।'
मदन पुरस्कारसहित थुप्रै राष्ट्रिय पुरस्कार पाइसकेका धरावासीका अढाइ दर्जन कृति प्रकाशित छन्। उनका पाहुनाको उपस्थिति र कतिपयले बिहेमा पनि आफूले लेखेका किताब आदानप्रदान गरेको देख्दा बिहे समारोह कुनै साहित्यिक कार्यक्रमजस्तो लाग्थ्यो। धरावासीलाई नेपाली साहित्यका पाठकले चिन्न थालेको दुई दशक नाघिसक्यो। आफ्नो पृष्ठभूमिबारे जानकार नेपाली समाजले यस बिहेलाई कसरी हेर्ला भन्ने कता कता परेको रहेछ उनलाई। ‘लेखक सार्वजनिक प्राणी हो, उसका गतिविधि समाजका लागि विम्ब बन्छन्,' उनले भने, ‘अघिसम्म सीताजीको बारे लेखिरहेको बोलिरहेको मैले अर्को बिहे गर्दा समाजले कसरी हेर्छ होला भन्ने चिन्ता कता-कता लाग्दो रहेछ।'

पछिल्लो समय धरावासीका कृतिहरू छापिरहेको पैरवी बुक्सका खगेन्द्र भट्टराईले गत वर्ष उनीहरूलाई चिनाइदिएका हुन्। तर केही महिना अघि मात्र बिहे गर्नेगरी छलफल भएको उनले बताए। ‘धरावासीको उमेर र स्वास्थ्य देखेर छोराछोरीहरूले बिहेबारे उपाय सुझाउनुपर्ने भनिरहेका थिए, त्यसैले पहल गरेका हौं,' उनले भने।
धरावासी र मन्जुलाई परम्पराअनुसार मण्डपमा राखेर बिहे गराउने पुरोहित कमल ढुंगेलले यसअघि पनि यस्तै बिहेकर्म सम्पन्न गराएको अनुभव सुनाए। धरावासीजस्तो प्रतिष्ठित लेखकको कर्म गराउन पाएकामा उनले खुसी व्यक्त गरे। ‘असामान्य अवस्थामा दोस्रो बिहे गर्न संस्कारले छेक्दैन,' उनले शास्त्रको सन्दर्भ कोट्याए, ‘परम्परामा यस्तो छैन भन्दै घरबार बसाउन नदिनु भनेको शोषण हो।'

पत्नी गुमाएको समान पीडा भोगेका हरिवंश आचार्यलाई धरावासीले गत वर्ष नागरिकमा लेखेका थिए, ‘खुब रोऔं हरिवंशजी, खुब रोऔं, पत्नी गुमाएको दिन पनि नरोए कहिले रुनु त?' हरिवंशले पनि प्रत्युत्तरमा ‘एक दिन सँगै भेटेर रोऔंला' भन्ने कबुल गरेका थिए। एक वर्षपछि दुवैले अर्को बिहे गरेका छन्। शुभचिन्तक र पाठकहरुको अपेक्षा हुनसक्छ- अब उनीहरु रुने छैनन्।

 

आमन्त्रित लेखक भन्छन् :

धरावासीको आँटिलो कदम : विष्णुविभु घिमिरे

सीताजीको वियोगले धरावासीलाई धेरै असर पारेको थियो। भावनामा बहकिएर जीवन चल्दैनथ्यो। व्यावहारिक पाटो हेर्नैपर्थ्यो। यो बिहेको निर्णयले हामी खुसी छौं।
पहिले पनि यस्तो घटना भएको छ। माधव घिमिरेले पत्नीको वियोगमा ‘गौरी' लेख्नु भो। त्यसपछि महाकालीसँग दोस्रो बिहे गर्नु भो। त्यसो नगरेको भए उहाँलाई घरपरिवार चलाउन गाह्रो हुन्थ्यो होला। नयाँ सिर्जना गर्न सक्नुहुन्नथ्यो होला। हामीले यतातिर पनि ध्यान दिनुपर्छ। मानिसलाई आफ्नो कुरा बुझ्ने साथी चाहिन्छ। त्यो अरुले बुझिदिएर हुँदैन। त्यसमाथि लेखक, कलाकारजस्ता सार्वजनिक मान्छेबारे अनेक प्रचार हुन्छन्। तर जीवन कसरी धानिरहेको होला भन्ने बारे कोही बोल्दैनन्। धरावासीलाई सघाउने, सल्लाह दिने, प्रेरणा दिने मान्छे चाहिएको थियो। अनि लेखक, पत्रकार र आफन्तलाई पनि कहिलेकाहिँ भेट्न जाँदा एक कप चिया खुवाउने, हाँसेर बोल्दिने मान्छे चाहिएन? त्यसैले नहुने कुरा भइहाल्यो, त्यसैमा विलाप गर्ने कुरा पनि आएन। धरावासीको अर्को बिहे आँटिलो कदम हो।

पाठकहरू खुसी हुने दिन : सन्जीव उप्रेती, लेखक, प्राध्यापक

कृष्ण मेरा बालसखा हुन्। सीताजीको निधनले उनलाई धेरै गाह्रो भएको थियो। उनीहरू दुवै एक अर्कालाई अन्तिम समयसम्म पनि असाध्यै माया गर्थे। कुनै अर्को लोकमा सीताजी हुनुहुन्छ भने यो खबरले उहाँ अवश्य खुसी हुनुहुन्थ्यो। किनकि उहाँ कृष्णलाई सधैं खुसी देख्न चाहनुहुन्थ्यो।
कृष्ण नाम चलेका लेखक हुन्। उनको मनोविज्ञानमा सधैं सकारात्मक प्रभाव परिरहनुपर्छ। अब उनी फेरि उत्साहित हुनुपर्छ। आज नेपाली लेखक, पाठक र उनका शुभचिन्तक सबै खुसी हुने दिन हो।

पीडाबाट उम्किने साइत : तीर्थ श्रेष्ठ, कवि

सुनामी आइसकेका ठाउँमा बस्ती बसालिन्छन्। मान्छेको जीवनमा पनि सुनामी आउँछ। धरावासीले अघिल्लो साल त्यसलाई भोग्नुभयो।
उहाँले जागिरसमेत छाडेर पूर्णकालिक लेखकका रुपमा हैसियत बनाइसक्नुभएको छ। यो बिहेपछिको जीवनले त्यसलाई अघि बढाउन साथ दिनेछ। सीताजीको देहावसानपछि पीडाबाट उम्किने र जीवनलाई नयाँ ढंगबाट अघि बढाउने साइतमा उपस्थित हुन पाउँदा असाध्यै खुसी छु। धरावासीलाई धरावासी बनाउन सीताजीको योगदान छ, कतै आत्मा छ भने सीताजीको आत्माले पनि आजको दिनलाई स्विकारेको हुनुपर्छ। आफ्नो अनुपस्थितिमा पनि धरावासीको जीवन सहज ढंगले चलेको हेर्न उहाँ पक्कै चाहनुहुन्थ्यो होला।

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

कला

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता