
श्याम भट्ट, काठमाडौं, असार १४- नोबल पुरस्कार विजेता बंगलादेशी पिता मोहम्मद युनुस र रसियाली आमाकी प्रख्यात ओपेरा गायक छोरी मोनिका युनुस आफ्ना पति ब्रान्डन म्याकरेनोलडससँग जुलाई पहिलो साता काठमाडौं आउँदैछिन्।
न्युयोर्कस्थित मेट्रोपोलिटन ओपेराकी मुख्य गायक (सोप्रानो) मोनिका आशाको लागि संगीत(सिंग फर होप)की निर्देशक समेत हुन्। पश्चिमा शास्त्रीय संगीतको मुख्य विधा ओपेरा गायनमा सबैभन्दा उँचो सुरमा लामो समय गाउने गायकगायिकालाई सोप्रानो भनिन्छ।
मोनिकाले सिंग फर होपमार्फत् उत्पीडित र आवश्यकता भएकाहरूको लागि, अस्पतालका बिरामीका लागि संगीतको कार्यक्रम र स्कुले नानी र युवाहरूका लागि काम गर्दै आएकी छन्।
आगामी असोज पहिलो साता हुने नेपाल म्युजिक फेस्टिभलका आयोजकको निम्तोमा मोनिका नेपाल आउन लागेकी हुन्।
मोनिकाको नेपाल भ्रमणको व्यवस्थापन फेस्टिभलले गरेको छ। ‘उनी जुलाई २ मा आएर एक रात नगरकोटमा र दुई रात काठमाडौंमा बिताउने कार्यक्रम छ,' फेस्टिभलका अध्यक्ष रञ्जन ओझाले भने। नेपाल आउनु अघि उनी जन्मभूमि बंगलादेश जानेछिन् र त्यहाँबाट काठमाडौं आउनेछिन्। उनी अमेरिकाबाट मंगलबार हिँडिसकेकी छन्।
असोज पहिलो साता हुने फेस्टिभल र उनको सिंग फर होपमा आपसी समझादारी र सहकार्य गर्नेबारे मोनिकाले काठमाडौंमा छलफल गर्नेछिन्। फेस्टिभलसँग ‘म्युजिक फर पिस' र ‘प्लेइङ फर चेन्ज' साझेदार भइसकेका छन्।
कला, संस्कृति, मौलिकता तथा प्राकृतिक स्रोत र सुन्दरतालाई विश्वसामु परिचय गराउने तथा जनमानसमा शान्ति, एकता र विकासको संदेश दिनु फेस्टिभलको लक्ष्य हो।
नेपाललाई नजिकबाट बुझ्न मोनिका पहिलोपटक नेपाल आउन लागेकी हुन्। उनले नेपालमा छोटो हाइकिङ जाने इच्छा समेट प्रकट गरेकी छन्।
पश्चिमा सभ्यताका शान मानिने मेट्रो पोलिटन, ग्लिमर ग्लास ओपेरा लगायत स्पेलेटो महोत्सव, बुसान अन्तर्राष्ट्रिय संगीत र कला महोत्सवमा आफ्नो प्रस्तुति दिइसकेकी उनलाई अमेरिकाको चम्किलो ओपेरा गायिकाको रूपमा लिइन्छ।
मोनिकाले सिंग फर होप मार्फत् गरेका कामको प्रशंसा गर्दै सन् २००९ मा २१ औं शताब्दीको नेतृत्व फाउन्डेसनबाट सम्मान पाइसकेकी छन्। सिंग फर होपमा विश्वका एक हजार गायक , कलाकार सम्बद्ध छन्। जसले स्वयंसेवी रूपमा उत्पीडित समुदायमा संगीत र कलाका माध्यमले आशाका किरण जगाउने काम गर्दछ।
उनी बंगलादेशको चटगाउँमा जन्मिए पनि चार महिनाको उमेरदेखि अमेरिकाको न्यु जर्सीमा बस्दै आएकी छन्।