एक्सन-कटमै मर्न पाइयोस्

E-mail Print
(5 votes, average 3.40 out of 5)
कुनै बेला नेपाली फिल्मकी नायिका बन्ने ठूलो अभिलाषा थियो, दीपाश्री निरौलाको। डेढ दर्जन फिल्ममा अभिनय गरिसकेपछि ठूलो पर्दा आफ्नो लागि होइन भन्ने भेउ पाइन् उनले। रंगमञ्चबाट टेलिभिजनको सानो पर्दा हुँदै ठूलो पर्दामा पुगेर जम्न नसकेपछि उनी अहिले सानो पर्दामै रमाएकी छिन्। सानो पर्दाले उनलाई सबथोक दिएको छ- नाम, दाम र सान। त्यसैले उनी सानो पर्दाबाहेकको दुनियाँ कल्पनासम्म गर्न चाहन्नन्। शुक्रवार संवाददाता स्वरूप आचार्यले हास्यप्रधान नेपाली टेलिसिरियल 'तीतो सत्य' की नायिका दीपाश्रीसँग गरेको अन्तरंग कुराकानी।

दीपाजी, के गर्दै हुनुहुन्छ हिजोआज? कसरी बित्दै छन् दिनहरू?

'तीतो सत्य' बनाउन चारपाँच दिन लाग्छ। धेरै समय त्यसैमा जान्छ। एफएममा 'धनियाँ की दुनियाँ' भन्ने कार्यक्रम चलाउँछु। कार्यक्रमका निम्तो आइरहेको हुन्छन्। यसरी नै बितिरहेको छ समय। आज पनि आइएमईको वार्षिकोत्सव कार्यक्रम थियो। ब्रान्ड एम्बेसडरको हैसियतले त्यहाँ गएर आएको।


तपाईँले निर्वाह गर्ने क्यारेक्टर र तपार्इँको पर्सनालिटी हेर्दा त निकै रोचक होलाजस्तो लाग्छ तपाइँको जीवन। साँच्चै कस्तो थियो?
म बच्चामा 'टम ब्वाई' थिएँ, हकी र झोकी। केटाहरूको जस्तो चरित्र। हाफ प्यान्ट लगाएर घुम्नुपर्ने, नरिवलको रुख चढ्नुपर्ने, कसैले धेरै किचकिच गर्‍यो भने कुटिहाल्ने। त्यस्तो खालको थिएँ म। मेरो चार दिदीबहिनी। साइली छोरी म। मेरो बाबाआमालाई छोराको आश थियो। त्यसैले म छोराजस्तै बिहेभ गर्थेँ, भाइ नजन्मिउन्जेल। छरछिमेकले पनि मलाई साइँला-साइँला भन्थे।

म मेरा केटी साथीहरूलाई, 'तिमीहरूमा नौटंकी गर्ने गुण भगवान्ले नै दिएको हुन्छ,' भन्ने गर्छु। तपाईँ सहमत हुनुहुन्छ?
(उनी मजाले हाँस्छिन् ) केटी मान्छेमा त्यो चुलबुलाहट, नटखटपन भएन भने त त्यो केटी नै हुन्न नि। केटीको अदा हेरेर नै त केटाहरू फिदा हुने हो। त्यति पनि गर्न सकिएन भने त केटी भएको के सार?

भनेपछि, तपाईँ जन्मैदेखि कलाकार हो?
हो, म जन्मँदै कलाकार हुँ।

तपाईँले अघि भन्नुभएको थियो, बाल्यकालमा निकै हकी र झोकी थिएँ भनेर। अहिले चाहिँ कस्तो हुनुहुन्छ?
अहिले त त्यस्तो छैन। बाहिर साथीहरूले त भन्छन्। तर, त्यस्तो छैन म।

घरको बाघ, वनको स्याल?
त्यस्तो पनि हैन। जोसँग पनि कहाँ निहुँ खोज्दै हिँड्नु त। तर, कसैले निहुँ खोज्छ भने बाँकी राखिँदैन। ठोकिहाल्ने हो। हा...हा...हा...।

तपाईँको स्कुलिङ विराटनगरमै भएको हो?
हो। मैले धेरै पढेको छैन। आइए सकेँ। त्यत्ति हो।

अभिनय क्षेत्रमा कसरी प्रवेश गर्नुभयो? केले अभिप्रेरित गर्‍यो?
सुरुमा प्रवेश गर्दा त राम्रो डान्सर बन्छु भनेर सोचेकी थिएँ। २०४० सालदेखि विराटनगरको रंगमञ्चमा नृत्य गर्थेँ। नृत्यमा प्रायः प्रथम हुन्थेँ। त्यसमा सफल हुन नसकेको भए सायद लाग्दिन थिएँ होला। सक्सेसले यतै डोर्‍यायो।
टेलिभिजनमा भने म २०४८ सालदेखि लागेकी हुँ। 'अग्निपथ' मेरो पहिलो टेलिफिल्म हो। त्यो विराटनगरमै सुटिङ भएको थियो। त्यसमा मैले ब्रेक पाएँ। त्यो टेलिफिल्म गर्दासम्म मलाई लागेको थिएन, म यसै फिल्डमा निरन्तर काम गर्छु भनेर। दुईचारवटा फिल्म खेल्ने होजस्तो लागेको थियो। तर, त्यो टेलिफिल्म खेलिसकेपछि सानो पर्दाको नशा यस्तोसँग मेरो दिमागमा चढ्यो कि म बयानै गर्न सक्दिनँ। अहिले त एक्सन कट भन्दाभन्दै मर्न पाऊँजस्तो लाग्छ।

के भूमिका थियो तपाईँको त्यो सिरियलमा?
मैथिली क्यारेक्टर थियो। कजरी भन्ने पात्रको भूमिकामा थिएँ। त्यसैको लागि मैले मैथिली भाषा पनि सिकेँ।

त्यो टेलिसिरियल गर्दा कति उमेरको हुनुहुन्थ्यो?
१६ वर्ष।

त्यसपछि के गर्नुभयो?
त्यसपछि फिल्मको किरोले यस्तरी टोक्यो कि स्ट्रगल गरेर यसै फिल्डमा सेटल हुनुपर्छ भन्नेमात्र लाग्न थाल्यो। 'अग्निपथ'बाट बेस्ट न्युकमरको अवार्ड पाएपछि त के चाहियो झन्? विराटनगरमै 'संगिनी' भन्ने भिडियो फिल्म गरेँ। त्यसपछि काठमाडौँ आएर रेडियो नेपालमा रेडियो नाटक गर्न थालेँ।
मलाई सानैदेखि के लाग्थ्यो भने आफू मर्दाखेरि घरपरिवारमात्र नभएर अलिक टन्नै मान्छे मलामी हुनुपर्छ। खै, किन त्यस्तो लाग्थ्यो। पछि यसै क्षेत्रमा लाग्यो भने त्यो सब पाइन्छ भनेर पनि लागेकी हुँ।

अनि दीपकको धनियाँ कसरी र कहिले बन्नुभयो?
धनियाँ म २०५० सालमा बनेकी हुँ। ऊ 'च्याट्टचुट्ट' भन्ने रेडियो कार्यक्रम चलाउँथ्यो। त्यसैको लागि धनियाँ भन्ने पात्र उसलाई चाहिएको रहेछ। म गएँ, कुरा गरेँ। ऊ कन्भिन्स्ड भयो। त्यसपछि धनियाँको रूपमा काम सुरु गरेँ। उसले धेरै सहयोग गर्‍यो, सिकायो।

'संगिनी'पछि चाहिँ के के गर्नुभयो?
'संगिनी' पछि मैले सिरियल नै गरेँ। गुरुप्रसाद मैनालीको 'छिमेकी' गरेँ, 'देवी' भन्ने मेगाप्रोजेक्ट थियो, त्यो गरेँ। अरू फुटकर काम धेरै गरेँ। त्यसपछि त्यो फिल्मी किराले झन् टोक्यो। अब ठूलो पर्दामै खेल्नुपर्छ भन्ने भुत चढ्यो। मान्छेले सोचेको कुरा अलिकति मात्र पुग्यो भने पनि आशा बढ्छ भन्छन् नि। त्यस्तै ममा पनि आशा बढ्न थाल्यो। नाच्न मन लाग्यो हिरोहरूसँग।
एकदिन मोहन निरौलासँग भेट भयो। मोहन दाइलाई मैले, 'दाइ मलाई एकदमै फिल्म खेल्न मन लागेको छ,' भनेँ। दाइले 'यादव खरेलले 'नासो' फिल्म बनाउँदै हुनुहुन्छ, तिमीलाई हुने केही रोल छ कि म मिलाइदिन्छु' भन्नुभयो। नासोमा सामान्य रोल गरेँ। त्यहीँ शिव दाइ, सारंगा श्रेष्ठ, करिश्मा मानन्धरहरूसँग भेट भयो। मलाई पनि ठूलै पर्दामा जम्नुपर्छ जस्तो लाग्यो।
भाग्य नै हो। नारायणघाटमा डान्सको कार्यक्रममा गएकी थिएँ। दीपक श्रेष्ठ दाइ त्यहीँ हुनुहुँदो रहेछ। मेरो डान्स हेर्न आउनुभयो। डान्स सकिसकेपछि 'तिमीलाई म मेरो फिल्ममा स्योर खेलाउँछु, डान्स त जसरी पनि गराउँछु' भन्नुभयो। नभन्दै उहाँले गाउँले फिल्ममा मलाई राजेश हमालसँग कास्ट गर्नुभयो। 'गोली सिसाको' भन्ने गीत खुब हिट भयो। मैले लगभग १५/१७ वटा जति ठूलो पर्दाका फिल्ममा खेलेँ। तर, टेलिफिल्ममा जस्तो चर्चा पाइनँ। त्यसैले टेलिफिल्ममै फर्किएँ।

दीपाश्री ठूलो पर्दामा फ्लप भएकै हो त?
फ्लप नै भएको त होइन। तर, त्यसमा म सन्तुष्ट हुन सकिनँ।

फिल्म क्षेत्रमा लाग्ने भनेपछि अहिले पनि परिवारले नाक खुम्च्याउँछन्। त्यो समयमा तपाईँको परिवारले कसरी फिल्म खेल्न मन्जुरी दियो?
मन्जुरी दिएको त थिएन। म जिद्दी गरेरै यो फिल्डमा आएकी हुँ। घर, छरछिमेकले त 'ल अब बिग्री' नै भन्थे।

'तीतो सत्य' कहिलेदेखि सुरु गर्नुभयो?
२०६० साल भदौमा सुरु गरेको हो। अहिले ४५९ भाग पुगेको छ।

'तीतो सत्य' आएपछि तपाईँले फर्केर हेर्नुपरेन होला? त्योभन्दा अगाडिको जीवन त संघर्षमय नै रह्यो होला, हैन?
हो, 'तीतो सत्य' नचलुन्जेल हामी सबैलाई गाह्रो थियो। खान बस्न त त्यति धेरै समस्या त थिएन। तर, सजिलो पनि थिएन। जेनतेन चलेको थियो। रेडियो नाटक, छिटफुट टेलिसिरियल, गाईजात्रा, यसैबाट गुजारा चलेको थियो। 'तीतो सत्य'ले हामीलाई नाम र दाम दियो। हामी अहिले जहाँ छौँ, त्यो 'तीतो सत्य' कै कारण छौँ। सबैथोक दियो यसले।

तपाईँलाई एउटा श्रीमान् चाहिँ दिएन नि 'तीतो सत्य'ले?
'तीतो सत्य'ले नदिएको होइन, मैले आफैँ नचाहेको। किनभने, म करिअरप्रति यति लोभी छु, बिहे गर्‍यो भने त्यो सबै गुम्छजस्तो लागेर बिहे नगरेको हो। भोलि कस्तो घर पर्ला, करिअर अगाडि बढ्ला, नबढ्ला भनेर पनि बिहेप्रति त्यति धेरै चासो नदिएको हो। अझै यो क्षेत्रमा के के न गरुँला भन्ने आशा छ।

अहिलेको युगमा आएर पनि बिहेले तपाईँको इच्छामा अंकुश लगाउन सक्ला त? यो त बहानाबाजी भएन र भनेको?
बिहे र करिअर सँगै लैजान गाह्रो छ। भनेजस्तो हुँदैन बिहेपछि। कम्प्रमाइज गर्नुपर्छ। किन कम्प्रमाइज गर्नेजस्तो लाग्छ मलाई। र, यो बहानाबाजी होइन, तीतो सत्य हो।

कतै यो सब इनसेक्युरिटी दीपकजीले गर्दा त होइन? भोलि बिहेपछि आफ्नो श्रीमती परपुरुषसँग नारिएर हिँडेको देख्न त अवश्य नै सक्दैन कुनै पनि पुरुषले। अनि त्यसपछि क्ल्यास हुन्छ कि भनेर तपाईँलाई डर लागेको हो कि?
होइन। त्यस्तो हुँदै होइन। त्यो हुनै सक्दैन।

किन हुन सक्दैन? मनको कुनै कुनामा त्यो डर अवश्य नै होला नि?
अहिलेसम्म त्यस्तो डर मेरो मनमा छैन। केबल करिअरको इन्सेक्युरिटीमात्र हो। अरू होइन।

त्यसो भए बिहे नै नगर्ने त?
बिहे गर्छु। किन नगर्ने? अवश्य नै गर्छु। तर, अहिले नै त गर्दिनँ। राजेश (हमाल) दाइको त समय आयो, मेरो पनि त आइहाल्छ नि। स्योरै आउँछ।
राजेश दाइले पहिले बिहे नै गर्दिनँ भन्नुहुन्थ्यो। तर, त्यो पात्र जीवनमा आएपछि उहाँको मुड परिवर्तन भयो त। म पनि त्यस्तै पात्रको पर्खाइमा छु, जसलाई भेटेपछि मलाई पनि बिहे गर्न मन लागोस्।

भाग्यमा विश्वास गर्नुहुन्छ?
गर्छु। भाग्यमा लेखेको भन्दा बढी कसैले पनि पाउँदैन।

तपाईँको भाग्यमा पुरुषको नाम छ कि छैन त?
होला नि।

तपाईँको मनको कुनामा पुरुषको एउटा आकृति त होला नि?
म लभमा फेलियर भएँ। धेरै वर्षअगाडि।

धेरै वर्ष भन्नाले?
२०५० सालतिर। म त्यस व्यक्तिलाई अत्यन्तै माया गर्थेँ। उसले पनि माया गर्थ्यो। तर, आफ्नो करिअरको मोहले मैले उसलाई छोड्नुपर्‍यो। उसलाई बिहे गरिहाल्नुपर्ने बाध्यता थियो। म बिहे गर्ने मनस्थितिमै थिइनँ। करिअरको लोभी भएँ। एक मनले त सबै छोडछाड गरेर बिहे गर्ने सुर गरेको पनि हो। तर, त्यस्तै भयो। उसको बिहेको दिन खुब रोएकी थिएँ म।

तपाईँ अविवाहित हुनुहुन्छ। त्यसैले यो प्रश्न तपाईँलाई सोध्न पाइन्छ। तपाईँलाई कस्तो पुरुषले आकर्षण गर्छ?
ठूल्ठूला आँखा भएका, कपाल अलि-अलि पानीले भिजेका। पुटुक्क भुँडी लागेको नहोस्। मभन्दा अग्लो होस्। सुगठित शरीर होस्। मेरो साइडमा त्यो मान्छे उभिँदाखेरि दीपाश्रीले राम्रो जोडी भेटिछ भन्ने खालको म्याचो...

तपाईँका लागि सेक्स भनेको?
सेक्स भनेको बेसिक नेसिसिटी हो।

तपाईँ त्यो बेसिक नेसिसिटी कसरी पूरा गर्नुहुन्छ त?
हामी समाजमा एउटा नाम बनाएर बसेका मानिसले केही नेसिसिटीलाई त्याग्न पनि सक्नुपर्छ। समाजको मूल्यमान्यता कायम राखिएन भने समाजमा हाम्रो हैसियत रहँदैन।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

शुक्रबार