Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

ऋण बोकाई पूरा भयो 'मुनामदन'

E-mail Print
(5 votes, average 4.20 out of 5)
दीपेन्द्र लामा, काठमाडौँ- आज असार १५। सबैले रोपाइँ गर्ने दिन। निर्माता नवराज ढकाल भने कटनी सुरु गर्दैछन्। आजकै दिनप्रति समर्पित छ, महाकवि लक्ष्मीप्रसाद देवकोटाको निबन्ध 'असार १५'। निर्माता ढकाल चाहिँ आजदेखि काठमाडौंका दर्शकलाई देवकोटाको खण्डकाव्य 'मुनामदन' देखाउँदैछन्।

गाउँघरमा पटकपटक नाटकको रूपमा हेरेको 'मुनामदन'बाट उनी कति प्रभावित भए भने, छोरीको नाम नै मुना राखिदिए। त्यतिमात्र होइन त्यसलाई फिल्म बनाउन लाखौं रूपैयाँको जोखिम नै मोले।

 
देशविदेशका ५१ फिल्ममा निर्माण नियन्त्रकको काम गरेपछि फिल्मको भूत उनमा चढेको थियो। फिल्ममा पैसा हाल्नु भनेको जहिले पनि जुवा खेलेसरह हो। उनले जुवा खेल्नका लागि 'मुनामदन'लाई रोजे।
किताबमा सबैभन्दा बढी बिक्ने कृति 'मुनामदन' फिल्म बनेपछि पनि राम्रै बिक्ने अनुमान निर्माता ढकालको थियो। तर, ज्ञानेन्द्र देउजाद्वारा निर्देशित 'मुनामदन'ले निर्धक्क चल्नै पाएन। सेन्सर भएको १० वर्षपछि काठमाडौंमा यो पहिलोपटक रिलिज भएको हो।
सेलुल्वाइड प्रविधिमा त्यो बेला ४७ लाख रूपैयाँ खर्च गरी निर्माण गरिएको फिल्मलाई अहिले डिजिटल प्रोजेक्सनबाट रिलिज गर्न लागिएको छ। केही हप्ताअघि मुम्बईमा गरिएको डिजिटल रूपान्तरणका लागि ६-७ लाख खर्च भएको छ।
पैसा प्रशस्त नभएकोले फाइनान्समा घर धितो राखी १४ लाख रूपैयाँ ऋण लिएर उनले 'मुनामदन' सुरु गरेका थिए। उनको ऋण अहिलेसम्म चुक्ता भएको छैन। काठमाडौंमा उठेको पैसाले ऋण सुलिन्छ भन्ने उनको विश्वास छ।
२०५७ साल माघमा फिल्मको सुटिङ सुरु भएको थियो। देवकोटाका छोरा पदमप्रसादसँग अनुमति लिएर सुटिङ थाल्नुअघि निर्देशकसँग मिलेर उनले त्रिभुवन विश्वविद्यालयको नेपाली विभागमा रहेका 'मुनामदन'का थेसिसहरू अध्ययन गरेका थिए।
फिल्मको निर्माणताका ढकाललाई 'मुनामदन'का ६० प्रतिशत जति श्लोक कण्ठ थियो। अहिले पनि ३५ प्रतिशत जति उनी फरर सुनाउन सक्छन्। सबैभन्दा मनपर्ने हरफको रूपमा उनले वाचन गरे,
'गरिबी त्यहाँ क्या धनी थियो
थोरैमा कति धेर
चाहिँदो रहेछ के सुखलाई
प्रकृति भए नेर।'
भोटबाट फर्किने बेला मदनले भोटेको जीवनशैलीसँग प्रभावित भएर यो हरफ बोल्छ। प्रकृतिसँग एकदम नजिक हुँदा मान्छे सन्तोषी हुन्छ भन्ने भाव यसमा आफूले महसुस गरेको ढकाल बताउँछन्।
भोटको दृश्य खिच्न सुटिङ टोली रसुवाको लाङटाङ क्षेत्रमा १४ दिन बसेको थियो। सबैभन्दा कष्टकर सुटिङ रसुवामै भएको सम्झना निर्माता ढकाललाई छ। 'बोतलमा राखेको पानी तुरुन्तै जम्थ्यो। राति पानी पिउन नपाइने डरले सुत्नेबेला बोतललाई काखीमा च्याप्थ्यौं,' उनले सम्झे, 'बिहान दाँत माझेर ढुंगामा एकछिन ब्रस छोड्दा, कडासँग टाँसिन्थ्यो।'
