जयस्थिति मल्लले कार्यका आधारमा काठमाडौँवासीहरूको थर निर्धारण गरिदिएका थिए भनिन्छ। तुला धारण गर्ने तुलाधर, राजाको भण्डार कुर्ने राजभण्डारी, माला बनाउने मालाकार, शिल्पसम्बन्धी काम गर्ने शिल्पकार, चित्र बनाउने चित्रकार, रङसम्बन्धी काम गर्ने रञ्जितकार, व्यापार गर्ने श्रेष्ठ आदि। कान्तिपुरका अधिकांश नेवारहरूको थर संस्कृतमा राखिएको पाइन्छ। 'नेवार' भन्ने शब्द नै जातिबोधक होइन, थातीबोधक हो। काठमाडौँ उपत्यकामा जसको बसोबासो वा थातबास थियो, ऊ पदेन नेवार (नेवाः) हुन्थ्यो। नेवारभित्र 'राजोपाध्याय' (राज±उपाध्याय) ब्राह्मण हुन्। कुस्तीलाई संस्कृतमा 'मल्ल' भन्दछन्। मल्लकालमा नेपाल(काठमाडौँ)को राजकीय भाषा संस्कृत थियो। राणाकालमा पनि मान धारण गर्नेलाई मानन्धर बनाइएको थियो। संस्कृतलाई सबैभन्दा बढी माया गर्ने नेवार नै हुन्।
बाहुनहरूको थरमध्ये चाहिँ अपवाद-स्वरूप केही नाम मात्र संस्कृतमा पाइन्छ। पण्डा शब्दसित सम्बन्धित रातोटिँगुली ब्राह्मण 'पण्डित' भए। अर्का थरी पण्डाबाटै 'पाण्डेय' भए। पाण्डेय नै कालान्तरमा तद्भवीकरणबाट 'पाँडे' भए। अचेल पाण्डेय वा पाँडेहरू 'पाण्डे' लेख्छन्। ज्योतिषी 'जैसी' भए। डा. सरस्वती पाध्ये भएझैँ उपाध्याय (उप±अध्याय) 'पाध्ये' भए। अधिकार पाउने 'अधिकारी' भए। संस्कृतमा स्नातकोत्तर उपाधिलाई आचार्य भन्दछन्। त्यही उपाधिका कारण 'आचार्य' भए। आचार्य शब्द तद्भवीकरण भई 'अचार्ज' पनि बनेको छ। भट्टहरूले 'राय' उपाधि पाएर भट्टराय हुँदै 'भट्टराई' भए भनिन्छ। ब्राह्मण-इतर जातिका मानिसले पनि मुखियान्जी पाएर 'मुखिया' थर लेखेकै हुन्। सत्यपालन गर्ने 'सत्याल' भए अरे! पूर्वजप्रति गौरव गरेर थर राख्नेको विशिष्टता बेग्लै छ। यादवहरू आफूलाई यदुवंशी मान्दै छन्। यक्षवंशीहरू याक्खा लेख्दै छन्।
अधिकांश बाहुनबाजेहरूको थर थातबासका आधारमा राखिएको पाइन्छ। यसबाट खलक छुट्ट्याउनसमेत सजिलो परेको थियो। पाउन त "हाम्रा पूर्वजहरू राष्ट्रवादी थिए त्यसैले थातबासलाई महत्व दिएर थर परिवर्तन गरे।" भनेर नाक फुलाउन पनि पाइएला। प्रायः पर्वते बाहुनहरू पश्चिम नेपालबाट पूर्वतिर बसाइँ सरेका भेटिन्छन्। भनिन्छ, जुम्ली राजाको घरबाट पर लगिएका ब्राह्मण 'पराजुली' भए। बाँसकोटको जमिनदारी पाएकाले 'बाँसकोटा' भए। अछामको साँपखोलाका बासिन्दा 'सापकोटा' भए अरे! पन्यार नामको आधिपत्यका कारण पनेरू भए। रिग्मी भन्ने ठाउँका रेग्मी भए। नयाँ पाने नै न्यौपाने हुन्। डोटेल/डोट्याल डोटीका हुन्। ब्राह्मणेतर जातिमा पनि थातथलाकै आधारमा थर राखिएको पाइन्छ। जिरेल जिरीमा बस्छन्। भोटे भोटबाट आएका र मनाङ, मुस्ताङतिर स्थायी बसोबास गर्ने जातिका मानिस हुन्। थकाली थाक खोलाका निवासी हुन्। खरेल खरीका बासिन्दा हुन्। गोतामेहरू गौतम लेख्दा गौरव गर्दै होलान् त? अर्जीमा जन्मिएका बाहुनका वंशजले 'अर्जेल वा अर्ज्याल' हटाएर 'अर्याल' किन लेखे? यो प्रश्न उनैलाई सुटुक्क सोध्नुहोला।
प्रतिक्रियाहरू (0)
