टम र केटको पारपाचुके

Sunday, 01 July 2012 12:47 नागरिक
Print
(0 votes, average 0 out of 5)

न्युयोर्क, असार १७ (एजेन्सी)- हलिउड दम्पती टम त्रु्कज र केट होम्सबीच पारपाचुके हुने भएको छ। ‘मिसन इम्पोसिल' सिरिजका अभिनेता टम र उनकी अभिनेत्री पत्नी केटी दुवैले पाँच वर्षे वैवाहिक सम्बन्ध टुटिसकेको पुष्टि गरेका छन्।
केटीका वकिल जोनाथन वोल्फका अनुसार आफ्नी ६ वर्षीया छोरी सुरीको भविष्य राम्रो बनाउन भने दुवैले विशेष निर्णय गर्न बाँकी छ। वकिल जोनाथनले भने, ‘केट र उनको परिवारका लागि यो नितान्त निजी मामिला हो, केटको पहिलो प्राथमिकता छोरीको भविष्य रहेको छ।'


आन्तरिक मतान्तरका कारण केटीले न्युयोर्कमा पारपाचुकेका लागि निवेदन दिइसकेको र पारपाचुकेको पत्र टमले पाउने क्रममै रहेको अनुमान छ। यसअघि दुई अभिनेत्री मिमि रोजर्ससँग तीन वर्ष र निकोल किडम्यानसँग ११ वर्ष वैवाहिक जीवन बिताइसकेका टमले सन् २००६ को नोभेम्बरमा ‘ब्याटम्यान बिगेन्स'की अभिनेत्री केटीसँग बिहे गरेका थिए। ४९ वर्षीय टम अहिले आइसल्यान्डमा नयाँ फिल्म ‘ओब्लिभियन'को सुटिङमा छन् भने ३३ वर्षीया केटी न्युयोर्कमा। 

केही समयअघि टमले पत्नीको सिर्जनशीलताको तारिफ गर्दै आफूहरुको सम्बन्ध अति विशेष रहेको बताएका थिए। केटले छोरी सुरीको सामाजिक सुरक्षाका लागि सुहाउँदो रकम माग गरेको अनुमान छ। सम्बन्ध टुटेकोमा दुःख व्यक्त गर्दै टमले आफू अहिलेकी छोरी सुरी र अघिल्ली पत्नी निकोलको तर्फबाट भएका दुई बालबच्चाको चिन्तामा डुबेको बताए।

टमका एक प्रतिनिधिले निकालेको विज्ञप्तिमा अनुरोध गरिएको छ, ‘केटले पारपाचुकेको लागि निवेदन दिइसकेकी छिन्, टम चिन्तित छन्, कृपया उनीहरुलाई निजी जीवन बाँच्न दिनुहोस्।'

केटले आफ्नो करियरलाई थप उचाइ दिन टमबाट छुटिन लागेको स्रोतको दाबी छ। ‘बिहेपछि ओझेलमा परेको करियरलाई फेरि उनी चम्काउन चाहन्छिन्,' नजिकका एक व्यक्तिले भनेका छन्।