ल्हासाको दृश्य खिच्न तिब्बत जाने योजना निर्माण समूहको थियो। तर, सुटिङ अनुमतिका लागि आवश्यक रोयल्टी रकम तिर्न नसक्ने भएपछि सेट लगाएर खिचियो। बौद्ध क्षेत्रमा बस्ने निर्माता ढकालले त्यहाँका तिब्बतीहरूको सल्लाहमा ल्हासाको इनडोर सेट बनाएका थिए। २०६२ सालमा शान्ति सम्झौता भएर माओवादी द्वन्द्व सकिएपछि 'मुनामदन'लाई काठमाडौं बाहिर विभिन्न सहरमा चलाइएको थियो। पोखरा र दाङमा ५१ दिन मनाएको फिल्म दुई दर्जनजति हलमा ४० दिनको
हाराहारीमा टिक्यो।
फिल्म चल्छ भन्ने आत्मविश्वास बिस्तारै पलाउँदै गए पनि काठमाडौंका हल पाउन भने उनलाई गाह्रो पर्‍यो। फिल्म प्रदर्शनीको चलखेलदेखि उनी दिक्क छन्। बुधबार दिउँसोसम्म उनको फिल्म काठमाडौंमा असार २२ मा लाग्ने सहमति थियो। बेलुकापख मात्र उनलाई फिल्म एक हप्ताअघि नै चलाउन बाध्य पारिएको हो।
काठमाडौंबाहिर फिल्म चलाउन उनी ५० वटा हलमा आफैं पुगे। गाडीमा माइकिङ पनि आफैंले गरे। 'दर्शकसँग अन्तर्त्रि्कया र हलवालासँग चिनजान गर्न आफैं हिँडेको हुँ,' उनले भने, 'फिल्मको मार्केटिङ मैले राम्रै बु‰न पाएँ जस्तो लाग्छ।'
उनी दमौलीको उत्तरशीला हलको एउटा घटना सधैं सम्भि्कन्छन्। 'कुनै गाउँदेखि १०४ वर्षीया हजुरआमा फिल्म हेर्न आएकी रहिछन्, मैले उनी र उनलाई बोकेर ल्याउने दुवैसँग पैसा नलिनू भनेँ,' उनले सुनाए, 'फिल्म हेरेर फर्किएपछि ती हजुरआमाले मेरो टाउकोमा हात राखेर आशीर्वाद दिइन्।' अहिलेको समाजमा पनि 'मुनामदन'को कथा सान्दर्भिक लाग्छ उनलाई। '७० वर्षअघि लेखिए पनि यो कृति सान्दर्भिक छ, अहिले पनि थुप्रै मदन विदेश गएका छन्,' उनले व्याख्या गरे, 'झापाबाट काठमाडौंमा काम गर्न र पढ्न आउने पनि मदन नै हुन्।'
९ वर्षअघि नेपालबाट ओस्कर अवार्डमा पठाइएको 'मुनामदन' चल्ने बेला निर्माता झन्डैझन्डै एक्लिएका छन्। निर्देशक देउजासँग उनको सम्बन्ध औपचारिकतामा सीमित छ। मदन बन्ने दीपक त्रिपाठी हात भाँचेर बसेका छन् भने मुना (उषा पौडेल) मुम्बईको टेलिसिरियल दुनियाँमा संघर्ष गर्दैछिन्।
काठमाडौंमा १० वर्षपछि फिल्म रिलिज गर्न पाउनुलाई निर्माता ढकाल भोटबाट मदन फर्किएको प्रसंगसँग तुलना गर्छन्। 'मदन भोटबाट फर्किएको छ, मुनालाई भेट्न,' उनले प्रतीकात्मक बोले, 'मदनले भोटमा दुःख पाएजस्तै फिल्मले पनि १० वर्ष दुःख झेल्यो, अब मदन र मुनाको भेट हुन्छ कि हुँदैन, पर्खाइमा छु।'
फिल्मबाट लगानी उठ्छ भन्ने उनको अनुमान हो। नउठे पनि उनलाई पछुतो छैन। देवकोटाकै शब्द सापटी लिन्छन्,
हातका मैला सुनका थैला
के गर्नु धनले
साग र सिस्नु खाएको वेश
आनन्दी मनले।

ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

कला

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता