सेन्सरले ‘लिम्बुवान' मेट्यो

E-mail Print
(0 votes, average 0 out of 5)

काठमाडौं, असार १७ (नागरिक)- नेपाली फिल्मलाई बिना तर्क दुःख दिने सेन्सर बोर्डको शिकार फिल्म ‘हाइवे' पनि बनेको छ। सेन्सरले बिहीबार फिल्मको एउटा दृश्यबाट ध्वनि मेटाइदिएको छ। त्यसैले निर्देशक दीपक रौनियार आफ्नो फिल्मलाई सेन्सरले साइलेन्ट फिल्म बनाएको दावी गर्छन्। 
इलामदेखि काठमाडौंसम्म यात्रा गर्दा गर्दा एउटा बसका यात्रुले ठाउँठाउँका चक्काजामबाट झेलेका व्यथाहरु फिल्ममा समावेश छ। इलाममा प्रदर्शनकारीहरुले जुलुस निकाली ‘लिम्बुवान जिन्दावाद' भन्दै सडक अवरोध गरेको एउटा दृश्य फिल्ममा खिचिएको थियो। सेन्सरले यही ‘लिम्बुवान जिन्दावाद' शब्द मेटाइदिएको छ, अंग्रेजी सबटाइटलमा समेत राख्न नपाउनेगरी।
‘हाइवेमा कस्ता मागहरु उठिरहेका छन् भन्ने उक्त दृश्यले प्रष्ट पार्थ्यो, तर सेन्सरले पचाएन,' निर्देशक रौनियारले भने, ‘माग नै मेटाइदिएपछि फिल्म साइलेन्ट बनेको छ।'
रौनियारले आफ्नो फिल्ममा यथार्थ देखाउन खोजिएको र इलामतिर यस्ता नारा सधैं सुनिने तर्क गर्दा सुशील ओझाको नेतृत्व रहेको सेन्सर बोर्डका सदस्यहरुले ‘फिल्ममा किन यथार्थ देखाउनुपर्‍यो, फिल्म त फिल्म हो नि' भन्ने हास्यास्पद जवाफ दिएका थिए।
नेपाली फिल्मको स्तर बढाउन यथार्थपरक काम हुनुपर्छ भन्ने मान्यता स्थापित भइरहेको बेला सेन्सरका सदस्यहरुले यसो बताउनुलाई निकै दुःखद मान्छन् रौनियार। ‘एउटा जनताले आफ्नो माग उठाएको समेत देखी सहन सकेन सेन्सरले,' उनले भने, ‘अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकार दुवैको हनन हो यो।'
आउँदो साउन ५ मा फिल्म रिलिज हुने टुंगो लागिसकेकोले उनले सेन्सरसँग लफडा भने गरेनन्। सञ्चारकर्मी रवीन्द्र मिश्रले फिल्मको दृश्यमा अंग्रेजीमा गाली गरेको दृश्य समेत साइलेन्ट बनाएको छ सेन्सरले। ‘रवीन्द्र मिश्रजस्तो मान्छेले पनि यस्तो बोल्न पाइन्छ भनेर सेन्सरका सदस्यहरुले आश्चर्य प्रकट गरे,' दीपकले सुनाए।
रेस्टुरेन्ट डान्सरको रूपमा अभिनय गरेकी ऋचा शर्माले मुख छाडेको डायलग पनि मेटिएको छ भने उनले बाथरुममा नुहाएको दृश्यमा कालो रङले पोत्न लगाइएको छ।
‘यस्तो साधारण राजनीतिक शब्दमा किचकिच गर्ने सेन्सर बोर्ड छ, भोलि कसैले माओवादी द्वन्द्वमाथि फिल्म बनाउन खोज्यो भने कति दुःख पाउने होला?' निर्देशक रौनियारमा प्रश्न उब्जिएको छ।
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

कला

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता